‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमै गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने गरी ‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार भएको छ । गत २१ असारको प्रमुख प्रशासकीय अधिकृतस्तरको निर्णयअनुसार योजना, अनुगमन तथा मूल्यांकन एकाइका प्रमुखको संयोजकत्वमा कार्यविधि तयार पार्न कार्यदल गठन भएको थियो । कार्यदलका संयोजक एवं एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यसहित सदस्यहरूको टोलीले मंगलबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यविधिको मस्यौदा बुझाएको हो ।
‘गौरवका योजना र स्वर्णिम योजनासँग महानगरको प्रतिष्ठा जोडिएको छ । सहरी विकास र व्यवस्थापनका बहुपक्षीय आयामसँग जोडिएको छ । यी योजना कार्यान्वयन गर्न क्षेत्रगत कार्यविधि तयार पार्नुपर्नेछ । आज एउटा कार्यविधि तयार भएको छ । अन्य कार्यविधि निर्माण गर्न जिम्मेवारी दिइएको छ । सबै कार्यविधि प्राप्त भएपछि यसलाई निर्णय प्रक्रियामा लैजान्छौँ,’ मस्यौदा ग्रहण गरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ।
इकाइका प्रमुख बज्राचार्यले, महानगरपालिकाकोे समग्र विकास तथा सुधार गर्न, रणनीतिक र रूपान्तरणकारी योजना कार्यान्वयनमा कार्यविधिले सहजीकरण गर्ने बताए । इकाइका उपनिर्देशक प्रह्लाद घिमिरेका अनुसार स्वर्णिम र गौरवका योजना कार्यान्वयनको समग्र पक्षलाई सहजीकरण गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले यो कार्यविधि तर्जुमा गरिएको हो ।
कार्यविधिमा सात परिच्छेद र तीन अनुसूची छन् । निर्देशक समिति, कार्यसमिति, यी समितिका काम, कर्तव्य र अधिकार, सहरी योजना आयोग, विभाग, एकाइ र सम्पर्क व्यक्तिको काम, कर्तव्य र अधिकार, बजेट, अनुगमन, मूल्यांकन तथा प्रतिवेदनको व्यवस्था कार्यविधिमा मुख्य विशेषता हो ।
कार्यदलमा प्रशासन विभागका प्रमुख दीपक अधिकारी, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य, खरिद एकाइका प्रमुख डा. शिवराज अधिकारी, उपनिर्देशक (वित्त विभाग) विकास चित्रकार, उपनिर्देशक (योजना, अनुगमन तथा मूल्यांकन एकाइ) प्रह्लाद घिमिरे सदस्य छन् ।
यसैगरी, संघीय र प्रदेश सरकारको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय योजना आयोगका अधिकृत प्रतिनिधि कैलाश न्यौपाने र बागमती प्रदेशअन्तर्गतको सहरी विकास तथा भवन कार्यालयका अधिकृत प्रकाश गजुरेल र बागमती प्रदेशअन्तर्गतकै पूर्वाधार विकास कार्यालय ललितपुरका अधिकृत प्रतीक्षा सिलवाल सदस्य छन् भने योजना, अनुगमन तथा मूल्यांकन एकाइका लेखाअधिकृत मनोज श्रेष्ठ सदस्य–सचिव छन् ।