१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:५३:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला विश्वकपका चर्चित १० घटना

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५३:oo

नवौँ फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको समापन नजिकिँदै छ । प्रतियोगिताको शनिबार स्विडेन र अस्ट्रेलियाबीच तेस्रो स्थानको खेल हुँदै छ । पहिलोपटक फाइनल स्थान पक्का गरेका इंग्ल्यान्ड र स्पेन आइतबार उपाधि भिड्न्तमा आमनेसामने हुनेछन् । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकपले नयाँ विजेता पाउनेछ । यसपटकको विश्वकपमा ३२ टोली सहभागी रहे । सन् १९९१ मा सुरु भएको विश्वकपमा अमेरिका सर्वाधिक चारपटकको विजेता हो । जापान र नर्वेले एक–एकपटक उपाधि जिते । 

पुरुष फुटबलमा राज गरेका राष्ट्रहरू यसपटक पहिलो चरणभन्दा माथि उठन सकेनन् । ब्राजिल, अर्जेन्टिना, इटाली र पोर्चुगल समूह चरणबाट घर फर्किए । सनसनीपूर्ण नतिजा निस्किएको विश्वकपमा स्विडेनले लगातार दुई खेलमा साबिक विजेता अमेरिका र पूर्वविजेता जापानमाथि जित निकाल्यो । तर, स्विडेन सेमिफाइनलमै रोकियो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अहिलेसम्मका विश्वकपका महत्वपूर्ण घटनालाई यसरी विश्लेषण गरेको छ । 

१. ब्रान्डी क्रिस्टियनको ब्रा सो (१९९९)
सन् १९९९ को विश्वकप फाइनल चीन र अमेरिकाबीच भएको थियो । महिला टोलीमा चीनलाई प्रमुख उपाधि दाबेदार मानिएको थियो । तर, अमेरिकाले चीनलाई निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा रोक्न सफल भयो । यस संस्करणको विश्व च्याम्पियन टोलीको छिनोफानो टाइब्रेकरबाट भएको थियो । ९० हजार दर्शकअगाडि अमेरिकी खेलाडी क्रिस्टियनले निर्णायक गोल गरिन् । यस गोलसँगै उनी यति खुसी भइन् कि उनले आफ्नो खुसी मैदानमा रोक्न सकिनन् । यति मात्र कहाँ हो र ! च्याम्पियनसिप गोल गरेलगत्तै उनले जर्सी फुकालिन् । जर्सी फुकालेर ‘रेलिब्रेसन’ गर्ने क्रममा उनले आफ्नो भित्री वस्त्र देखाइन् । महिला फुटबल इतिहासमा उनको यस रेलिब्रेसनलाई चर्चित ‘ब्रा सो’ भन्ने गरिन्छ । घरमै आयोजना भएको विश्वकपमा आफ्नै निर्णायक गोलमा पहिलोपटक विश्व च्याम्पियन हुँदा आफूलाई रोक्न नसकेको उनले प्रक्रिया दिएकी थिइन् । ‘त्यसवेला म आफूलाई सम्हालिन सकिनँ, एकैपटक जर्सी फुकालेँ,’ फाइनलपछि उनले भनेकी थिइन्, ‘पछि भिडियोमा रिप्ले हुँदा हजारौँ दर्शकअगाडि मैले भित्री वस्त्र देखाएको क्षण देख्दा लाज लाग्यो ।’

२. सुनामी र भूकम्प बिर्सिएको जापान (२०११)
सन् २०११ मा जापानले इतिहासमै पहिलोपटक विनाशकारी सुनामी र भूकम्पको सामना गरेको थियो । आधिकारिक रूपमा २० हजार व्यक्तिले ज्यान गुमाए । यद्यपि, त्यो सुनामी र भूकम्पमा आधिकारिक रूपमा कतिले ज्यान गुमाए भन्ने यकिन तथ्य अहिलेसम्म बाहिर आएको छैन । अहिलेसम्म पनि जापानिजहरूले यो घटना बिर्सन सकेका छैनन् । यसै वर्ष जापानले महिला विश्वकप उपाधि उचालेको थियो । जापानिज महिला खेलाडीले पीडामा रहेको देशलाई मलम लगाउने प्रयास गरेको जनाए । जापानिज खेलाडीले विश्वकपभरि नै नाडेसिको आर्मब्यान्ड लगाएका थिए । देशले जस्तो समस्या आए पनि फुटबल मैदानमा त्यो भावना नदेखाउने भाव प्रकट गरेका थिए । कमजोर सुरुवात गरेको जापानले विश्वकप उचाल्ने राष्ट्रसम्म आफूलाई प्रस्तुत गर्‍यो । जापानले फाइनलमा अमेरिकालाई हराएको थियो । प्रशिक्षक नारिओ सासाकीले खेलाडीलाई खेलअगाडि सधैँ आध्यात्मिक ध्यान गराएका थिए । ‘हामी खेलाडीका रूपमा विश्वकप खेलौँ, सिंगो जापानलाई खुसी दिलाउने प्रयास गरौँ,’ गोलरक्षक कैहिरोले भनिन् । 

पुरुषको तुलनामा महिलाहरूबीचको खेल खासै प्रतिस्पर्धात्मक नहुने जनाउँदै सन् १९९१ को पहिलो फिफा महिला विश्वकप फुटबलमा विज्ञापनदाता आकर्षित भएनन्

३. एक रातो कार्डमा खेल नै परिवर्तन (२००७)
सन् २००७ को संस्करणमा अमेरिका उत्कृष्ट फर्ममा थियो । अमेरिकाले सेमिफाइनलमा ब्राजिलको सामना गरेको थियो । ब्राजिलसँग प्रतिस्पर्धा गर्नुअघि अमेरिकालाई कसैले पनि रोक्न नसक्ने अनुमान थियो । अमेरिकन प्रशिक्षक ग्रेज रायनले अन्तिम चारमै जोखिम उठाए । बेन्चमा रहेकी गोलरक्षक होप सोलोलाई जिम्मेवारी दिए । ब्राजिलविरुद्ध होपको रेकर्ड निकै राम्रो थियो । ब्राजिलियन खेलाडीमाथि मानसिक रूपमा दबाब राख्न नै प्रशिक्षकले गोलरक्षकमा परिवर्तन गरे । तर, उनको यो निर्णय यति घातक बन्यो कि सेमिफाइनलमा अमेरिकनले नसोचेको नतिजा व्यहोरे । ब्राजिलले एक पक्षीय सेमिफाइनल बनाउँदै ४–० ले खेल जित्यो । खेलको अन्तिम २० मिनेटमा अमेरिका १० खेलाडीमा सीमित भयो । प्रतिस्पर्धामा माटाले रातो कार्ड व्यहोरिन् । यो कार्डसँगै अमेरिका एकाएक कमजोर देखियो । पत्रकार सम्मेलनमा अमेरिकन खेलाडीले प्रशिक्षकको नराम्रोसँग विरोध जनाए । उनीहरूले नियमित खेलाडीलाई बेन्चमा राखी दोस्रो रोजाइका लागि पठाउँदा नतिजामाथि आस गर्न नमिल्ने बताए । 

४. खराब रेफ्री र सनसनी बराबरी गोल (२०११) 
सन् २०११ को विश्वकपमा अमेरिका र ब्राजिलबीच खेल दुई कारणले स्मरणीय मानिएको छ । पहिलो, अमेरिकाले खेल सकिन केही समयअगाडि सनसनी बराबरी गोल गर्‍यो । अर्को, रेफ्रीले प्रतियोगिताभरि खराब निर्णय गरे । क्वार्टरफाइनलमा लगभग अमेरिका हारनजिक पुगिसकेको थियो । ब्राजिलियन खेलाडी सेमिफाइनल पुग्न केही मिनेट बाँकी रहँदा मनोवैज्ञानिक रूपमा खुसी देखिन्थे । खेलमा यस्तो मोड पनि आयो । अब्बे वाम्बाचले अमेरिकालाई बराबरी गोल दिलाइन् । रेफ्रीले अनावश्यक रूपमा अमेरिकन खेलाडी माटालाई रातो कार्ड दिए । माटाले करिअरमा सामना गरेको यो नै पहिलो रातो कार्ड थियो । प्रतिस्पर्धामा रेफ्रीले अमेरिकाको पक्षमा कुनै निर्णय गरेनन् । ब्राजिलका खेलाडीको गल्तीमा रेफ्रीले आँखा चिम्लेका थिए । मैदानमा आफ्नो हकमा केही नआउँदा अमेरिकन खेलाडी हताश देखिन्थे । तर, अब्बेको एक गोलमा ब्राजिल स्तब्ध भयो । यस खेललाई विश्वकपकै खराब रेफ्री भएको मानिन्छ । 

५. विश्वकपको पहिलो ह्याट्रिक (२०१५)
महिला विश्वकपमा अमेरिका र जापान मात्र ब्याक टु ब्याक फाइनल खेलेका राष्ट्र हुन् । सन् २०११ को फाइनलमा अमेरिकामाथि जापान हाबी भएको थियो । चार वर्षपछि अमेरिकाले पछिल्लो फाइनलको बदला पूरा गर्‍यो । अमेरिकाले एकपक्षीय फाइनल बनाउँदै जापानलाई नराम्रोसँग हरायो । यस खेलमा जापानिज खेलाडीले अमेरिकाकी कार्ली लयोर्डसँग घुँडा टेके । विश्वकप इतिहासमा पहिलोपटक कार्लीले फाइनलमा ह्याट्रिक लगाइन् । प्रतियोगितामा कार्ली उत्कृष्ट फर्ममा थिइन् । उनले उपाधि भिडन्तसम्म यसलाई जारी मात्र राखिनन्, त्यस संस्करणकै उत्कृष्ट खेलाडीसमेत बनिन् । क्यानडामा भएको फाइनलमा कार्लीले खेलको तेस्रो मिनेटमै गोल गरेकी थिइन् । उनकै उत्कृष्ट प्रदर्शनमा अमेरिका ५–२ ले विजयी भयो । ‘व्यक्तिगत रूपमा त्यो फाइनल अहिले याद छ,’ उनले भनिन्, ‘जापानको डिफेन्स यति कमजोर थियो, हामीले सहजै मैदानको मध्यभागबाट गोल गर्न सक्थ्यौँ ।’ 

६. राष्ट्रपति ट्रम्पविरुद्ध खेलाडी
सन् २०१९ मा अमेरिका पुनः एकपटक विश्वकप विजेता बन्यो । ऐतिहासिक रूपमा अमेरिकाले सफलता चुमे पनि मैदानबाहिर विवादमुक्त हुन सकेन । अमेरिकी खेलाडी मेगन रापिनोले मैदानमै आफ्नै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नराम्रो प्रतिक्रिया दिइन् । ट्रम्पले अमेरिका विश्वकप विजेता हुँदा मैदानमै खेलाडीलाई बधाई दिन सोसल मिडियामा प्रतिक्रिया दिएका थिए । विश्वकपमा थाइल्यान्डमाथि १३–० को जित निकाल्दा ट्रम्पले फाइनलको दिन आफ्नो योजना सार्वजनिक गरेका थिए । तर, ह्वाइट हाउसबाट खेलाडीलाई केही नगरेको र पुरुषत्ववादी हाबी भएको अमेरिकन खेलाडीले आरोप लगाएका थिए । विश्व च्याम्पियनको ‘जस’ लिन मात्र मैदानमा आउन चाहेका राष्ट्रपतिका रूपमा ट्रम्पको विरोध भयो । अमेरिकाले विश्वकप जित्दा राष्ट्रपति मैदानमा जान सकेनन् । खेलाडीले आफैँ एकल प्रयासमा विश्वकप ट्रफी उचालेको जनाए । 

७. गोल्डेन गोलको अवधारणा (२००७) 
फिफाले गोल्डेन गोलको अवधारणा यसपटक पनि लागू गर्‍यो । ९० मिनेटपछि अतिरिक्त समयमा पहिलो गोल गर्ने टोली नै विजयी हुन्थ्यो । यसैलाई फिफाले गोल्डेन गोल भनेको थियो । यद्यपि, गोल्डेन गोलको निकै विवाद आएपछि फिफाले यसलाई अर्को संस्करणमा लागू गरेन । निर्धारित र थप अतिरिक्त समयपछि टाइब्रेकरबाट नतिजा निकाल्यो । जर्मनीले नकआउट चरणमा स्विडेनलाई यसै गोल्डेन गोलमै हराएको थियो । गोल्डेन गोलमा विजयी हुने जर्मनी पहिलो टोली बन्यो । जर्मनीका लागि कुन्जेरले सो गोल गरेकी थिइन् । 

८. भिएआरको प्रयोग (२०१९)
प्रत्येक विश्वकपमा फिफाले केही न केही प्रयोग गर्दै आइरहेको थियो । सन् २०१९ को संस्करणमा फिफाले भिएआर लागू गर्‍यो । इंग्ल्यान्ड र क्यामरुनबीचको खेलमा भिएआर प्रयोग भएको थियो । फ्रान्समा प्रतियोगिता सुरु हुनुअघि तीन महिनाअगाडि फिफाले प्राविधिक पक्ष परिक्षण गर्‍यो । यद्यपि, त्यो विवादरहित भने हुन सकेन । क्यामरुनको एक गोलमा भिएआरले अस्वीकार गरेको थियो । दक्षिण अफ्रिकी महादेशका खेलाडीले मैदानमा त्यसको विरोध जनाए । 

९. थोरै विज्ञापन 
सन् १९९१ मा फिफाले पहिलोपटक महिला विश्वकप आयोजना गर्‍यो । यसमा फिफाले त्यति मार्केट गर्न सकेन । पुरुषको तुलनामा महिलाहरूको विश्वकप फितलो हुने जनाउँदै विज्ञापन दर्तावालाले लगानी गर्न रुचाएनन् । पहिलोपटकको विश्वकप संस्करणमा विश्वप्रसिद्ध कम्पनीहरूले चासो नदेखाउँदा आयोजकले बल्ल आफ्नो लगानी उठाएको थियो । अमेरिकाले पहिलो संस्करण उचाल्दा सबै खेल लाइभ हुन सकेन । 

१०. पूर्वविजेताविहीन सेमिफाइनल (२०२३)
अहिले अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका छन् । यसपटक विश्वकपमा नयाँ विजेता आउने पक्का छ । स्पेन र इंग्ल्यान्डबीच उपाधि भिडन्त आगामी आइतबार हुनेछ । यसपटकको विश्वकप सेमिफाइनल पूर्वविजेताविहीन भयो । पूर्वविजेताहरू क्वार्टरफाइनलअगाडि बढ्न सकेनन् । सर्वाधिक चारपटकको च्याम्पियन अमेरिका प्रिक्वार्टरफाइनलबाट बाहिरियो । पूर्वविजेता जर्मनी समूह चरणबाटै घर फर्कियो । जापान क्वार्टरफाइनलमै स्विडेनसँग पराजित भयो । जापान बाहिरिएपछि चालू विश्वकपमा नयाँ विजेता आउने निश्चित भएको हो । 

एजेन्सीको सहयोगमा

ad
ad