मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २९ सोमबार o९:५२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माण व्यवसायीले सडक र सिँचाइ विभागमा लगाए ताला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार o९:५२:oo

नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि सुरु भएको छ । महासंघले ललितपुर चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलमा रहेको सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर ताला लगाएका हुन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष ई. आङदोर्जी लामा (एडी) नेतृत्वको टोलीले सिँचाइ विभागमा ताला लगाएको हो ।

सिञ्चाइ विभागमा ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप तथा धरपकड गरी वरिष्ठ उपाध्यक्ष ई. आङदोर्जी लामा (एडी)सहित ४६ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकालाई केही घन्टा जावलाखेलमा रहेको ललितपुर प्रहरी परिसरमा राखिएको थियो । सडक विभागको भित्री कक्षमा ताला लगाएका व्यवसायीहरूले मूलगेटअगाडि तीन घन्टा धर्नासहित नाराबाजी गर्दै व्यवसायीहरूको माग पूरा गर्न सरकारसँग माग गरेका थिए । 

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारी उदासीनताका कारण निर्माण उद्योग धराशायी हुन लागेको बताए । उनले भने, ‘सरकारी संयन्त्रबीचकै समन्वय अभावका कारण निर्माण व्यवसायीले ठूलो मार खेप्नुपरेको छ ।’ महासंघले अहिले उठाएका माग व्यवसायीकेन्द्रितभन्दा पनि मुलुकको समग्र निर्माण उद्योगलाई समृद्ध बनाउन लक्षित रहेको उनको जिकिर थियो । पहिलो र दोस्रो चरणको आन्दोलनपछि पनि सरकारले व्यवसायीका जायज माग सम्बोधन नगरेका कारण बाध्य भएर तेस्रो चरणको आन्दोलन सुरु गरिएको अध्यक्ष सिंहको भनाइ थियो ।  

सडक विभागको धर्नापश्चात् अध्यक्ष सिंह नेतृत्वको टोलीले जावलाखेलमा रहेको प्रहरी परिसर अगाडि थुनामा रहेको निर्माण व्यवसायीहरूको तत्काल रिहाइको माग गर्दै नाराबाजी गरेपछि सबै व्यवसायीलाई रिहा गरिएको थियो । आइतबारको विरोध कार्यक्रमलाई महासंघले सोमबार पनि निरन्तरता दिने भएको छ ।

व्यवसायीहरूको अर्बौं रुपैयाँ भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन–नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका १० बुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि आन्दोलनमा छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत व्यवसायीले साउन १४ यता सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्रीनिवास बालुवाटार, संघीय संसद्, माइतीघर मण्डला र सिंहदरबारअगाडि शान्तिपूर्ण धर्ना दिइसकेका छन् । यसैबीच महासंघको जारी आन्दोलनप्रति भारतीय निर्माण व्यवसायीको साझा संस्था बिल्डर्स एसोसिएसन अफ इन्डियाले पूर्ण ऐक्यबद्धता जनाएको छ ।