भगवान् बुद्धका एक अनुयायीले भने– प्रभु, मलाई हजुरसित एक निवेदन गर्नु थियो । बुद्धले भने– बताऊ न त, के समस्या आइपर्यो ? अनुयायीले भने– प्रभु, मेरो वस्त्र पुरानो भइसक्यो । अब यो पहिरिन लायक रहेन । कृपया मलाई नयाँ वस्त्र दिलाउने कष्ट गरिदिनुपर्यो ।
बुद्धले अनुयायीको वस्त्र हेर । त्यो साँच्चै जीर्ण भइसकेको थियो । ठाउँ–ठाउँमा घोटिएर च्यातिन थालिसकेको थियो । त्यो देखेर बुद्धले अर्का एक अनुयायीलाई उनलाई नयाँ वस्त्र दिन आदेश दिए । केही दिनपछि बुद्ध तिनै अनुयायीको घरमा पुगे । उनले अनुयायीसित प्रश्न गरे– के तिमी आफ्नो नयाँ वस्त्रका लागि खुसी छौ ? तिमीलाई अरू केही चाहिएको त छैन नि ?
अनुयायीले खुसी हुँदै भने– धन्यवाद प्रभु, म यो वस्त्रमा बिल्कुलै आरामसाथ बसिरहेको छु । मलाई अब केही चाहिएको छैन । बुद्धले थप प्रश्न गरे– अनि, तिमीले त्यो पुरानो वस्त्रलाई के गर्यौ ? अनुयायीले जवाफ दिए– मैले त्यसलाई ओढ्ने बनाएर प्रयोग गरिरहेको छु, प्रभु ! बुद्धले पुनः प्रश्न गरे– अनि तिमीले आफ्नो पुरानो ओढ्नेलाई के गर्यौ त ? अनुयायीले पुनः जवाफ दिए— मैले त्यसलाई झ्यालको पर्दा बनाएको छु, प्रभु !
बुद्धले पुनः थप प्रश्न गरे– त्यसो भए तिमीले पुरानो पर्दा फालिदियौ ? अनुयायीले हात जोडेर भने– होइन प्रभु ! मैले त्यसलाई चार टुक्रा बनाएर भान्छाका ताता भाँडालाई चुलोबाट निकाल्न प्रयोग गरिरहेको छु । बुद्धले पुनः सोधे– त्यसो भए भान्छाका पुराना कपडालाई चाहिँ के गर्यौ त ? अनुयायीले पूर्ववत् जवाफ दिए— तिनलाई अब पोतो बनाएर भुइँ पोत्न प्रयोग गर्नेछु, प्रभु !
के तिमीसित पुरानो पोतो थिएन र ? बुद्धले थप प्रश्न गरे । अनुयायीले जवाफ दिए– त्यो धेरै पुरानो भइसक्यो । त्यसैले मैले त्यसको धागो निकालेर टुकीमा प्रयोग गरेको छु । हिजो हजुरको कक्षमा बलेको टुकी पनि त्यही धागोबाट तयार भएको थियो । अनुयायीको जवाफबाट बुद्ध सन्तुष्ट भए र आफ्नो कुटीतिर फर्किए ।