१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २० बिहीबार ११:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी, पाँचजनालाई रोजगारी

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३५:oo

भोटेकोसी गाउँपालिका वडा नं. १ निवासी ३९ वर्षीय विनोद प्रधान बिहान सबेरै उठेदेखि बेलुका अबेरसम्म बाख्राको खोरवरपर काम गरेर समय बिताउँछन्। चार वर्ष पहिले उनी युएईमा थिए। त्यहाँ उनले १६ वर्ष बिताए। 

विदेश बस्दा मासिक दुई लाख ५० हजारसम्म आम्दानी गर्ने प्रधान गाउँघरको मायाले रोजगारी चटक्कै छोडेर घर फर्किए। उनी बसेको ठाउँ तल भोटेकोसीमाथि ठूला चट्टाने भिरको बीचमा रहेको पाङलाङ गाउँ हो। ‘जति सुखसयल र पैसा कमाए पनि आमाबुबा बसिरहेको आफ्नो जन्मथलोको माया सबैभन्दा ठूलो हुने रहेछ,’ उनले भने। 

घर फर्कनासाथ उनले बाख्रापालन सुरु गरे। सुरुमा थोरै बाख्रा खरिद गरेका थिए। ५० लाख लगानी गरेर खोर र बाख्रा जोरजाम गरेको पछिल्लो वर्ष पिपिआर रोग लागेर ७० बाख्रा मरे। बाख्रा मरेपछि प्रधान रोए पनि। तर, हिम्मत हारेनन्। गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले त्यतिवेला बाख्रालाई भ्याक्सिन लगाउन र केही बाख्रा खरिद गर्न आर्थिक प्रबन्ध मिलाइदिए। बाख्रा मरेर ठूलो क्षति भए पनि कामलाई उनले निरन्तरता दिइरहे। आज उनको खोर आधुनिक बनेको छ।

चार सय बाख्रा खोरमा छन्। ‘विदेशमा कमाएको पैसा बाख्राले डुबायो भन्ने लागेर मन हतास भएको थियो,’ उनले भने, तर, ‘कामलाई निरन्तरता दिँदा सफल हुने समय पनि आउने रहेछ।’ उनका खोरमा जमुनापारि, बोयर, सिमाल र खरी जातका बाख्रा छन्। बोयर जातको ब्याडको बोका र मासुका लागि खसी उत्पादन गरेर उनले तीन वर्षयता वार्षिक १५ लाख आम्दानी गरिरहेका छन् । साथै, गाउँका पाँचजनालाई रोजगारी प्रदान गरेका छन्।

बाख्रापालनका लागि ७० रोपनी जमिनमा विभिन्न किसिमका घाँस लगाएका छन्। बाख्रामा ८० लाख, आधुनिक खोर बनाउन ७० लाख र घाँस उत्पादनमा १५ लाख खर्च गरेका उनले मेसिनले धुलो बनाएर बाख्रालाई सन्तुलित घाँस खुवाउँछन्। उनको जमिनमा मोलाटो, मेन्दोला, इन्दु, राई खनियो, निमारो, कुटमेरो, बडर, सुपर नेपियर, अस्ट्रेलियन रेड नेपियर, अमेरिकन मक्का क्रस, बाज्रा क्रस, स्टाइलो, नर्मल मक्का र भटमासजस्ता १५ किसिमका बहुवर्षीय घाँस लगाइएको छ।

त्यसैगरी, मलायो, राई, जै र भेदजस्ता सिजनल घाँस पनि लगाइएको छ। खोरका बाख्रालाई मनग्य पुगेपछि अरूलाई पनि उनले घाँस बेच्ने गरेका छन्। उनको बाख्रापालन हेर्न दैनिक मानिस आउजाउ गर्छन्। कतिपयले अनुदान दिने कुरा पनि गर्छन्। ‘३५ प्रतिशत बाख्रापालनलाई दिएर बाँकी रकम आफैँ खाने प्रस्ताव लिएर मकहाँ कृषि क्षेत्रका ठूला मानिस आउँछन्,’ उनले मुलुकको हबिगत दर्शाउँदै भने, ‘यस्तो ठग प्रवृत्तिले किसान कसरी उँभो लाग्न सक्छन्?’ गरे के हुँदैन। पाङलाङजस्तो भिरमा विनोदले गरेको बाख्रापालनबाट सबैले सिक्नुपर्छ। सिन्धुपाल्चोकमा पशुपालनका लागि थुप्रै खाली जमिन (चरण) छन्। तर, न यहाँका स्थानीयले काम गर्न इच्छा देखाउँछन न त सरकारी अभियान छ। कृषि क्षेत्रमा आएको रकम सरकारी कार्यालयमा कागज बनाएर खर्च गर्ने परिपाटीको अन्त्य कहिले होला?
 

ad
ad