मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ७ आइतबार o८:२१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार o८:२१:oo

उपत्यकाको फोहोर व्यवस्थापनस्थल सिसडोल–बन्चरेडाँडावासीले नौ दिनदेखि गरेको फोहोर ढुवानीमाथिको अवरोध पूर्ण रूपमा हटाएका छन् । स्थानीयको अवरोध हटेसँगै उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठ्न थालेको छ । 

फोहोर ढुवानी रोकिँदा उपत्यकाका सडकबाट फोहोरसमेत उठेको थिएन । जसका कारण यहाँका सडक दुर्गन्धित बन्न थालिसकेका थिए । स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन भएपछि फोहोर ढुवानीमा हुँदै आएको अवरोध हटेको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसपटक स्थानीयले फोहोर क्यापिङ (माटोले छोप्नुपर्ने)लाई प्रमुख माग मान्दै आएका छन् ।

उनीहरूको मागअनुसार महानगरले बिसर्जन गरेको फोहोर ‘क्यापिङ’ गर्न थालेपछि अवरोध हटाएका छन् । विभिन्न चरणमा फोहोर ढुवानीमा अवरोध गर्दै आइरहेका स्थानीयको यसपटक नगन्हाउने गरी व्यवस्थापन गर्नुपर्ने माग थियो । ‘अहिले स्थानीयवासीले फोहोरमा लगाएको अवरोध हटाएका छन्, हामीले गर्न सक्ने माग पूरा गरिरहेका छौँ,’ महानगरका वातावरण विभाग प्रमुख श्रेष्ठले भने, ‘स्थानीयले भनेअनुसार नै माग पूरा गर्दै आइरहेका छौँ ।’ उनका अनुसार शनिबार करिब एक सय २० वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगेका छन् । 

काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिकालाई फोहोरसँग सम्बन्धित काम गर्नका लागि आर्थिक वर्ष ०८०/८१ का लागि चार करोड बजेट विनियोजन गरेको छ । महानगरले स्थानीयवासीको स्वास्थ्य उपचार र शिक्षामा पनि सहजीकरण गरेको छ । 

घरको फोहोर मंगलबारदेखि संकलन
महानगरपालिका वातावरण विभाग प्रमुख श्रेष्ठका अनुसार स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको र रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्नेछ । उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार एक सय ५२ गाडी र शनिबार एक सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए । उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मंलबारदेखि घर–घरको फोहोर संकलन हुन थाल्नेछ । 

एक वर्षअघि काठमाडौं महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको स्थानीयले १ साउनदेखि फोहोर ढुवानी र व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । नुवाकोट–ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बन्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए । महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो । अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङले बताए ।