सप्तरीको सप्तकोसी नगरपालिका– १ फत्तेपुरको दलित परिवारका चारजना महिलामाथि गैरदलित पुरुषहरूले निर्घात कुटपिट गरेका छन् । गत २८ असारमा खेतमा काम गरिरहेका वेला बलार्दहमा चौधरी समुदायका पुरुषहरूले उनीहरूमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेमा मंगल रामकी पत्नी ३९ वर्षीया मननदेवी राम, ३६ वर्षीया सुनितादेवी राम, ३२ वर्षीया सरोदेवी राम र २८ वर्षीया आरती राम छन् । बलार्दहका देवानन्द चौधरी, लक्ष्मीदेवी चौधरी, रमेश चौधरी, सिर्जना चौधरी, बबिता चौधरी र बबिताका देवरलगायतले उनीहरूलाई बाँस र भाटाले कुटपिट गरेका थिए ।
कुटपिटका कारण गम्भीर घाइते भएका उनीहरूको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आरतीको अवस्था गम्भीर छ । अहिले पनि वेलावेलामा बेहोस भएर लड्ने गरेको मंगल रामले बताए । उनका अनुसार चौधरीहरूले दुई–तीन वर्षदेखि जग्गाको विषयमा विवाद गर्दै आएका थिए । पछिल्लोपटक पुरुषहरू कोही नभएका वेला धान रोपिरहेका महिलाहरूलाई घेरा हालेर कुटपिट गरिएको उनको भनाइ छ ।
‘म पुग्दा कान्छी बुहारीलाई पुर्न कोही खाल्डो खन्दै थिए, कोही कपालमा समातेर घिस्याउँदै थिए । म छुट्याउन जाँदा मलाई पनि कुटे,’ मंगल रामले भने, ‘उपचार गराएर फर्केपछि प्रहरीले पीडकलाई कारबाही गर्न बेवास्ता गर्दै आएको छ ।’ ‘राजनीतिक दबाब छ’ भन्दै प्रहरी पन्छिने गरेको उनको गुनासो छ । समाजका कतिपय व्यक्तिहरू पीडकसँगै मिल्न दबाब दिइरहेको पनि उनले बताए । ‘उपचारमा मात्रै करिब चार लाख रुपैयाँ खर्च भयो । अहिले सबै मिलेर एक लाख लिएर मिल्नुपर्छ भन्छन्,’ उनले भने । पटक–पटक छलफल भनेर इलाका प्रहरी कार्यालयमा बोलाउने र दबाब दिने काम भइरहेको उनले बताए । ‘प्रहरीले पनि हामीलाई नै हप्काउँछन् । उजुरी पनि दर्ता भएको छैन,’ उनले भने, ‘इलाका प्रहरी कार्यालयमा जाँदा उल्टै धम्क्याउने र डर देखाउने काम गर्छन् ।’ इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दीपक रायले पीडितले उजुरी नै नदिएको दाबी गरे ।
तर, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार राईले पीडितले निवेदन दिएको बताए । ‘पीडितको निवेदन परेको छ, त्यसैले छलफल गर्न भनेका छौँ,’ उनले भने । दोषीलाई कानुनअनुसार कारबाही गरिने उनले बताए ।