१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Monday, 01 July, 2024
मुना कुँवर काठमाडाैं
२o८o श्रावण ५ शुक्रबार o७:o६:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुँजी नपुर्‍याउने बिमा कम्पनीलाई जरिवानादेखि व्यवसाय रोक्कासम्मको कारबाही गरिँदै

म्याद सकिएको असार मसान्तसम्म २८ मध्ये पाँच कम्पनीले मात्रै पुँजी जुटाए, २१ प्रक्रियामा, दुईले सकेनन्

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार o७:o६:oo

नेपाल बिमा प्राधिकरणले तोकको समयसीमाभित्र पुँजी कायम नगर्ने बिमा कम्पनीलाई कारबाही गर्ने भएको छ । पुँजी जुटाउन प्राधिकरणले तोकेको समय असार मसान्त सकिँदा पनि दुईवटा कम्पनीले पुँजी जुटाउन सकेका छैनन् । पुँजी जुटाउन नसक्ने कम्पनीलाई ऐनबमोजिम कारबाही गर्ने, तर समय भने थप नगर्ने प्राधिकरणको भनाइ छ । 

म्याद सकिएको असार मसान्तसम्म सञ्चालनमा रहेका २८ मध्ये पाँच कम्पनीले मात्रै पुँजी जुटाएका छन् । अन्य २१ कम्पनी पुँजी जुटाउने प्रक्रियामा गइसकेका छन् भने प्रक्रिया अघि बढाइसकेकालाई कुनै कारबाही हुनेछैन । तर, पुँजी जुटाउने ठोस प्रक्रिया सुरु नगरेका दुई कम्पनीलाई भने कारबाही गर्ने तयारी थालिएको हो । 

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स र प्रभु जनरल इन्स्योरेन्सले पुँजी कायम गर्न सकेका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले जग्गा बिक्री गरी पुँजी जुटाउने भन्ने योजना प्राधिकरणमा पेस गरेको थियो । जग्गा बिक्रीका लागि सूचनासमेत जारी गरेको छ । यद्यपि, प्राधिकरणले तोकेको अवधिमा पनि पुँजी कायम गर्न नसकेको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले बताए । त्यस्तै, प्रभु जनरल इन्स्योरेन्सले पनि विदेशी पार्टनर भित्र्याएर पुँजी जुटाउने योजना पेस गरेको थियो । तर, हालसम्म पनि पार्टनर भित्र्याउने प्रक्रिया अगाडि नबढाएको उनले बताए । 

प्राधिकरणले गत आर्थिक वर्ष ०७९/८० को तथ्यांकअनुसार प्रभु जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड छ । प्राधिकरणले तोकेको पुँजी कायम गर्न कम्पनीहरूले एक अर्ब १२ करोड रुपैयाँ थप गर्नुपर्नेछ । प्राधिकरणले ०७८ को चैतमा निर्देशन जारी गर्दै बिमा कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्न एक वर्षको समय दिएको थियो ।

जसअनुसार कम्पनीले गत चैत मसान्तभित्र पुँजी कायम गरिसक्नुपर्ने थियो । तर, अधिकांश कम्पनीले सो अवधिमा पुँजी जुटाउन सकेनन् । त्यसैले कम्पनीहरूको आग्रहमा प्राधिकरणले तीन महिना समय थप गरेको थियो । थप गरेको समयसीमा पनि असार मसान्तमा सकिएको छ । सो अवधिमा पनि पुँजी कायम नगरेपछि बिमा ऐनबमोजिम कारबाही गरिने प्राधिकरण प्रवक्ता पौडेलले बताए । ‘कम्पनीलाई नगद वा निश्चित व्यवसाय रोक्का गर्न सकिनेछ । यसका लागि कम्पनीको उच्च व्यवस्थापनसँग छलफल गर्नेछौँ,’ उनले भने । 

प्राधिकरणको निर्देशनबमोजिम जीवन बिमा कम्पनीले पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी पुर्‍याउनुपर्नेछ । यसअघि जीवन बिमा कम्पनीको दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुने व्यवस्था थियो ।

 आइपिओ र राइट सेयरबाट पुँजी पुर्‍याइने 
प्राधिकरणको निर्देशनबमोजिम पाँच बिमा कम्पनीले पुँजी जुटाइसकेका छन् । अन्य कम्पनीले भने पुँजी पुर्‍याउन प्राथमिक सेयर निष्कासन र हकप्रद सेयर निष्कासनको प्रक्रिया सुरु गरेका छन् । पुँजी जुटाउनका लागि मर्जरमा गइसकेका कम्पनीको मर्जरपछि पनि पुँजी अपुग भएमा हकप्रद सेयर जारी गर्ने सुविधा प्राधिकरणले दिएको छ । 

त्यस्तै, प्राधिकरणले तोकेको पुँजी पुर्‍याउनका लागि २० देखि २५ प्रतिशत रकम अपुग भएका कम्पनीलाई पनि हकप्रद जारी गर्ने सुविधा दिएको छ । साथै, प्राथमिक निष्कासन नगरेका नयाँ बिमा कम्पनीले आइपिओ जारी गरेर पुँजी जुटाउन सक्नेछन् । त्यसपछि पनि रकम अपुग भएमा हकप्रद सेयर जारी गर्न सक्ने प्राधिकरणले सुविधा दिएको छ । 

निर्जीवन बिमा कम्पनीतर्फ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पुँजी दुई अर्ब ८० करोड पुगेको छ । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जरमा गएपछि कम्पनीले पुँजी कायम गर्न सकेको हो । त्यस्तै, सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज भएपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पनि पुँजी दुई अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यो रकम पनि प्राधिकरणले तोकेभन्दा बढी हो । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको पुँजी दुई अर्ब ५० करोड पुगेको छ । कम्पनीले आइपिओ जारी गरी पुँजी जुटाएको हो । 

हालसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफैँले पुँजी जुटाइसकेको छ । प्राधिकरणको तथ्यांकअनुसार कम्पनीको पुँजी आठ अर्ब २० करोड पुगेको छ । यो रकम प्राधिकरणले तोकेभन्दा बढी हो । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको पुँजी सात अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपछि बनेको यो कम्पनीले पनि तोकिएको पुँजी कायम गरेको छ । 

प्राधिकरणले पुँजी कायम गर्नका लागि कम्पनीहरूलाई तीनवटा विकल्प दिएको थियो । कम्पनीबीच मर्जर, विदेशी पार्टनर र सञ्चालकबाट नै पुँजी इन्जेक्ट गर्न सक्ने विकल्प दिएको थियो । तीन विकल्पमध्ये अधिकांश कम्पनीले मर्जरको विकल्प अपनाएका छन् । केही कम्पनीले भने आफैँले पुँजी कायम गरेका छन् । 

आफैँले पुँजी पुर्‍याउने कम्पनीमा नेसनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको पुँजी सीमा नजिक पुगेको छ । त्यसैले यिनीहरूले हकप्रद जारी पुँजी जुटाउन पाउने सुविधा पाएका छन् । नेसनल लाइफ इन्स्योरेन्सको पुँजी चार अर्ब ६४ करोड पुगेको छ । प्राधिकरणले तोकेको पुँजी जुटाउन कम्पनीलाई ३५ करोड ९५ लाख रुपैयाँ अपुग छ । यसका लागि कम्पनीले ७.७५ हकप्रद सेयर जारी गर्ने भएको छ ।

 शिखर इन्स्योरेन्सको पनि पुँजी दुई अर्ब २८ करोड पुगेको छ । कम्पनीलाई २१ करोड ३९ लाख रुपैयाँ अपुग छ । त्यसका लागि कम्पनीले ९.३६ प्रतिशत हकप्रद जारी  गर्ने भएको छ । नेको इन्स्योरेन्सको पुँजी दुई अर्ब एक करोड रुपैयाँ पुगिसकेको छ । कम्पनीले २४.२३ प्रतिशत हकप्रद जारी गरी पुँजी जुटाउने भएको छ । 

अब समय थप हुँदैन
राजुरमण पौडेल, प्रवक्ता, नेपाल बिमा प्राधिकरण

पुँजी जुटाउनका लागि अब प्राधिकरणले समय थप गर्दैन । यो अवधिमा दुईवटा कम्पनीले पुँजी जुटाउन सकेका छैनन् । ऐनबमोजिम यी कम्पनीलाई प्राधिकरणले कारबाही गर्छ ।

 विदेशी शाखा कम्पनीले असाइन क्यापिटल जुटाउनुपर्ने
नेपाल बिमा प्राधिकरणले नेपालमा विदेशी बिमा कम्पनीको शाखाका रूपमा सञ्चालित कम्पनीको हकमा असाइन क्यापिटल तोकेको छ । यी कम्पनीले प्राधिकरणले तोकेअनुसार पुँजी नजुटाएसम्म नाफा लैजान पाउनेछैनन् । जसमध्ये मेट लाइफ, ओरिएन्टल र नेसनल कम्पनीका लागि असाइन क्यापिटलको व्यवस्था गरिएको छ ।

त्यस्तै, नेपाल लाइफ कर्पोरेसन कम्पनीको नेपालमा भने भारतीय सरकारको समेत लगानी रहेको छ । तसर्थ, पुँजी जुटाउनका लागि भारतीय सरकारले पुँजी थप गर्नेछ भने अपुग रकमका लागि हकप्रद जारी गर्न पाउनेछ । त्यस्तै, राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी भने सरकारी स्वामित्वका कम्पनी हुन् । यी कम्पनीको हकमा सरकारले नै पुँजीको व्यवस्था गर्ने समझदारी भएको छ । 

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ, रिलायबल लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गरेका छैनन् । तसर्थ, यी कम्पनीले ३९ प्रतिशतसम्म आइपिओ जारी गर्न पाउनेछन् । आइपिओ जारीपछि पनि पुँजी अपुग भएमा हकप्रद सेयर जारी गर्न पाउने प्राधिकरणले सुविधा दिएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको हकमा भने नेसनल लाइफ इन्स्योरेन्स (माउ कम्पनी)ले नै पुँजी थप गर्ने भएको छ । 

प्राधिकरणले पुँजी जुटाउनका लागि कम्पनी अनुसार फरक–फरक नियम अपनाएको छ । कम्पनीहरूको प्रकृति नै भिन्न–भिन्न भएकाले पुँजी जुटाउने प्रक्रिया पनि फरक–फरक भएको प्राधिकरणका प्रवक्ता राजुरमणले बताए । ‘कम्पनीको प्रकृति फरक छ । त्यसैले सबैलाई एउटै नियम लगाएर हुँदैन । तसर्थ, कम्पनीअनुसार पुँजी जुटाउने प्रक्रिया फरक छ । तर, हकप्रद, मर्जर र पुँजी इक्जेक्टबाहेक अन्य विकल्प भने कसैलाई पनि दिइएको छैन,’ उनले भने । 

ad
ad
ad
ad