१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:४६:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिग : च्याम्पियन अल स्टारले आठ महिना बितिसक्दा पनि पाएन पुरस्कार

क्यानले पहिलोपटक आयोजना गरेको नेपाल टी–२० लिगका विजेता लुम्बिनी अल स्टारले ५५ लाख रुपैयाँ अहिलेसम्म नपाएको टिम मालिक बरदान चालिसेको गुनासो

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४६:oo

नेपाल टी–२० क्रिकेट प्रतियोगिता च्याम्पियन लुम्बिनी अल स्टारले आठ महिना बित्दा पनि ५५ लाख रुपैयाँ पुरस्कार पाउन सकेको छैन । च्याम्पियन टोलीका मालिक बरदान चालिसेले बारम्बार सम्बन्धित निकायसँग ताकेता गर्दा पनि विजेतास्वरूप पाउनुपर्ने रकम अहिलेसम्म प्राप्त नभएको गुनासो गरेका छन् । ‘हामीले क्यानलाई बारम्बार पत्र पठाएका छौँ, तर लिग सकिएको आठ–आठ महिना पूरा भइसक्दा पनि हामीले पुरस्कार पाएका छैनौँ,’ अमेरिकाबाट नयाँ पत्रिकालाई चालिसेले भने । 

फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै अल स्टार पहिलो संस्करणको विजेता बनेको थियो । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले विजेतालाई ५५ लाख, उपविजेतालाई ३० लाख, तेस्रोलाई १० लाख र चौथो हुनेले टोलीलाई पाँच लाख रुपैयाँ घोषणा गरेको थियो । क्यानले पुरस्कार रकम आजको दिनसम्म पनि प्रदान नगरेको चालिसेले बताए । ‘आइसिसी विश्वकप लिग–२ मा तेस्रो स्थानमा रहँदै नेपाल ग्लोबल छनोट भएको वेला विषय उठान गर्न मन लागेको थियो, तर त्यसवेला क्रिकेटको चार्म बढिरहेको थियो,’ उनले भने, ‘क्यानले पुरस्कार दिन चाहेकोजस्तो देखिँदैन, केवल दुःख मात्रै दियो ।’ 

क्यानले आफूहरूलाई एक वा दुई दिनभित्र पुरस्कार रकम दिने आश्वासन दिएको उनले बताए । ‘क्यानका पदाधिकारीसँग कुरा गर्दा सधैँ एक वा दुई दिनभित्रै रकम दिन्छौँ भन्थे, तर कहिल्यै त्यो दिन आएन,’ उनले भने । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले पुरस्कार रकम दिन ढिला भएको स्विकारेका छन् । ‘हामी ढिलोचाँडो उहाँहरूको पुरस्कार दिन्छौँ, मुख्य प्रायोजक सेभेन थ्री स्पोर्टस्सँग यस विषयमा छलफल भइरहेको छ,’ पाठकले भने । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता गरेका व्यक्ति भागेर जाँदा समस्या आएको बताए । ‘सम्झौताअनुसार पुरस्कार रकम सेभेन थ्री स्पोर्टस्ले दिने हो । उनीहरू भागेपछि विजेताले पुरस्कार पाएका छैनन् । हामी सम्पर्क गरिरहेका छौँ,’ चन्दले बताए । 

विदेशी खेलाडी पारिश्रमिकविहीन
लिगमा नेपालीसहित विदेशी खेलाडीले सहभागिता जनाए । लिगमा लुम्बिनीसहित पोखरा एभेन्जर्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएका छन् । काठमाडौं नाइट्स र फारवेस्ट युनाइटेडले नेपाली खेलाडीहरूको पारिश्रमिक दिन बाँकी छ । यस टोलीका मालिक अहिले कहाँ छन्, कसैलाई पनि थाहा छैन । श्रमस्वीकृति नहुँदा विदेशी खेलाडीले पारिश्रमिक नपाएका हुन् । लिगमा एकपछि अर्को गरी विवाद देखिँदा र अन्तर्राष्ट्रिय खेल तालिका हुँदा एकै क्लबबाट ६–७ विदेशी खेलाडीले खेलेका थिए । पोखराबाट खेलेका जाहिर खानलगायतले अझै पारिश्रमिक नपाएको भनी क्यानलाई मेल नै गरेका छन् । 

मुख्य प्रायोजकले क्यानलाई पूरै रकम दिएन
नेपाल टी–२० लिग सुरुदेखि नै विवादास्पद बनेको थियो । क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग समग्रमा ४२ करोड रुपैयाँबराबरको दशवर्षे सम्झौता गर्ने भनिएको थियो । ०७९ वैशाख १२ मा क्यानले भारतीय कम्पनीसँग आठ वर्षको सम्झौता ग¥यो । भारतीय कम्पनीले आठ वर्षका लागि क्यानलाई ३३ करोड रुपैयाँ दिने भनियो । तत्कालीन कार्यवाहक सचिव तथा नेपाल टी–२० लिगको सञ्चालक समिति संयोजक प्रशान्तविक्रम मल्लले पहिलो सिजन सम्झौताअनुरूप तीन करोड रुपैयाँ पाउने जनाएका थिए । यो रकम तीन किस्तामा प्राप्त हुने थियो ।

१५ प्रतिशत सम्झौताको ६० दिनभित्र र अर्काे १५ प्रतिशत रकम ९० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । बाँकी ६० प्रतिशत प्रतियोगिताको अन्त्यसँगै दिने सम्झौता थियो । लिगमा चर्को विवाद भएपछि भारतीय कम्पनीका मालिक लिगको बीचमै भागे । सञ्चालक समितिका संयोजक मल्ल राजीनामा दिएर गुमनाम छन् । यसैबीच, राष्ट्रिय खेलकुद परिषद्ले क्यान र भारतीय कम्पनीबीचको सम्झौता रद्द गर्नुपर्ने निष्कर्ष निकाल्यो । ‘हामीले केही रकम अझै पाउन बाँकी छ,’ कार्यवाहक सचिव पाठकले भने । अध्यक्ष चन्दले दुईपटक गरी भारतीय कम्पनीबाट एक करोड २० लाख र ९४ लाख प्राप्त भएको जानकारी दिएका थिए ।  

कानुनी प्रक्रियामा क्यान जान सकेन
सेभेन थ्री स्पोर्टस्का मालिक जतिन भारत भागेपछि क्यानका अध्यक्ष चन्दले कानुनी प्रक्रियाबाट बाँकी करिब एक करोड लिने बताएका थिए । ‘हामी भारतीय आयोजकसँग पहिला सम्पर्क गर्छाैं । सम्झौताअनुसारको पैसा माग्छौँ,’ भारतीय कम्पनी भारत भागेपछि चन्दले भनेका थिए, ‘त्यसपछि पैसा आएन भने कानुनी प्रक्रियामा जान्छौँ ।’ लिग सकिएको आठ महिना पुग्दासम्म चन्दले यसप्रति कुनै चासो देखाएका छैनन् । एक पदाधिकारीअनुसार क्यानभित्र चुनावको माहोल चलिरहँदा नेपाल टी–२० लिगको सम्बन्धमा कोही पनि बोल्न र दबाब मोल्न चाहेका छैनन् । ‘प्रतियोगिता आयोजना गर्न धेरै तल्लो स्तरको काम भए, जतिनलाई दबाब दिँदा यहाँका सबै नराम्रा पक्ष बाहिर आउने डर छ,’ ती क्यानका सदस्यले भने, ‘त्यसैले अहिले कोही पनि जतिनलाई दबाब दिन चाहँदैनन् । 

 राखेपदेखि आइसिसीसम्मको अनुसन्धान
नेपाल टी–२० लिगमा म्याच फिक्सिङ, स्पट फिक्सिङ, बेटिङ, खेलाडीले दैनिक सेवा सुविधा नपाएको, कृत्रिम मालिक खडा गरेको र श्रमस्वीकृतिविना विदेशी खेलाडी खेलाएको विवाद देखिएको थियो । साथै, आयोजनाको टेन्डर नै प्रक्रियाअनुसार नगरी सीधै भारतीय कम्पनीलाई दिँदा विवादित बन्यो । यसबीचमा मुख्य आयोजक नै भागेपछि क्यान स्वयंले पहिलोपटक आयोजना गरेको लिग विवादमा पर्‍यो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लिगमा भएको विवादको छानबिन गरेका थिए । आइसिसीका दुई प्रतिनिधि नेपालमै आएर छानबिन गरे । विवाद सर्वाेच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो । तीन पक्षबाट अनुसन्धान प्रक्रिया अगाडि बढाएपछि सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहलुवालिया रातारात भारत भागेका थिए । क्यानले लिग रोक्दा नराम्रो सन्देश जाने भन्दै आफ्नै खर्चमा बाँकी खेल आयोजना गरेको थियो । 

क्यानले सधैँ आज वा भोलि दिने भन्छ
बरदान चालिसे, मालिक, लुम्बनी अल स्टार

च्याम्पियन भएपछि पाउनुपर्ने रकम प्राप्तिका लागि हामीले क्यानलाई बारम्बार पत्र पठायौँ, आठ महिना पूरा भइसक्दा पनि पुरस्कार पाएका छैनौँ, सधैँ आज वा भोलि रकम पाउने मात्र आश्वासन हामीले पायौँ, त्यो आज वा भोलि कहिले आउँछ ? 

ढिलो वा चाँडो रकम दिन्छौँ
दुर्गाराज पाठक, कार्यवाहक सचिव, क्यान

नेपाल टी–२० का विजेतासँग अन्यले पनि रकम पाउनेछन्, ढिलो–चाँडो उहाँहरूको पुरस्कार दिन्छौँ, मुख्य प्रायोजक सेभेन थ्री स्पोर्टस्सँग निरन्तर छलफलमै छौँ, वास्तवमा सम्झौता गरेका व्यक्ति नै भागेपछि यो समस्या आएको हो ।

ad
ad