१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुल आन्तरिक राजस्वमा साढे २२% योगदान १० ठूला करदाताको

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:४२:oo

गत आर्थिक वर्ष ०७९/८० मा १० ठूला करदाताले एक खर्ब आठ अर्बभन्दा बढी कर तिरेका छन् । आन्तरिक राजस्वमा यो समूहले तिर्ने करको हिस्सा २२.५७ प्रतिशत हो । जसमा सूर्य नेपाल, नेपाल दूरसञ्चार कम्पनी, एनसेल, गोर्खा ब्रुअरीलगायत ठूला कम्पनीहरू पर्छन् । सोमबार आन्तरिक राजस्व विभागको एक गोष्ठीमा विभागका उपमहानिर्देशक अर्जुन भट्टराईको प्रस्तुतिमा आर्थिक वर्ष ०७९/८० मा एक करोडभन्दा बढी कर तिर्नेको संख्या दुई हजार नौ सय ९१ जना पुगेको देखिएको हो । उनीहरूले तीन खर्ब ७४ अर्ब रुपैयाँ कर तिरेका छन् । कुल आन्तरिक राजस्वमा यसको हिस्सा ७८.१४ प्रतिशत पुगेको छ । 

लक्ष्यको तुलनामा ७६.५७ प्रतिशत उठ्यो आन्तरिक राजस्व 
आन्तरिक राजस्व विभागका अनुसार गएको वर्ष लक्ष्यको तुलनामा ७६.५७ प्रतिशत मात्रै आन्तरिक राजस्व संकलन भएको छ । ६ खर्ब २६ अर्ब आन्तरिक राजस्व उठाउने लक्ष्य राखिएकोमा चार खर्ब ७९ अर्ब मात्रै राजस्व संकलन भएको विभागले जानकारी दिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७७ प्रतिशतले कम हो । 

गत आर्थिक वर्षमा दुई खर्ब १३ अर्ब आयकर संकलन भएको छ । यो लक्ष्यको ७० दशमलव १८ प्रतिशत हो । सरकारले तीन खर्ब चार अर्ब आयकर उठाउने लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा उच्च ब्याजदर र आर्थिक क्रियाकलाप संकुचनमा गएपछि आयकरसमेत प्रभावित भएको हो । त्यस्तै, लक्ष्यको ८३.८२ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) संकलन भएको छ । एक खर्ब ४० अर्ब भ्याट उठाउने लक्ष्य राखिएकोमा एक खर्ब १७ अर्ब भ्याट संकलन भएको छ । निर्माण क्षेत्र तथा उद्योग–व्यवसायमा आएको मन्दीको असर मूल्य अभिवृद्धि कर संकलनमा परेको हो । 

त्यस्तै, लक्ष्यको ८०.५० प्रतिशत अन्तःशुल्क संकलन भएको छ । एक खर्ब २९ अर्ब अन्तःशुल्क उठाउने लक्ष्य राखिएकोमा एक खर्ब तीन अर्ब मात्रै संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा एक खर्ब दुई अर्ब मात्रै अन्तःशुल्क उठेको थियो । त्यस्तै, स्वास्थ्य जोखिम करमा समेत लक्ष्यको ८२.३७ प्रतिशत मात्रै संकलन भएको छ । आठ अर्ब २० करोड यस्तो कर उठाउने लक्ष्य राखिएकोमा ६ अर्ब ७६ करोड रुपैयाँ मात्रै संकलन भएको हो ।

कुल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४.५२ प्रतिशत
गत आर्थिक वर्षमा संकलित कुल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४.५२ प्रतिशत पुगेको छ । आन्तरिक कारोबारबापत संकलित मूल्य अभिवृद्धि करको हिस्सा २४.५ प्रतिशत पुगेको छ । त्यस्तै, आन्तरिकतर्फको अन्तःशुल्कको हिस्सा २१.६७ प्रतिशत छ । ब्याजकरको हिस्सा ६.८७ प्रतिशत रहेको विभागले जानकारी दिएको छ । 

कुल राजस्व प्रणालीमा आन्तरिक राजस्वको हिस्सा ४७.४९ प्रतिशत पुगेको छ । मूलतः आयातमा आधारित राजस्व प्रणाली रहे पनि गत आर्थिक वर्षमा आयात खस्किएकाले भन्सारतर्फको राजस्व संकलनको हिस्सा ३८.१९ प्रतिशतमा सीमित भएको विभागको तथ्यांकले देखाएको छ ।  

फुल अडिट गर्ने ५,२६६ जना पुगे
गएको वर्ष पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने करदाताको संख्या पाँच हजार दुई सय ६६ पुगेको छ । आयकर ऐन, २०५८ अनुसार करदाताले आफ्नो आय स्वघोषणा गर्दै कर तिर्नुपर्छ ।

करदाताले बुझाएको विवरण मूल्यांकन गर्दै विभागले २ प्रतिशत करदाता छनोट गर्दै पूर्णकर परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ । विभागका अनुसार हालसम्म ५५ लाख ५४ हजार करदाता विभागमा दर्ता छन् । त्यसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदताको संख्या ३६ लाख र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदताको संख्या १८ लाख रहेको छ । तर, विभागले २ प्रतिशत करदाताको पूर्णकर परीक्षण गर्न सकेका छैन । विभागले प्रत्येक आर्थिक वर्षको मंसिर मसान्तसम्म पूर्णकर परीक्षण गर्नुपर्ने करदाता छनोट गर्दै कार्यालयमा अनुसन्धानका लागि पठाउने गर्छ ।

ad
ad