१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

यो वर्ष ८७% मात्रै रोपाइँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१६:oo

तराई–मधेस र कतिपय पहाडी भूभागमा समयमै वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक लाख २५ हजार हेक्टर कम जमिनमा धान रोपाइँ भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार सातवटै प्रदेशमा गरी करिब ७ प्रतिशत विन्दुले धान रोपाइँमा कमी आएको छ ।

अघिल्लो वर्ष ९४ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ८७ प्रतिशत मात्र रोपाइँ भएको हो । सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ । उक्त प्रदेशमा गत वर्षको तुलनामा २५ प्रतिशत कम रोपाइँ भएको हो । मधेसमा अघिल्लो वर्ष ९३ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६८ प्रतिशत रोपाइँ भएको हो । 

गत वर्ष १४ लाख ४७ हजार हेक्टरमा रोपाइँ हुँदा औसत ३ दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको थियो । यस वर्ष धान रोपाइँको क्षेत्रफल घट्दा उत्पादनमा कमी आउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नै निष्कर्ष निकालेको छ । ढिलो गरी मनसुन सक्रिय भएको र लम्पी स्किनका कारण खेत जोत्ने गोरु बिरामी हुँदा रोपाइँमा कमी आएको निष्कर्ष निकालेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सबनम सिवाकोटी अर्यालले अघिल्लो वर्षको तुलनामा उत्पादनमा कमी आउन सक्ने बताइन् । उनले भनिन्, ‘अहिले नै निष्कर्ष निकाल्न सकिँदैन, तर रोपाइँमै कमी आएको हुँदा उत्पादन पनि घट्ने आकलन गर्न सकिन्छ ।’

मन्त्रालयका अनुसार गत वर्ष १४ लाख १७ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । यस वर्ष भने १२ लाख ९१ हजार हेक्टर जमिनमा मात्र रोपाइँ भएको हो । कम क्षेत्रफलमा रोपाइँ भएपछि धान उत्पादनसमेत घट्न सक्ने देखिन्छ । गत वर्ष १४ लाख हेक्टर जमिनमा रोपाइँ हुँदा ५४ लाख ८६ हजार  मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष १२ लाख हेक्टरमा रोपाइँ हुँदा धान उत्पादनमा ठूलो अन्तरले कमी आउनेछ । ‘धान उत्पादनमा चार–पाँच लाख मेट्रिकटन कमी हुने अनुमान गर्न सकिन्छ,’ मन्त्रालयका एक अधिकारीले बताए ।

अघिल्लो वर्ष १५ लाख चार हजार नौ सय ९० हेक्टरमा रोपाइँ हुने लक्ष्य रहेकोमा १४ लाख १७ हजार आठ सय २९ हेक्टर जमिनमा मात्र रोपाइँ भएको थियो । यस वर्ष सरकारले १४ लाख ८८ हजार हेक्टर जमिनमा रोपाइँ हुने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा एक लाख ९७ हजार हेक्टर कम जमिनमा रोपाइँ भएको हो । 

ad
ad