प्रभु क्यापिटल लिमिटेडले बहिरा अपांगता भएका व्यक्तिका लागि सेयर तालिम सञ्चालन गरेको छ । क्यापिटलले राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा सेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
अपांगता संरक्षण नेपालअन्तर्गत रहेका सदस्यहरूमध्ये २० भन्दा बढीको सहभागितामा पुँजी बजारमा सुरुवाती प्रवेश तथा लगानीको महत्वबारे प्रशिक्षण दिएको जनाइएको छ । तालिम सञ्चालन क्यापिटलका मार्केटिङ एसोसिएट विनय अधिकारीले दिएको उल्लेख छ । कार्यक्रम पुँजी बजारमा सुरुवाती प्रवेश के–कसरी गर्ने ? मेरो सेयर के–कसरी चलाउने ? सेयर बजारसम्बन्धी सूचनाका स्रोतहरूलगायतका विषयमा सामूहिक रूपमा अन्तक्र्रिया गरी कार्यक्रम सञ्चालन गरिएको क्यापिटलले जनाएको छ ।
शारीरिक तथा मानसिक कमी–कमजोरी भई अपांगता भएका ‘क’ तथा ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।