१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २१ शुक्रबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मधेस सरकार छैटौँपटक पुनर्गठन, अझै पाएन पूर्णता

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५o:oo

मधेस सरकार छैटौँपटक पुनर्गठन भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार दुई मन्त्रीलाई नियुक्त गरेसँगै मधेस सरकार छैटौँपटक पुनर्गठन भएको हो । 

६ दलीय गठबन्धनबीच मन्त्रालयको विवाद हुँदा पटक–पटक पुनर्गठन भए पनि लामो समयदेखि मधेस सरकारले पूर्णता पाउन सकेको छैन । मधेसमा कांग्रेस, जसपा, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीको गठबन्धन सरकार छ । सोमबार सप्तरीबाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद समिम गृह सञ्चार तथा कानुन र जनमत पार्टीका समानुपातिक सांसद चन्दन सिंह श्रम तथा यातायातमन्त्री नियुक्त भए । सोमबारै उनीहरूले पद तथा गोपनीयताको शपथ लिए । नवनियुक्त मन्त्रीहरूलाई प्रदेशप्रमुख मिश्रले पद तथा गोपनीयताको शपथ गराए ।

विनाविभागीय राज्यमन्त्री रहेका शेष अबुल कलाम अजादले सोमबारै ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । प्रदेश सरकारमा सुरिता साह अझै विनाविभागीयमन्त्री छिन् । उनी यसअघि सामाजिक विकास राज्यमन्त्री थिइन् । केही दिनअघि मात्रै उनलाई मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिएको थियो । सोमबार नै जनमत पार्टीबाट सरकारमा सामेल विनाविभागीयमन्त्री वसन्त कुसवाह र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका थिए । कुसवाह र यादवलाई सुरुमा भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर, सत्ता समीकरण फेरिएपछि उनीहरूलाई विनाविभागीय बनाइएको थियो । 

यसैबीच, मुख्यमन्त्री यादवले मन्त्रालय टुक्र्याएर भए पनि साहलाई जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ । सुरुमा विनाविभागीयमन्त्री बनाइएकी साहलाई श्रम तथा यातायात मन्त्रालय दिने मुख्यमन्त्रीले तयारी गरेका थिए । तर, जनमत पार्टीले सहमतिअनुसार दुईवटा मन्त्रालय आफूहरूले पाउनुपर्ने अडान राखेपछि श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सिंहलाई तोकिएको हो । स्रोतका अनुसार शिक्षा तथा समाजकल्याण र श्रम तथा यातायात मन्त्रालयलाई फुटाएर थप एक मन्त्रालय बनाउने सरकारको तयारी छ । 

ad
ad