१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सिड्नी
२o८१ जेठ ४ शुक्रबार o८:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फिफा महिला विश्वकप फुटबल फाइनल आज, पहिलोपटक उपाधि जित्ने दाउमा स्पेन र इंग्ल्यान्ड

Read Time : > 3 मिनेट
सिड्नी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२४:oo

उपाधि जितिसकेका अमेरिका, जर्मनी, जापान र नर्वे प्रतियोगिताबाट बाहिरिसक्दा यसपटक फिफा विश्वकपले नयाँ विजेता पाउँदै

अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको फाइनल आज सिड्नीमा हुँदै छ । स्पेन र इंग्ल्यान्ड पहिलोपटक उपाधि जित्ने योजनामा छन् । फाइलनअघि दुवै टोलीले उपाधि घर भित्र्याउने दाबी गरेका छन् । इंग्ल्यान्ड लगातार उपाधि भित्र्याउन चाहन्छ । पछिल्लो वर्ष इंग्ल्यान्डले युइएफए महिला युरो जितेको थियो । प्रशिक्षक सरिना विलिंघम टोलीको आक्रमण बलियो बनाउँदै स्पेनको बलियो रक्षापंक्ति भंग गर्ने रणनीतिमा छिन् ।

इंग्ल्यान्डले सेमिफाइनलमा अस्ट्रेलियालाई ३–१ ले हराएको थियो । समूह चरणका तीनै खेलमा हाइटी, डेनमार्क र चीनलाई हरायो । सरिनाको प्रशिक्षणमा इंग्ल्यान्डले ठूला प्रतियोगितामा हालसम्म हार बेहोर्नुपरेको छैन । नाइजेरियाको खेलाडीलाई मैदानमा कुल्चिएपछि दुई खेल निलम्बनमा रहेकी जेम्स फर्कंदा इंग्ल्यान्ड झनै बलियो देखिनेछ । 

अन्य खेलाडीमा कुनै परिवर्तन छैन । इंग्ल्यान्डकी कप्तान मिली ब्राइटले यो यात्रा निकै उत्साहपूर्ण रहेको बताइन् । ‘फाइनलसम्मको यात्रा निकै उत्साहपूर्ण रह्यो । हामी घरमा उपाधि लैजान क्षमता राख्छौँ,’ ब्राइटले भनिन् । 

यता, स्पेनले बलियो प्रतिद्वन्द्वीको रूपमा फाइनल यात्रा तय गरेको छ । जापानसँग समूह चरणमा पराजित भएयता टोली सतर्क छ । स्पेनले समूह ‘सी’मा कोस्टारिका र जाम्बियालाई हराएको थियो । प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र सेमिफाइनलमा स्विडेनलाई २–१ ले हराएको हो । प्रशिक्षक जर्ज भिल्डाको प्रशिक्षणमा स्पेनले क्रान्ति गरेको छ । पछिल्लो वर्षदेखि १५ खेलाडीले भिल्डालाई हटाउन खोजेका छन् । 

खेलाडी प्रशिक्षकसँग असन्तुष्ट छन् । गोलपछि र खेल जितेपछि खेलाडीले प्रशिक्षकसँग खुसीयाली मनाएका छैनन् । तर, मैदानभित्र प्रशिक्षणको रणनीति लागू भएको छ । त्यस्तै, जित पनि निस्किरहेको छ । स्पेन पहिलोपटक विश्वकप ट्रफी उचाल्दै यो सबै विवाद टुंग्याउन चाहन्छ । स्पेनको टिममा १९ वर्षीया साल्मा पारालुइलोले उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । 

नेदरल्यान्ड्स र स्विडेनविरुद्ध वैकल्पिक खेलाडी बन्दै मैदान प्रवेश गरेकी उनले दुवै खेलमा गोल गरेकी छिन् । उनले पहिलो एघारमा स्थान बनाउने सम्भावना छ । यस्तै, एलेक्सिया पुटेलासले टोलीको पहिलो एघारमा स्थान बनाउन सक्छिन् । 

स्पेनकी ऐटाना बोन्मतीले फाइनलका लागि तयारी भएको र यो सुखद यात्रालाई उपाधि जित्दै स्मरणीय बनाउने बताइन् । ‘हामी विश्वकपको फाइनलमा छौँ । हामीलाई लाखौँ मान्छेले हेरिरहेका छन् । यो फाइनल खेल निकै महत्वपूर्ण छ । हामी जितेर घर फर्कनेछौँ,’ बोन्मतीले भनिन् । ‘हामीले फाइनल जित्न पाएको अवसर गुमाउनुहुँदैन । इंग्ल्यान्डसँगको खेलमा ध्यान दिनुपर्छ,’ बोन्मतीले भनिन् । 

स्विडेन तेस्रो 
आयोजक अस्ट्रेलियालाई २–० ले पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको छ । शनिबार सनक्रप रंगशालामा स्विडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फो र कोसोभरे अस्लानीले समान एक गोल गरेका थिए । एकपटकको उपविजेता स्विडेनले चौथोपटक कांस्य पदकमा चित्त बुझाएको छ । यसअघि स्विडेनले सन् १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो । 

हारपछि अस्ट्रेलियाका प्रशिक्षक टोनी गुस्टाभसनले टोलीलाई पदक जिताउन असफल भएको बताए । ‘हामीले घरेलु दर्शकमाझ पदक जित्ने योजना बनाएका थियौँ । तर, असफल भयौँ,’ टोनीले दुखेसो पोखेका छन् । ‘हामी पदक जित्न आएका थियौँ । यो निकै संघर्षपूर्ण कार्य थियो । तर, मलाई लाग्छ, पदकभन्दा यो स्थानसम्म पुग्नु ठूलो हो,’ टोनीले टोलीको प्रदर्शनमा चित्त बुझाए । 

ब्रिसबन मैदानमा घरेलु टोली स्विडेनविरुद्ध फिक्का देखियो । टोलीले गोलका केही अवसर बनाए पनि फिनिसिङमा चुकेको हो । खेलको ३०औँ मिनेटमा रोल्फोले पेनाल्टीमा गोल गरिन् । अस्ट्रेलियाकी रक्षकले स्विडेनकी स्टिना ब्ल्याकस्टेनिअसलाई बक्सभित्र लडाएपछि भिडियो सहायक रेफ्रीले पेनाल्टी मान्यता दिएको थियो । जहाँ रोल्फोले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी हुन् । दोस्रो गोल दोस्रो हाफमा सम्भव भयो । ६२औँ मिनेटमा अस्लानीले गोल गर्दै स्विडेनलाई कांस्य पदक दिलाएकी हुन् । 

नेपाली खेलाडीको समर्थन कसलाई ? 

फिफा महिला विश्वकप फाइनल आज अस्ट्रेलियाको सिड्नीमा हुँदै छ । पहिलोपटक च्याम्पियन बन्न स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । महिला विश्वकपको नवौँ संस्करण कीर्तिमानले भरिएको छ । खेल प्रतिस्पर्धा, दर्शकको उपस्थितिले यो विश्वकप निकै चर्चित रह्यो । सबैभन्दा सफल पनि मानिएको छ । अन्य देशमा झैँ नेपालमा पनि विश्वकपको फरक माहोल छ । समूहमा बसेर हेर्ने धेरै भेटिएका थिए । 

नेपाली राष्ट्रिय महिला टोली भने विश्वकप छनोटको अन्तिम चरणबाट बाहिरिएको थियो । नेपालसँगै खेलेका फिलिपिन्स र भियतनामले विश्वकपमा डेब्यु गरे । आफ्नो देशले प्रतिनिधित्व नगरे पनि नेपाली महिला खेलाडीले विश्वकप हेरे । विश्वकपबाट आफ्नो कमीकमजोरी थाहा पनि पाएका छन् । ६ असोजमा चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीमा नेपाली टोली रहेको छ । नेपाली खेलाडीले फाइनल खेल समूहमै रहेर हेर्दै छन् । महिला टोलीले कसको समर्थन गर्दै छन् ? 

एन्जिला तुम्बाप्पो सुब्बा, कप्तान तथा गोलकिपर
फाइनलमा इंग्ल्यान्डको समर्थन गर्नेछु । इंग्ल्यान्डले नै जित्छ जस्तो लाग्छ । पछिल्ला विश्वकप खासै नहेरे पनि यसपटक अधिकांश खेल हेरेकी छु । सुरुवातमा राम्रा भनिएका र डिफेन्डिङ च्याम्पियन टोलीहरू बाहिरिएका छन् । फाइनल प्रतिस्पर्धी इंग्ल्यान्ड र स्पेन नै बलिया छन् । तर, इंग्ल्यान्ड अलि बलियो छ । उसका खेलाडी पनि राम्रा छन् । पछिल्लो समय राम्रो खेल खेलिरहेको छ । 

सावित्रा भण्डारी, स्ट्राइकर 
नेपालमा रहँदा पनि विश्वकप खेल नछुटाई हेर्ने गरेकी थिएँ । अहिले इजरायलमा पनि सकेसम्म हेरिरहेकी छु । फाइनल खेल पनि हेर्छु । इंग्ल्यान्डले जितोस् भन्ने कामना गरेकी छु । जित्छ जस्तो पनि लाग्छ । खासमा अस्ट्रेलियाको समर्थन हो । घरेलु टोली सेमिफाइनलबाट बाहिरियो । एसियाको प्रतिनिधित्व गरेकाले विश्वकप जितोस् भन्ने चाहन्थेँ, तर चौथो भयो । 

प्रीति राई, मिडफिल्डर
पहिलोपटक महिला विश्वकप हेरिरहेकी छु । खेलहरू प्रतिस्पर्धात्मक भएका छन् । मलाई मन पर्ने टोली जापान हो । तर, एकपटक विश्वकप जितेको जापान बाहिरियो । मिडफिल्डर युई हासेगावा राम्रो लाग्छ । उसैको कारण जापानको समर्थन भएको हो । जापान बाहिरिइसकेकाले फाइनलमा यही टोलीलाई समर्थन गर्छु भन्ने छैन । स्पेन र इंग्ल्यान्ड दुवैले राम्रो खेल खेलेको हेर्ने मन छ । खेल प्रतिस्पर्धात्मक होस्, जुनै टोलीले जिते पनि राम्रो खेल होस् । 

दीपा शाही, मिडफिल्डर
फाइनलमा यही टोली भनेर समर्थन गरेकी छैन । दुवै टोलीले राम्रो प्रदर्शन गरून् । यसपटक अस्ट्रेलियाको समर्थनमा थिएँ । मलाई कप्तान साम केर मन्न पर्ने खेलाडी हुन् । पहिलोपटक विश्वकप हेरिरहेकी छु । साम केर सुरुवाती दुई खेलमा घाइते भइन् । उनको फिनिसिङ मन पर्छ । यही विश्वकपबाट उनलाई फलो गरेकी थिएँ । गोल पनि राम्रो गरेकी छिन् । केरको बारेमा केही पढेँ पनि । फुटबलअघि निकै संघर्षपूर्ण जीवनी रहेछ ।

गीता राना, रक्षक
फाइनल स्पेनले जितोस् । इंग्ल्यान्ड पनि राम्रो टोली हो । तर, स्पेनले बल पोसेसन राख्दै खेलेको निकै मन पर्छ । स्पेनमा खेलाडी राम्रा छन् । टोलीले आन्तरिक द्वन्द्वका बीच राम्रो प्रदर्शन गरिरहेको छ । पहिलोपटक विश्वकप हेरिरहेकी छु । तर, क्लब फुटबल हेरिरहेकी हुन्छु । यसपटक विश्वकपमा राम्रा भनिएका र डिफेन्डिङ च्याम्पियनहरू बाहिरिए । खेलहरू प्रतिस्पर्धात्मक पनि भए । नयाँ च्याम्पियन स्पेन भएको हेर्न चाहन्छु । 

 

ad
ad