मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Wednesday, 18 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o श्रावण २३ मंगलबार १o:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोदा र मोहना नदी गाउँ पसेपछि सयौँ घर डुबानमा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार १o:o८:oo

कञ्चनपुरमा अविरल वर्षाले नदीनालाका सतह बढिरहेका छन् । बर्सातका कारण नदी, खोलाको सतह बढेपछि नदी गाउँ पसिरहेको छ । दोदा नदी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँमा पसेको छ भने मोहना नदी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँमा पसेको छ । 

मंगलबार बिहानैदेखि सिमरी र शान्तिपुर गाउँ डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले सिमरी गाउँमा झन्डै ६० धरधुरी र शान्तिपुर टोलमा समेत ६० देखिमाथि घरधुरी डुबानमा रहेको बताए । शान्तिपुरमा प्रहरी नायब निरीक्षक गणेश बोहरा नेतृत्वमा उद्धार टोली खटिएको र सिमरीमा प्रहरी नायब निरीक्षक रामप्रसाद अवस्थीको टोली खटिएको छ । डुबान भए पनि मानवीय तथा भौतिक क्षति नभएको प्रवक्ता डाँगीले बताए । 

अविरल बर्सातका कारण चुरे भएर बग्ने अन्य खोलानालामा पानीको सतह वृद्धि भएर कटानी तथा डुबान गरिरहेको छ । स्थानीय मुकेश धामी (कवीन्द्र)ले चुरे भएर बग्ने धारापानी बछेला खोलाले कृष्णपुर नगरपालिका पुतलीबजार शान्ति टोलमा रहेको तटबन्ध भत्काएपछि दोमिल्लाका सयौँ घर जोखिममा रहेको  बताए । ‘कमसल खालको निर्माण गरिएको तटबन्ध भत्कियो,’ उनले भने, ‘नदी गाउँ पसिरहेको छ ।’ महाकाली र जगबुढा नदीको मिलनविन्दु क्षेत्र कुतियाकबरमा नियमित कटानी भइरहेको छ । स्थानीय टेकबहादुर सुनारले दुवै ठूला नदीले दोधारा–चाँदनी नपा– १० सीमावर्ती गाउँ कुतियाकबरको उर्वराभूमि कटानी गरेर बस्ती जोखिममा पारिरहेको बताए । निर्माण भएको अस्थायी तटबन्धसमेत भत्काएर नदी बस्तीनजिकै पुग्ने जोखिम रहेको बताए । 

चुरे भएर बग्ने चौधर नदीले बेदकोट नपा– ४ पार्की टोलमा रहेको तटबन्ध भत्काएर कटानी गरिरहेको छ । स्थानीय युवा राजुराम सार्कीले चुरेमा बगुन नदीले लिंगासहितका संरचना भत्काइरहेको र दक्षिणमा महाकाली तेस्रो चरणले निर्माण गरिरहेको तटबन्ध भत्काएर गाउँमा कटानी गरिरहेको बताए ।   ‘विनागुरुयोजना एवं कमसल खालका सामग्री प्रयोग गरेर निर्माण गरिएको तटबन्धदेखिका संरचना सामान्य नदीमा पानीको सतह वृद्धि हुँदा भत्काइरहेको छ,’ उनले भने, ‘तटबन्धका नाममा राज्यको लाखौँ खर्च गरे पनि जनता सुरक्षित छैनन् ।’ 

शुक्लाफाँटा नगरका युवा नेता तिलक जप्रेलले धारापानी नदीले शुक्लाफाँटा नगरपालिका– ८ पिल्लरीफाँटा, बेलडाँडी गाउँमा कटान गरिरहेको बताए । ‘गाउँबस्ती जोगाउने स्थानीय सरकार न तटबन्ध गरिदियो, न पहल गरिदियो,’ उनले भने, ‘नदी नियन्त्रणका लागि तटबन्ध नभएपछि नदी गाउँ पसेको छ ।’ उनका अनुसार नदीको सतह बढेर पिल्लरीका कालु चौधरी र भैरव जप्रेलक दुई गोरु बगाएर लगेको बताए । अविरल बर्सातका कारण बेलडाँडी– १ र बेलौरी– ९ भएर बग्ने झर्नाखोलाले समेत उर्वराभूमि कटान गरिरहेको छ ।