१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एएफसी कप प्रतियोगिताको प्रारम्भिक छनोटको तयारीबारे जानकारी गराउँदै मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष सुनील कपाली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्रलाई तयारी गर्न मैदान अभाव

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२३:oo

मच्छिन्द्र फुटबल क्लबले एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक छनोटका लागि मैदान अभाव भएको जनाएको छ । एएफसी लाइसेन्स प्राप्त गरेको क्लबसँग आफ्नै मैदान अनिवार्य हुनुपर्छ । नेपालीको घरेलु लिगमा एएफसी लाइसेन्स पाएको मच्छिन्द्रसँग आफ्नै मैदान छैन । मैदान अभावका कारण नै मच्छिन्द्रले एएफसी कपको तयारी राम्रोसँग गर्न नपाएको क्लबका अध्यक्ष सुनील कपालीले नयाँ पत्रिकालाई बताएका छन् । 

मैदानको अभाव हुँदा पनि क्लबले तयारी सुरु गरिसकेको छ । ‘हामीले तयारी सुरु गरिसक्यौँ, तर मैदान अभाव हुँदा सोचेजस्तो भएको छैन,’ कपालीले भने । मच्छिन्द्रले आगामी ८ अगस्टमा भुटानको लिग च्याम्पियन पारोसँग दशरथ रंगशालामा एएफसी कपको प्रारम्भिक छनोटमा प्रतिस्पर्धा गर्दै छ । खेलमा विजयी भए मच्छिन्द्रले दोस्रो चरणमा भारतको आइएसएल टोली मोहन बगानसँग खेल्नेछ । यो खेल मोहन बगानको मैदानमा हुनेछ । 

प्रारम्भिक छनोटको तयारीबारे मच्छिन्द्रले जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मैदान अभावका कारण प्रशिक्षणमा समस्या आइरहेको कपालीले बताएका छन् । मच्छिन्द्रले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र चर्च ब्वाइज युनाइटेडको मैदानमा अभ्यास गरिरहेको छ । एन्फा कम्प्लेक्समा अहिले यू–१६ ‘ए’ डिभिजन लिग चलिरहेको छ । चर्च ब्वाइजको मैदान वर्षाका कारण खेल्ने अवस्था छैन । 

मच्छिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले २३ खेलाडीलाई प्रशिक्षणमा राखे पनि तयारी गतिलो नभएको जनाए । ‘दशरथ रंगशालामा खेल्दा प्रतियोगिता खेल्नुअगाडि नै मैदान बिग्रने सम्भावना हुन्छ,’ प्रशिक्षक केसीले भने, ‘एन्फा कम्प्लेक्स लिगमा व्यस्त हुँदा भनेको जस्तो हुन सकेको छैन । घरेलु फुटबलकै अनुभवी प्रशिक्षक केसीले एएफसी कपको छनोट चरणमा मच्छिन्द्रको जिम्मेवारी लिनेछन् । क्लबसँगको सम्झौता समाप्त भए पनि मच्छिन्द्रको व्यवस्थापन पक्षले उनलाई नै एएफसी कपसम्म जिम्मेवारी दिएको हो । 

अन्य क्लबसँग मैदान नहुँदा समस्या
‘ए’ डिभिजन लिगमा आबद्ध त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबसँग आफ्नै मैदान छ । अर्को विभागीय क्लब नेपाल एपिएफ क्लबसँग पनि मैदान छ । यसै सिजन ‘ए’ डिभिजन लिगमा एपिएफ रेलिगेसनमा परेको थियो । जसका कारण अहिले एपिएफ ‘बी’ डिभिजनमा झरेको छ । विभागीयबाहेक अन्य ‘ए’ डिभिजन क्लबसँग आफ्नै मैदान नहुँदा समस्या परेको मच्छिन्द्रका अध्यक्ष कपालीको भनाइ छ । ‘हामीसँग आफ्नै मैदान छैन, अरू मैदानमा हामीले भनेको समयमा प्रशिक्षण गर्न पाएका छैनौँ, सधैँ अभ्यास गर्न दुःख पोख्नुपर्छ,’ उनले भने ।

गत सिजनमा चर्च ब्वाइजले पहिलोपटकको प्रयासमै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । एएफसीका अनुसार ‘ए’ डिभिजन लिग विजेताले एएफसी कपको प्रारम्भिक छनोट खेल खेल्न पाउँछ । तर, लिग च्याम्पियन भए पनि एएफसी ‘ए’ लाइसेन्स नहुँदा चर्च ब्वाइज छनोट भएन । लाइसेन्सप्राप्त मच्छिन्द्रले उपविजेताका रूपमा छनोट खेल्न अवसर पाएको हो ।

मच्छिन्द्रसँगै आर्मी र एपिएफसँग पनि एएफसी ‘ए’ लाइसेन्स छन् । मच्छिन्द्रभन्दा अंक तालिकामा तल रहँदा आर्मीले अवसर गुमाएको हो । गत वर्ष पनि मच्छिन्द्रले नै एएफसी कप खेलेको थियो । मच्छिन्द्र पहिलो चरणबाटै बाहिरियो । यसअघि आर्मी श्रीलंकन पुलिसलाई दशरथ रंगशालामा हराउँदै एएफसी कपको दोस्रो चरणसम्म पुगेको थियो । मनाङले सीधै समूह चरण खेल्ने अवसर पाएको थियो । 

आठ खेलाडी नयाँ 
मच्छिन्द्रले ‘ए’ डिभिजन लिग खेलेका १४ खेलाडीलाई एएफसी कपमा निरन्तरता दिएको छ । क्लबमा आबद्ध दश खेलाडी बाहिर छन् । मच्छिन्द्रले अन्य क्लबबाट लिग खेलेका आठ खेलाडी थप गरेको छ । आठमध्ये पाँच खेलाडीले राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । आशिष चौधरी, आयुष घलान, एरिक विष्ट, लाकेन लिम्बू, मेसुके ओलोमोउ, सनिस श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बालाई क्लबले थप गरेको अध्यक्ष कपालीले बताए । आशिष, आयुष, एरिक, लाकेन र सनिस राष्ट्रिय टोलीका सदस्य हुन् । 

आशिष र एरिक चर्च ब्वाइज, आयुष संकटा, लाकेन थ्री स्टार र सनिसले एपिएफबाट शीर्ष डिभिजनमा प्रतिनिधित्व गरेका थिए । विदेशी खेलाडी मेसुके र सुब्बा दाजुभाइले रेलिगेसनमा परेको खुमलटारबाट खेलेका थिए । रेजिन मच्छिन्द्रका पूर्वखेलाडी हुन् । कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठसहित अभिषेक गुरुङ, आफिज ओलावाले ओलादिपो, आन्द्रेस निया, विजय भुजेल, विमल घर्तीमगर, देभेन्द्र तामाङ, दिवाकर चौधरी, नुरैन करिम, सौरभ लिम्बू, छिरिङ गुरुङ, उत्सव राई, प्रदीप भण्डारी र सुरज विक टोलीमा छन् । कप्तान विशाल, विमल, देभेन्द्र र छिरिङले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । 

लिग खेलेका पुजन उपरकोटी, प्रशान्त अवस्थी, रन्जित धिमाल, सुजल श्रेष्ठ, निसेन सुब्बा, आशिष श्रेष्ठ, सागर थापा र नवीन सिलवाल तथा जापानी खेलाडी युता सुजुकी र भुटानका कप्तान चेन्चो ग्लेत्सेन स्थान बनाउन असफल भए । रञ्जित र सुजल अस्ट्रेलियामा छन् । 

ad
ad