आगामी १५ अक्टोबरमा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तानबीचको खेल हुनेछ । विश्व क्रिकेटमा यी दुई राष्ट्रबीचको खेललाई बहुप्रतीक्षाका रूपमा लिने गरिन्छ । संसारको जुनसुकै सहरमा भारत–पाकिस्तानबीचको खेल हेर्न चर्को मूल्य तिर्न तयार समर्थक हुन्छन् ।
खेलअगाडि नै सट्टेबाजीको चलखेल सुरु हुन्छ । भारतमै हुन लागेको विश्वकपमा दुई छिमेकीबीचको रोमाञ्चक प्रतिस्पर्धा हेर्न कम्तीमा एक रात होटेलमा बस्दा अहमदाबाद सहरमा ५० देखि ७० हजार भारु तिर्नुपर्ने अवस्था छ ।
भारतीय समाचार संस्थाले अहिले नै अहमदाबादका सबैजसो होटेलमा १५ अक्टोबरअगाडि नै एक रात बिताउन ७० हजार भारुको मूल्य राखेको जनाएको छ । अहिले नै होटेल रुम बुक गर्दा एक समर्थकले चर्को मूल्य चुकाउनुपर्ने अवस्था छ । जतिजति खेल नजिक आउँछ, होटेल रुमको मूल्य कम्तीमा एक लाख भारु पुग्ने समाचार संस्थाको भनाइ छ । धेरैजसोले अहिले नै होटेल बुक गरी पछि चर्को मूल्यमा अन्यलाई दिने गरेको भेटिन्छ ।
होटेल सबै बुक
भारतीय समाचार संस्थाका अनुसार अहमदाबादका धेरैजसो होटेलमालिकले कोठा खाली नभएको सूचना जारी गरेका छन् । दुईदेखि चारतारे होटेलसम्म बुक भएको रिपोर्ट छ । ‘भारत–पाकिस्तानबीचको खेल आउन महिनौँअगाडिदेखि नै होटेल बुक भएको सूचना जारी भइसकेको छ,’ एजेन्सीले भन्यो, ‘यो भनेको उनीहरूको बदमासी हो, प्रतियोगिता हेर्न आउने अन्य प्रदेश वा विदेशी समर्थकसँग पछि थुप्रै रकम असुल्ने रणनीति हो ।’ अहिले नै होटेल बुक गर्दा अधिकतम ७० हजार भारु मूल्य छ, पछि उनीहरूले चर्को मूल्यमा अरूलाई दिने मालिकहरूको योजना छ ।
भारतीय समाचार संस्थाले भन्यो, ‘एक किसिमले यो गैरकानुनी काम हो ।’ होटेलमालिकहरूले खेलकै बहानामा २० प्रतिशत रकम बढाएका छन् । कतिपय समर्थकले भारत–पाकिस्तानबीचको खेल हेर्न सोही दिनकै आसपासमा अस्पतालका डिलक्स कोठा बुक गरेका छन् । अहमदाबादको एक अस्पतालका डाक्टर पारस शाहले भनेका छन्, ‘१६ अक्टोबरमै चेकअप डेट निकाली अस्पतालको डिलक्स रुम बुक गरेका छन्, उनीहरू चेकअपको बहानामा खेल हेर्न जानेछन् ।’