१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भारत ‘ए’सँग ९ विकेटको हार, प्रतियोगिताबाट बाहिरियो नेपाल

एसिसी इमर्जिङ टिम्स एसिया कप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:२६:oo

श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा भारत ‘ए’ले नेपाललाई ९ विकेटले पराजित गरेको छ । 

नेपालले दिएको एक सय ६८ रनको लक्ष्य भारतले एक विकेटको क्षतिमा २२.१ ओभरमै पूरा गर्यो । आक्रामक ब्याटिङ गरेको भारतको तर्फबाट अभिषेक शर्माले सर्वाधिक ८७ रन बनाए । ६९ बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरेका थिए । 

नेपाली टिमका कप्तान रोहितकुमार पौडेलको ओभरमा लगातार ठूला सट हान्ने क्रममा उनी कुशल मल्लबाट बाउन्ड्री लाइनमा समातिए । यस्तै, भारतका अर्का ओपनर साई सुदर्शन ५८ तथा विकेट किपर ब्याटर ध्रुव जुरेलले २१ रन बनाए । सुदर्शनले ५२ बलमा एक छक्का र आठ चौका तथा १२ बल खेलेका जुरेलले दुई छक्का र एक चौका प्रहार गरे । 

नेपाली बलर कुनै पनि वेला भारतीय ए टिमका ब्याटरमाथि हाबी हुन सकेनन् । त्यसअघि टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय सही साबित हुन सकेन । नेपाली टोली ३९.२ ओभरमा १६७ रनमा अलआउट हुन पुग्यो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ६५ र गुल्सन झाले ३८ रन जोडे । ३७ रनमा ५ विकेट गुमाएको अवस्थामा कप्तान रोहितले सोमपाल कामीसँग ५३ र गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए । 

नेपालले रनको खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल दोस्रो बलमै एलबिडब्लु आउट भएपछि नेपाली ब्याटिङ कुनै पनि वेला सम्हालिन सकेन । लगत्तै २७ रन बनाउँदा नेपालले सात रन बनाएका आसिफ शेखलाई गुमायो । 

अर्जुन साउदको स्थानमा मौका पाएका देव खनालले केही राम्रा सट प्रहार गरे पनि १५ रनभन्दा बढी बनाउन सकेनन् । उनी आउट हुँदा टिमको स्कोर ३० रन थियो । पाँच रन थपिँदा नेपालले दुई रन जोडेका भीम सार्कीलाई गुमायो । 

३५ रनभित्र चार विकेट गुमेपछि कुशल मल्ल क्रिजमा आएका थिए । तर, उनले पनि टिमलाई साथ दिन सकेनन् । टिमले दुई रन जोड्ने बित्तिकै उनी शून्य रनमै आउट भए ।  

लगातार विकेट गइरहेको अवस्थामा सोमपालले कप्तान रोहितलाई विकेटमा साथ दिए । ३९ बल खेलेका सोमपाल १४ रन बनाएर आउट भए । यसबीच रोहितले ६७ बलमा अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरेपछि रनरेट बढाउने चक्करमा उनी ६५ रनको अवस्थामा आउट हुन पुगे । उनी आउट भएलगत्तै नेपालले गुल्सनलाई पनि गुमायो । त्यसपछि नेपालको औपचारिकता मात्र बाँकी थियो । 

भारत ‘ए’ का सिन्धुले ४, राजवर्द्धन हंगरगेकरले ३ र हर्सित रानाले २ विकेट हात पारे ।

ad
ad