१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २१:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान एद्वारा उपाधि रक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:४७:oo

डिफेन्डिङ च्याम्पियन पाकिस्तान एले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि रक्षा गरेको छ। सन् २०१९ मा भएको प्रतियोगिता जित्दै पहिलोपटक इमर्जिङ टिम्स एसिया कपको उपाधि उचालेको पाकिस्तान एले २०२३ को फाइनल जित्दै उपाधि रक्षा गरेको हो। 

लगातार दोस्रोपटक उपाधि उचाल्ने क्रममा पाकिस्तान एले चिरपरिचित प्रतिस्पर्धी भारतलाई एक सय २८ रनको विशाल अन्तरले पराजित गर्‍यो।

यो इमर्जिङ एसिया कपको पाँचौँ संकरण हो। यसअघि भारतले एक तथा श्रीलंकाले दुईपटक यो प्रतियोगिता जितेका छन्। सन् २०१३ मा सुरु भएको यो प्रतियोगितामा भारत विजयी भएको थियो। त्यसपछि २०१७ र २०१८ मा आयोजित प्रतियोगिता जित्दै श्रीलंकाले लगातार उपाधि उचालेको थियो। 

लगादार दोस्रोपटक उपाधि जित्ने दोस्रो राष्ट्र बन्ने क्रममा पाकिस्तान एले भारत एलाई एक सय २८ रनले पराजित गर्‍यो। कोलम्बोमा भएको फाइनल खेलका हिरो पाकिस्तान एका तैयब ताहिर साबित भए। 

पाँच विकेट गुमाइसकेको अवस्थाबाट टिमलाई उकासेका ताहिरले एक सय ८ रनको विस्फोटक ब्याटिङ गरे। उनले ६६ बलमै शतक प्रहार गरेका थिए। समग्रमा ७१ बल खेल्दै उनले चार छक्का र १२ चौका प्रहार गरे। 

यस्तै, सहिबजादा फरहान र सैम अयुबले पनि उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ६५ र ५९ रन बनाए। पाकिस्तानी युवा ब्याटरसामु भारत एका कुनै पनि बलरले उत्कृष्ट बलिङ गर्न सकेनन्।

तीन सय ५३ रनको विशाल रन पछ्याउन मैदानमा आएको भारत एले पनि सुखद् सुरुवात गरेको थियो। तर, लगातार अन्तरालमा विकेट गुमाएपछि भारत एले महत्वपूर्ण खेलमा पाकिस्तान एलाई हराउन सकेन। यही प्रतियोगिताको समूह चरणको खेलमा भने भारत एले पाकिस्तान एलाई सहजै पराजित गरेको थियो। 

भारत एको तर्फबाट अभिशेख शर्माले मात्र ६९ रनको इनिङ खेले। अन्य ब्याटरले बलियो साथ दिन सकेनन्। भारत एलाई उपाधि भिडन्तबाट पन्छाउने क्रममा पाकिस्तान एका सुफियान मुकिमले तीन, अर्सद इकवाल, मेहरान मुम्ताज र मोहम्मद बसिमले दुई–दुई तथा मुवासिर खानले एक विकेट लिए। 

इमर्जिङ टिम्स एसिया कप २०२३ मा नेपालले पनि सहभागिता जनाएको थियो। तर, नेपाल समूहचरणबाटै बाहिरिएको थियो। नेपालसँगै पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, युएई र ओमान पनि सहभागी थिए। नेपालले आफ्नो राष्ट्रिय टिम पठाएको थियो भने अन्य सबै राष्ट्रले टिम ए सहभागी गराएका थिए। 

ad
ad