१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा ट्राफिक कारबाही दोब्बर हुँदा पनि घटेन दुर्घटना : कारबाही ७७ प्रतिशतले वृद्धि, तर दुर्घटना उस्तै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१५:oo

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी नियम मिच्नेमाथिको कारबाही तीव्रता पारे पनि दुर्घटनामा भने न्यूनीकरण हुन सकेको छैन । पछिल्लो एक वर्षमा ट्राफिक कारबाही ७७ प्रतिशतले वृद्धि भएको छ, तर दुर्घटनाको अवस्था भने उस्तै छ । 

आर्थिक वर्ष ०७९/८० मा उपत्यकामा आठ लाख ९५ हजार ६१ जना चालक कारबाहीमा परेका छन् । यो अघिल्लो आर्थिक वर्षमा भन्दा ७७.३८ प्रतिशत धेरै हो । आर्थिक वर्ष ०७८/७९ मा पाँच लाख चार हजार पाँच सय ९७ जना कारबाहीमा परेका थिए । 

पछिल्लो दुई वर्षको दुर्घटनाको विवरण भने उस्तै छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा उपत्यकामा १० हजार ६ सय ७५ दुर्घटना भएका छन् । जसमा एक सय ८७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, दुई सय ६१ जना गम्भीर घाइते र आठ हजार तीन सयजना सामान्य घाइते भएका छन् । अघिल्लो वर्ष १० हजार सात सय ३३ दुर्घटना भएकोमा एक सय ९१ जनाले ज्यान गुमाएका थिए । ट्राफिक नियम मिच्नेविरुद्ध कारबाहीलाई तीव्रता दिएअनुसार दुर्घटनामा कमी आउन नसकेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्ट स्विकार्छन् । ‘दुर्घटनामा कमी नआउनुको कारण चालकको लापरबाही नै मुख्य देखिन्छ,’ उनी भन्छन्,‘जरिवाना न्यून हुँदा कारबाहीले चालकहरूलाई सुधार्न गाह्रो भइरहेको छ ।’ 

ट्राफिक प्रहरीको विश्लेषणअनुसार दुर्घटनाको प्रमुख कारण नै नियम उल्लंघन र चालकको लापरबाही रहेको छ । गत वर्ष भएका दुर्घटनामध्ये ६ हजार दुई सय ७७ चालकको लापरबाहीका कारण भएका छन् । त्यस्तै, तीन हजार दुई सय ६ तीव्र गति, ६ सय ४७ मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा भएका छन् । त्यस्तै, ओभरटेक गर्ने क्रममा दुई सय ४४, सडकको खराब अवस्थाका कारण २२ र खराब मौसम तथा चौपायाका कारण ८४ दुर्घटना भएका छन् । 

५३ हजार चालक मापसे कारबाहीमा 
पछिल्लो एक वर्षमा उपत्यकाकमा ५३ हजार आठ सय ९८ चालक मादकपदार्थ सेवन गरी सवारी चलाउँदा कारबाहीमा परेका छन् । त्यस्तै, लागुऔषध सेवन गरेर सवारी चलाउने एक सय ४९ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरी सवारी चलाउनेउपर ट्राफिक प्रहरीले मुद्दा नै चलाउने गरेको छ । 

सबैभन्दा धेरै निषेधित क्षेत्रमा पार्किङ गर्ने कारबाहीमा परेका छन् । एक लाख ३८ हजार आठ सय ८३ जनालाई निषेधित क्षेत्रमा पार्किङ गरेका आधारमा कारबाहीमा परेका छन् । रातो बत्तीमा सवारी नरोक्दा २९ हजार सात सय ९७ जना कारबाहीमा परेका छन् । ओभरलोडमा १६ हजार ६ सय ९१, नम्बर प्लेटमा १३ हजार तीन सय ६३ चालक कारबाहीमा परेका छन् । पछिल्लो समय तीव्र गतिविरुद्ध ट्राफिक प्रहरीले कारबाहीमा तीव्रता दिएको छ । एक वर्षमा ५८ हजार सात सय दुईजना तीव्रगतिमा सवारी चलाउँदा कारबाहीमा परेका छन् । तीव्रगतिकै कारण दुर्घटना बढेपछि यससम्बन्धी कारबाहीमा तीव्रता दिइएको ट्राफिक कार्यालयका एसएसपी भट्ट बताउँछन् । लेनसम्बन्धी नियम उल्लंघन गर्नेको संख्या पनि ठूलो छ । 

एसएसपी राजेन्द्रप्रसाद भट्ट प्रवक्ता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय 
पछिल्ला वर्ष सडकमा नियम उल्लंघन गर्नेहरूलाई तीव्रताका साथ कारबाही गर्दै आएका छौँ । यद्यपि, ट्राफिक नियम मान्ने संस्कार विकास भइसकेको छैन । यसको मुख्य कारण न्यून जरिवाना हो ।

कारबाही परे पनि त्यति जरिवाना तिरिहाल्छु भन्ने सोचाइ चालकमा छ । अर्काेतर्फ सार्वजनिक सवारीसाधनका चालकहरू अनुशासित छैनन् । उनीहरू कारबाहीमा पर्दा पनि समितिले नै जरिवाना तिरिदिने भएका कारण पनि लापरबाहीपूर्वक सवारी चलाउने गरेका छन् । त्यसकारण जरिवाना बढाएर मात्र सडक अनुशासन बढाउन सकिन्छ ।

मध्याह्नमा धेरै दुर्घटना
धेरैजसो दुर्घटना दिउँसो १२ देखि साँझ ६ बजेको बीचमा हुने गरेका छन् । यो अवधिमा चार हजार एक सय ८७ दुर्घटना भएका छन् । त्यस्तै, साँझ ६ देखि राति १२ बजेसम्म दुई हजार ६ सय १०, बिहान ६ देखि अपराह्न १२ बजेसम्म तीन हजार तीन सय ३३ र राति १२ बजेदेखि बिहान ६ बजेको अवधिमा पाँच सय ४५ दुर्घटना भएका छन् । 

६३ करोड राजस्व संकलन 
उपत्यका ट्राफिकले एक वर्षमा ६३ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्नेलाई कारबाहीबापत उक्त राजस्व उठेको हो । यो अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो । अघिल्लो वर्ष ३३ करोड २१ लाख उठेको थियो । देशभरिमा भने पछिल्लो वर्ष एक अर्ब ९५ करोड रुपैयाँ सवारीसाधनमाथि कारबाहीबाट उठेको छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई गत असारसम्म सरकारले प्रोत्साहन भत्तासमेत दिँदै आएको थियो । साउनदेखि भत्ता कटौती भएपछि ट्राफिक प्रहरीमा उत्साह छैन । गृह मन्त्रालयले भने ट्राफिक प्रहरीको भत्तालाई निरन्तरता दिन आग्रह गरेको छ । 

ad
ad