१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

माथिल्लो तामाकोसीको हकप्रद : डिम्याटको दायरा बढाउँदै स्थानीयलाई विनाझन्झट लगानीको व्यवस्था गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१५:oo

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले जारी गर्न लागेको हकप्रद सेयरमा दोलखावासीले विनाझन्झट लगानी गर्न पाउने भएका छन्।

आयोजना प्रभावित क्षेत्रका रूपमा कुल सेयर पुँजीको १० प्रतिशत लगानी गरेका जिल्लावासीलाई डिम्याटको दायरा बढाउँदै विनाझन्झट आयोजनाको हकप्रद सेयरमा लगानी गर्न सक्ने व्यवस्था हुने भएको हो। मंगलबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको दोलखाका मुख्य सरोकारवाला र आयोजनाका पदाधिकारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

हकप्रद सेयर जारी गर्ने अवधि सुरु हुन लाग्दा पनि कतिपय जिल्लावासीले डिम्याट खाता नै नखोलेको तथा कतिपयले डिम्याट खाता खोले पनि आयोजनाको सेयर उक्त खातामा जम्मा गराइनसकेकाले जिल्लाका नाैवटै स्थानीय तहका ७४ वटै वडामा वित्तीय क्षेत्रका जनशक्तिसहितको टोली परिचालन गरी डिम्याट खोल्ने, सेयर रकम डिम्याटमा जम्मा गराउने र हकप्रद सेयर संकलन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

वडामा खटाइने जनशक्तिको व्यवस्थापन सेयर संकलनको जिम्मा पाएको वित्तीय संस्था सनराइज क्यापिटलले गर्नेछ । आवश्यक तयारीपछि स्थानीय तहहरूको समन्वयमा गाउँगाउँमा टोली पठाइने तयारी भएको छ । दोलखावासीले लगानी गरेको १० प्रतिशत सेयर माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणस्थल, पहुँचमार्ग तथा प्रसारणलाइन निर्माण भएको क्षेत्र तथा क, ख र ग गरी अन्य तीन भागमा विभाजन गरी सेयर संकलन गरिएको थियो। जसअनुसार क वर्गले अधिकतम एक सय कित्ता, ख वर्गले अधिकतम ४८ कित्ता र ग वर्गका जिल्लावासीले अधिकतम ३४ कित्ता सेयर लगानी गरेका थिए ।

आयोजनाका अनुसार त्यसवेला जिल्लावासीको तर्फबाट मात्रै दुई लाख ७६ हजार दोलखालीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गरेका थिए । १ः१ को अनुपातमा उनीहरूले उत्तिकै हकप्रद दाबी गर्न पाउनेछन्।

हकप्रद सेयर जारी गर्नेसम्बन्धी आयोजित सर्वपक्षीय बैठकमा प्रतिनिधिसभा सदस्य गंगा कार्की, प्रदेश सभा सदस्यहरू कुन्दनराज काफ्ले, भरत केसी, ठूला थामी,  स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका प्रमुख, आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतम, सेयर निष्कासनको जिम्मा पाएको सनराइज क्यापिटलका प्रमुख विजयलाल श्रेष्ठलगायत सरोकारवालाहरू सहभागी थिए।

कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको हो। कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, दोलखा जिल्लावासीको १० प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको समान दुई–दुई प्रतिशत सेयर रहेको छ । यस्तै, सर्वसाधारणको १५ प्रतिशत तथा २४ प्रतिशत सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ।

ad
ad