Skip This
एउटै वडाले तरकारी बेचेर कमायो ६० लाख
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १२ शुक्रबार
  • Friday, 26 July, 2024
२o८o श्रावण १२ शुक्रबार १७:३o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

एउटै वडाले तरकारी बेचेर कमायो ६० लाख

व्यावसायिक ४० किसानमध्ये वडाध्यक्ष पहिलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १२ शुक्रबार १७:३o:oo

‘गरे के हुँदैन र’ भन्ने गतिलो उदाहरण दिन सफल भएको दैलेखको नारायण नगरपालिका– २ जाहारकोटका किसानले एक वर्षमा तरकारी बिक्रीबाट ६० लाख रुपैयाँ वडामा भित्र्याएका छन्। 

सयजना किसानमध्ये यहाँका ४० किसानले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेका छन्। मौसमी र बेमौसमी विभिन्न तरकारी उत्पादन गरेका किसानको तरकारी दैलेख सदरमुकामका विभिन्न बजार हुँदै सुर्खेतसम्म बिक्री हुने गरेकाे छ। 

विगत लामो समयदेखि निर्वाहमुखी तरकारीमा लागेका यहाँका किसान स्थानीय पालिका सरकार र प्रदेश सरकारले सहयोग गरेपछि व्यावसायिक बन्न सफल भएका हुन्। 

डोकोमा तरकारी बोकेर दैलेख सदरमुकाम दैलेख बजार ल्याएर तरकारी बिक्री गर्दा बिहानभरि लाग्थ्यो, अहिले वडामै रहेको कृतिदेवल सहकारी संस्थाले तरकारी खरिद गरिदिने र बिक्री गरिदिने काम सुरु भएपछि तरकारी उत्पादनमा किसानको आकर्षण बढेको हो। 

किसानले उत्पादन गरेको तरकारी स्थानीय कृतिदेवल सहकारी संस्थामा जम्मा गरिन्छ, तौल गरिन्छ र मूल्य तोकेर सहकारीले विभिन्न बजारमा बिक्री–वितरण गरिदिएपछि किसानको समय बचत भएको र उत्पादन गरेको तरकारी बिक्री हुँदैन कि भन्ने चिन्ता हराएको कृतिदेवल कृषि सहकारी संस्थाका अध्यक्ष दीपक थापाले जानकारी दिएका छन्। 

तरकारीको बजारीकरणका लागि नारायण नगरपालिका दैलेखले सहकारीलाई गाडी खरिदमा अनुदान दिएको छ। दैलेखका अन्य पालिकामा समेत तरकारी बिक्रीका लागि गाडीमार्फत बिक्री–वितरण सुरु गरिएको नारायण नगरपालिका कृषि शाखा प्रमुख खेमराज शर्माले जानकारी दिएका छन्। किसानको समस्या बारीमै पुगेर समाधान गर्ने कामसमेत कृषि शाखाबाट भएको शर्माको भनाइ छ। 

कृषि विकास कार्यालय दैलेखले विगत दुई वर्षदेखि ब्लक विकास कार्यक्रमअन्तर्गत ३७ लाख सहयोग गरेको छ, अहिले वडामै संकलन केन्द्र निर्माण गरिएको छ । गएको वर्ष चक्लाबन्दी कार्यक्रमअन्तर्गत नाै लाखको टनेल निर्माणलगायतका सहयोग गरेपछि किसान तरकारी उत्पादनमा हौसिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिएका छन्। 

व्यावसायिक ४० किसानमध्ये वडाध्यक्ष पहिलो

यहाँको वडा नम्बर २ जाहारकोटका निर्वाचित वडाध्यक्ष रेसम थापा लामो समयदेखि तरकारी खेतीमा लागेका व्यक्ति हुन्, शिक्षक पेसाबाट राजनीतिमा आएका थापाले जनताको सेवाको काम सकेपछि साँझ–बिहानको समय तरकारी उत्पादनका लागि खर्च गर्ने गर्दछन्। 

जाहारकोटका व्यावसायिक ४० जना किसानमध्ये गएको असारसम्मको तरकारी बिक्रीको तत्थ्यांक हेर्दा उनले वार्षिक आठ लाख ५० हजारको तरकारी सहकारीलाई बिक्री गरेका छन्। सबैभन्दा धेरै तरकारी बिक्रीको लिस्टमा वडाध्यक्ष रहेको कृतिदेवल कृषि सहकारीले जानकारी दिएको छ। 

वडाध्यक्ष रेसम थापाले व्यावसायिक तरकारी खेती गरेर चारजनालाई रोजगारी दिएको बताएका छन्। अरूलाई उदाहरण दिनका लागि पनि आफूले तरकारी उत्पादन अभियानलाई निरन्तरता दिइरहेको र पद सकिएपछि पनि कृषि पेसालाई निरन्तरता दिने थापाले बताए। 

जहारकोटकै व्यावसायिक कृषक सर्वराज भण्डारी आठ लाखको तरकारी बिक्री गर्न सफल भएका छन्। वडाध्यक्ष नै व्यावसायिक तरकारी खेतीमा लागेपछि वडाका अन्य युवासमेत उनको सिको गरेर तरकारी उत्पादनमा लागेका छन्। 

मध्यपहाडी राजमार्ग आँगनबाटै गएका कारण पनि किसानको उत्पादनले सहजै बजार पाएको छ। वडाका अधिकांश युवा तरकारी खेतीमा लागेर मनग्य आम्दानी लिन सफल भएका छन्।