१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको असर के हुन्छ ?

चामलको मूल्य विश्वव्यापी रूपमै बढ्नेछ र यसको मार गरिब देशले भोग्नेछन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:५८:oo

सरकारहरूलाई भोका मतदाताले जत्तिको भयभीत अन्य कमै कुराले तुल्याउँछ । भारतमा यही जुलाईको सुरुमा आएको भारी वर्षाले धानखेत सखाप पारेपछि त्यहाँका अधिकारीहरूले चामलको मूल्यमा अस्वाभाविक वृद्धिलाई रोक्न कदम चालेका छन् । २० जुलाईमा भारत सरकारले ‘उचित मूल्यमा पर्याप्त घरेलु उपलब्धता सुनिश्चित गर्न’ सेतो बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । गत वर्ष पनि यस्तै कारण, सबै प्रकारका चामलमा निर्यात महसुल थोपरेको थियो भने सस्तोमा बिक्री हुने (कनिके) चामलको निर्यातमा रोक लगाएको थियो । 

अधिकारीहरूले भारतमा यस मुख्य खाद्यान्नको पर्याप्तता कायम राख्दा घरेलु मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न मद्दत मिल्ने अपेक्षा गरेका छन्, जुन गत वर्षको तुलनामा लगभग १२ प्रतिशतले बढेको छ । तर, उसको निर्णयबाट बाँकी विश्वको अवस्था के होला ? भारत विश्वको सबैभन्दा ठूलो चामल निर्यातक हो । यसले विश्वव्यापी चामल निर्यातको ४० प्रतिशत हिस्सा ओगट्छ ।

भारतले सन् २०२२ मा १४० भन्दा बढी देशमा दुई करोड २० लाख टन धान/चामल निर्यात गरेको थियो । तीमध्ये आधाजसो गैरबासमती चामल थिए । सुगन्धित, लामो दाना भएको बासमतीभन्दा सस्तो पर्ने यी चामल विशेष गरी बंगलादेश, नेपाल र सबसहारा अफ्रिकाजस्ता विपन्न ठाउँहरूमा लोकप्रिय छन् । धान/चामलको आपूर्तिमा कमी आउँदा यी देशमा चामलको मूल्य बढ्ने व्यापारीहरू बताउँछन् ।

फलस्वरूप विश्वव्यापी रूपमा पहिलेदेखि नै बढिरहेको चामलको मूल्य कीर्तिमानी उचाइमा पुग्न सक्छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले मासिक रूपमा प्रकाशित गर्ने धान÷चामलको मूल्य सूचकांक जुनसम्ममा १४ प्रतिशतले वृद्धि भइसकेको छ । यो सूचकांक सन् २००८ को खाद्यमूल्य संकटयताकै उच्च बिन्दुमा छ । यसको मुख्य कारण जलवायुसँग सम्बन्धित आपूर्ति चिन्ता हो, जसले अन्य खाद्य पदार्थको मूल्यलाई पनि वृद्धि गराएको छ । 

धान विशेष गरी एल निनोबाट असुरक्षित छ । एलनिनोले एसियामा तापमानलाई थप तातो बनाउँदै खडेरीको सिर्जना गरेको छ । चीनमा गर्मी र कमजोर वर्षाका कारण धान उत्पादन हुने क्षेत्रमा माटोको आद्र्रता एक दशकयताकै सबैभन्दा कमी आएको अनुसन्धान फर्म ग्रो इन्टेलिजेन्सले जनाएको छ ।

चामल अभाव हुने अनुमानमा ठूला चामल उत्पादकले समेत अहिले धान भण्डारण गरिरहेका छन् । सन् २०२३ को पहिलो चार महिनामा भियतनामी चामलको चीन निर्यातमा ७० प्रतिशत र इन्डोनेसिया निर्यातमा करिब २५ सय प्रतिशतले वृद्धि भएको देखिन्छ । यो प्रतिबन्धबाट सबैभन्दा बढी प्रभावित हुने देशहरू पहिले नै खाद्यान्नको मूल्य वृद्धिबाट पीडित छन् ।

भारत विश्वको सबैभन्दा ठूलो चामल निर्यातक हो । यसले विश्वव्यापी चामल निर्यातको ४० प्रतिशत हिस्सा ओगट्छ । भारतले सन् २०२२ मा १४० भन्दा बढी देशमा दुई करोड २० लाख टन धान/चामल निर्यात गरेको थियो ।

ग्रोका अनुसार अफ्रिकाको सबैभन्दा ठूलो चामल आयातकर्ता बेनिनमा खाद्यान्नको मूल्य सन् २०२० को तुलनामा अहिले ४० प्रतिशतभन्दा बढी वृद्धि भइसकेको छ । भारतले विभिन्न देशको खाद्य सुरक्षालाई टुक्रिएको (कनिके) चामलबाट सम्बोधन गर्ने जनाएको छ । तर, यस्तो सहयोगका लागि लामो कूटनीतिक पहल आवश्यक पर्नेछ ।

भारतको निर्यात प्रतिबन्ध संक्रामक भएर बजारलाई थप बिगार्न सक्छ । सन् २००८ मा भियतनामले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि भारत, उसलाई पछ्याउँदै चीन र कम्बोडियाले पनि चामल निर्यातमा प्रतिबन्ध लगाएका थिए । विश्व बैंकले गरेको एक अध्ययनले चामल निर्यात प्रतिबन्धले उक्त अवधिमा विश्वभर चामलको मूल्यमा ५२ प्रतिशतले वृद्धि भएको जनाउँछ ।

भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणापछि भियतनाम सरकारले व्यापारीहरूलाई पर्याप्त घरेलु आपूर्ति सुनिश्चित गर्न आग्रह मात्र गरेको छ, अन्य कदम उठाइसकेको छैन । यदि अन्य देशले पनि निर्यात प्रतिबन्ध लागू गर्नमा भारतलाई पछ्याए भने यसको प्रभावले सन् २००८ को संकटमा भन्दा बढी मूल्यवृद्धि हुन सक्छ ।

जलवायु परिवर्तनले सरकारहरूलाई प्रतिबन्ध चयन गर्न बारम्बार उत्प्रेरित गर्नेछ । विश्वको जनसंख्या बढ्दै जाँदा चामलको माग बढिरहेको छ । अफ्रिकामा बढ्दो सहरीकरण र आर्थिक वृद्धिले चामलको प्रतिव्यक्ति उपभोग बढाउँदै लगेको छ । तर, जलवायु परिवर्तनका कारण सिर्जित उच्च तापमान र बाढीजस्ता चरम मौसमी घटना निम्त्याइरहँदा उत्पादन धेरै हदसम्म स्थिर छ । लगभग आधा विश्वको भोजनको प्राथमिक स्रोत चामल हो । यसको आपूर्ति जति खतरामा पर्छ, निर्यातमा प्रतिबन्ध लगाउने प्रवृत्ति त्यति नै बलियो हुँदै जानेछ ।

ad
ad