१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार ११:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर कारोबार घट्दा पुँजीगत लाभकर खस्कियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:३८:oo

७१.३० प्रतिशतले घट्यो सेयरबापतको पुँजीगत लाभकर

सेयर कारोबारमा कमी आउँदा पुँजीगत लाभकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा धक्का पुगेको छ । गत आर्थिक वर्ष ०७९/८० मा सेयर कारोबारबापत सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर ७१.३१ प्रतिशतले घटेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांक छ । अघिल्लो आव ०७८/७९ मा पनि सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर घटेको थियो । त्यसले गत आवमा पनि निरन्तरता पाएको हो । अघिल्लो आव ०७८/७९ मा यस्तो कर २६.७६ प्रतिशतले घटेको थियो । सो वर्ष सरकारले १० अर्ब ३५ करोड पुँजीगत लाभकर प्राप्त गरेको थियो । त्यस्तै, गत आव ०७९/८० मा भने सात अर्ब ३८ करोड घटेको छ । गत वर्ष सरकारले दुई अर्ब ९७ करोड रुपैयाँ मात्रै पुँजीगत लाभ प्राप्त गरेको छ । 

आव ०७७/७८ मा भने सरकराले १४ अर्ब १३ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो, त्यो हालसम्मकै उच्च थियो । सो आवमा नेपाली सेयर बजार उच्च विन्दुमा पुगेको थियो । सेयर कारोबार संख्या र रकम पनि बढी थियो । तर, पछिल्लो समय नेपाली सेयर बजार घट्दो क्रममै रहेकाले धितोपत्र पुँजीगत लाभकरमा पनि भारी गिरावट आएको हो ।  

सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर मुख्यतः दुई कुरामा निर्भर हुन्छ । कम्पनीको सेयर मूल्य र कारोबार संख्यामा यस्तो कर प्राप्त हुन्छ । कम्पनीको सेयर मूल्य बढ्यो भने लगानीकर्ताले नाफा कमाउँछन्, फलस्वरूप सरकारले प्राप्त गर्ने कर पनि बढ्छ । यस्तै, कारोबार संख्या बढी हुँदा पनि कर संकलन बढ्ने सम्भावना हुन्छ । तर, पछिल्लो समय सेयर बजार परिसूचकसँगै कारोबार संख्या पनि घटेको छ । त्यसले गर्दा सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको  सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का प्रवक्ता सुरेश न्यौपानले बताए । ‘पछिल्लो समय सेयर बजार घट्दो क्रममै छ । सेयर कारोबार संख्या पनि धेरै कम छ । त्यसले गर्दा यस्तो कर घटेको हो,’ उनले बताए ।  

समीक्षा वर्षमा सरकारलाई दीर्घकालीन सेयर कारोबारबाट एक अर्ब ३२ करोड ९८ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो । यसैगरी, अल्पकालीन सेयर कारोबारबाट एक अर्ब ६४ करोड सात लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । अघिल्लो आवमा दीर्घकालीन सेयर कारोबारबाट तीन अर्ब ८५ करोड ६५ लाख र अल्पकालीन सेयर कारोबारबाट ६ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ सेयर संकलन भएको थियो ।

३२ सयसम्म पुगेको नेप्से परिसूचक अहिले स्वाट्टै घटेको छ । यसो हुँदा लगानीकर्ताले त्यति नाफा कमाउन सकेका छैनन् । नयाँ लगानीकर्ता पनि सेयर बजारतर्फ आकर्षित हुने माहोल बनेको छैन । यसले पनि धितोपत्र पुँजीगत लाभकरबापत सरकारलाई जाने राजस्व घटेको बताइन्छ । 

कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्छन् भने त्यो दीर्घकालीन सेयर कारोबारमा गणना गरिन्छ । त्यस्तो कारोबारमा हुने नाफामा ५ प्रतिशत कर लाग्छ । यस्तै, लगानीकर्ताले सेयर किनेर एक वर्षभित्र नै बिक्री गर्छन् भने त्यो अल्पकालीन सेयर कारोबारमा पर्छ । त्यस्तो कारोबारमा हुने फाइदामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्छ ।
 

ad
ad