१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Saturday, 21 September, 2024
२o८o श्रावण ४ बिहीबार १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विकास बैंकहरूले हरित निक्षेप तथा कर्जा योजना ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार १o:३३:oo

विकास बैंकहरूले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । विकास बैंकहरूको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको कार्यसमितिले हाललाई निम्न उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजनाअन्तर्गत समेट्ने निर्णय गरेको हो । 

हरित कर्जा योजनाअन्तर्गत कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार/रोपवे, विद्युतीय सवारीसाधन, फोहोरपानी प्रशोधनलगायतका क्षेत्रलाई हरित कर्जा योजनाअन्तर्गत समेटिने एसोसिएसनले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मक रूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले हरित कर्जा योजना ल्याउने निर्णय गरेको एसोसिएसनले जनाएको छ । हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले हरित निक्षेप योजना पनि ल्याइने जनाइएको छ । 

हरित निक्षेप योजनामा अन्य बचत र मुद्दती निक्षेपमा भन्दा शून्य दशमलव दुई पाँच प्रतिशत अंकले बढी ब्याज प्रदान गर्ने र हरित कर्जा योजनामा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा शून्य दशमलव दुई पाँच प्रतिशत अंकले कम ब्याजमा कर्जा प्रवाह गर्ने गरी कर्जा योजनाको प्रडक्ट पेपर विकास गरिने एसोसिएनले जनाएको छ । 

सदस्य बैंकहरूले आ–आफ्ना बैंकको व्यावसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिने गरी प्रडक्ट पेपरलाई विकास गर्न सक्ने निर्णय पनि एसोसिएसनले गरेको उल्लेख छ । कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग÷व्यवसायले हरित कर्जा सुविधा लिन नपाउने एसोसिएसनले जनाएको छ । आ–आफ्ना बैंकका सञ्चालक समितिबाट प्रडक्ट पेपर स्वीकृत गराई हरित निक्षेप योजना र हरित कर्जा योजना बजारमा ल्याउनका लागि एसोसिएसनले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको जनाएको छ ।