१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २२ सोमबार o८:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

भक्तपुर नगर अस्पताल : एक वर्षमै दुई लाखले पाए सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार o८:o७:oo

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वपः अस्तालबाट एक वर्षमै दुई लाखले सेवा पाएका छन् । आर्थिक वर्ष ०७९/८० मा ख्वपः अस्पतालबाट दुई लाख २० हजारभन्दा बढी बिरामीले सेवा पाएका हुन् ।अस्पतालले यस अवधिका विशेषज्ञ सेवालाई विस्तार गर्दै देशभरका ७० जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

अस्पतालका अनुसार दैनिक सात सय ५० भन्दा बढी सेवाग्राही अस्पताल आउने गरेका छन् । अस्पतालका लागि आवश्यक चिकित्सक र कर्मचारीहरू नगरपालिकाकै स्रोतमा उपलब्ध हुँदै आएका छन् । अस्पतालमा हाल २१ जना विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर, ४७ जना स्टाफ नर्ससहित एक सय ७३ जना कर्मचारी कार्यरत छन् । अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लका अनुसार अब सिटी स्क्यान खरिद, विशेषज्ञ सेवा विस्तार, फार्मेसी सेवालाई वडा–वडामा विस्तार, अस्पतालको नयाँ भवनबाट पूर्ण रूपमा सेवा सञ्चालन, आधारभूत केन्द्रबाट दिँदै आएको सेवालाई थप विस्तार गर्दै ल्याब तथा औषधि सेवा थप्ने योजना छ । 

भक्तपुरवासीलाई सहज रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले ०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको थियो । यही केन्द्रलाई नगरपालिकाले १८ वैशाख ०७८ बाट ख्वपः अस्पताल कोभिड युनिटमा रूपान्तरण गरेको थियो । १ साउन ०७८ बाट भने औपचारिक रूपमा ख्वपः अस्पतालमा परिणत भएको हो । ०७३ सालमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट २५ शड्ढयाको स्वीकृति पाएको अस्पताल २३ जेठ ०७९ बाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट एक सय शड्ढया अस्पतालमा स्तरोन्नति भई सञ्चालनमा आएको हो । 

 स्ट्यान्डर्ड बेडको  शुल्क सय रुपैयाँ मात्रै 
अस्पतालमा स्त्रीरोग, बालरोग, छाला, नाक–कान–घाँटी, दन्त, आँखा, हाडजोर्नी, छाती, मुटु, नसा, प्रसूति, मानसिक रोगलगायतका विशेषज्ञ सेवा उपलब्ध छन् । गत ७ माघदेखि जटिल शल्यक्रिया र १७ वैशाखबाट प्रसूति सेवा पनि सुरु भएको छ । नगरपालिकाले स्वास्थ्य सेवासमेत न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ । ‘स्ट्यान्डर्ड बेडको शुल्क एक सय रुपैयाँ मात्रै लिन्छौँ,’ नगरपालिकाका मेयर सुनील प्रजापतिले भने, ‘अधिकांश नगरवासीले बिमा गरेका छन् । त्यही बिमाले कभरेज हुने भएकाले सेवा निःशुल्कजस्तै छ ।’ यस्तै, गरिब र विपन्नले उपचार गर्न नसक्ने अवस्था प्रमाणित गरे सबै सेवा निःशुल्क हुने उनको भनाइ छ । नगरवासीलाई २० मिनेटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुसार काम भइरहेको छ । 

यसैगरी, अस्पतालले अघिल्लो आवमा जस्तै यो वर्षमा पनि नगरवासीलाई निःशुल्क अक्सिजन र रगत वितरण सेवालाई निरन्तरता दिएको छ । गत आवमा सात हजार तीन सय ६९ वटा सानो सिलिन्डर र चार हजार एक सय ३९ वटा ठूलो सिलिन्डर गरी जम्मा ११ हजार पाँच सय आठवटा अक्सिजन सिलिन्डर निःशुल्क प्रदान गरेको तथ्यांक छ ।

नगरपालिकाको आव ०७९/८० को नीति तथा कार्यक्रममा स्थायी बासिन्दालाई निःशुल्क रूपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको थियो । नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच भएको सम्झौताअनुरूप बिरामीलाई रगत उपलब्ध गराएबापतको शोधभर्ना नगरपालिकाले मासिक रूपमा गर्दै आएको छ । सोहीअनुरूप १ असोज ०७९ देखि लागू हुने गरी निःशुल्क रगत उपलब्ध गराउँदै आएको थियो । 

 घरदैलो नर्सिङ सेवा/विद्यालय नर्सिङ सेवा
नगरपालिकाले सुरु गरेको घरदैलो नर्सिङ सेवाबाट विशेषतः गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू लाभान्वित भएका छन् । नगरका १० वटै वडामा घरदैलो नर्सिङ सेवा सञ्चालन हुँदै आएको छ । गत आवमा १० वटै वडा गरी पाँच हजार तीन सय ८० घरधुरीका ५८ हजार पाँच सय ९२ जनालाई घरदैलो नर्सिङ सेवा प्रदान गरेको तथ्यांक छ । घरदैलो नर्सिङ सेवाअन्तर्गत विशेषतः मधुमेह, श्वासप्रश्वास, उच्च रक्तचाप, क्यान्सर, थाइराइड, मुटुरोग, मिर्गौला रोग र अन्य नसर्ने रोगहरूको तथ्यांक संकलन गर्दै आएको छ । 

ad
ad
ad
ad