प्रधानाध्यापक पनि प्रतिस्पर्धाबाट चयन, योग्य शिक्षकले आवेदन दिन सक्ने
काठमाडौं महानगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरुवा गरिने भएको छ । यसका लागि महानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापक छनोट र अन्तरविद्यालय शिक्षक सरुवासम्बन्धी कार्यविधि अघि बढाएको छ ।
महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार ‘दरबन्दी मिलान तथा प्रअ व्यवस्थापनसम्बन्धी कार्यविधि ०८०’ निर्माणका लागि छुट्टै कार्यदल गठन गरिएको छ । कार्यदलले महानगरको नगर कार्यपालिकाबाट सैद्धान्तिक सहमति पाएपछि कार्यविधिको गृहकार्य अघि बढेको हो । कार्यविधि तयार भएपछि विषयगत र विधायन समिति हुँदै महानगरको कार्यपालिका बैठकबाट पास हुनेछ । त्यसका निम्ति करिब दुई महिना लाग्नेछ । ‘महानगरभित्रका शिक्षक सरुवा र प्रधानाध्यापक छनोटका लागि यो कार्यविधि तयार पार्न लागेका हौँ,’ विभाग प्रमुख कोइरालाले भने, ‘दुई महिनासम्म कार्यविधि तयार हुन्छ, यसलाई ०८०/८१ देखि नै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।’
सीताराम कोइराला शिक्षा विभाग प्रमुख, काठमाडौं महानगर
महानगरभित्रका शिक्षक सरुवा र प्रधानाध्यापक छनोटका लागि यो कार्यविधि तयार पार्न लागेका हौँ । दुई महिनासम्ममा कार्यविधि तयार हुन्छ, यसलाई शैक्षिक सत्र ०८०/८१ देखि नै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।
कार्यविधि तयार भइसकेपछि महानगरभित्रका स्कुलहरूमा प्रधानाध्यापकको दरबन्दीका लागि सूचना खुला गरिनेछ । सोहीअनुसार महानगरभित्र रहेका शिक्षकले नै आवेदन फाराम भरेपछि प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिनेछ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले यसअघि नै यस्तो अभ्यास गरिसकेको छ । खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दा योग्य व्यक्ति चयन हुने र विद्यालय शैक्षिक गुणस्तर सुधार हुने महानगरको विश्वास छ । तर, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट तथा शिक्षक छोटो समयमै सरुवा हुँदा विद्यालयको व्यवस्थापनमा समस्या हुने विज्ञहरूको तर्क छ ।
यसबाहेक एउटै स्कुलबाट धेरैजसो शिक्षकले प्रअका निम्ति नाम निकाले त्यस विद्यालयमा शिक्षकको अभावसमेत हुने देखिन्छ । तर, महानगरभित्र रहेका विद्यालयमा शिक्षक अभावको समस्या नहुने विभाग प्रमुख कोइरालाको भनाइ छ ।
काठमाडौं महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय र यहाँ करिब एक हजार सात सय शिक्षक कार्यरत छन् । यी शिक्षकलाई कति अवधिसम्म एउटा विद्यालयमा काम गर्न पाइने भन्ने मापदण्ड कार्यविधिमा समेटिनेछ । सोही आधारमा शिक्षलाई महानगरभित्र रहेका अन्तरविद्यालयमा सरुवा गरिनेछ । यसो गर्दा विद्यालय तह सुधार हुने र शिक्षक जिम्मेवार हुने महानगरको ठम्याइ छ ।
यस्तो छ प्रधानाध्यापक छनोट प्रक्रिया ?
महानगरले तयार पारेको कार्यविधि कार्यान्वयन भएसँगै हाल भइरहेका प्रधानाध्यापक जिम्मेवारीबाट मुक्त हुनेछन् । यद्यपि, उनीहरू सोही विद्यालयमा शिक्षकको जिम्मेवारीमा भने रहनेछन् । नयाँ प्रअ छनोटका लागि निवेदन आह्वान गरिनेछ । विज्ञापन खुलेपछि महानगरभित्रै रहेका शिक्षकले आवेदन फाराम भर्न सक्नेछन् । मावि तहको प्रधानाध्यापकका लागि सोही तहमा पढाउने शिक्षकबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, निमावि र प्रावि तहको प्रअ छनोट प्रक्रिया पनि सोहीअनुसार हुनेछ ।
महानगरमा प्लस टु तह मात्रै पढाउन नपाइने
काठमाडौं महानगरभित्र प्लस टु मात्रै पढाउने गरी विद्यालय खोल्न नपाउने कानुन निर्माण गरिने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित महानगरको १३औँ नगरसभामा यो प्रस्ताव पेस गरिएको छ ।
महानगरपालिका–२३ का वडाध्यक्ष तथा विधान समितिका संयोजक मचाराजा महर्जनले यस्तो प्रस्ताव पेस गरेका हुन् । महानगरभित्र रहेको प्लस टु मात्रै पढाउने विद्यालयले अब त्यसभन्दा तल्लो तहमा पनि पढाउनुपर्ने भन्दै महर्जनले महानगरको शिक्षा ऐन, ०७५ संशोधनका लागि प्रस्ताव पेस गरेका थिए । उनले नगरसभामा हाल ११ र १२ मात्रै पढाइरहेका विद्यालयहरूले अब १० कक्षासम्म पनि पढाउनुपर्ने बताए । उक्त संशोधन प्रस्ताव पास भएपछि नयाँ नियम लागू हुनेछ, अर्थात् ११ र १२ कक्षा मात्रै सञ्चालन गर्न पाइनेछैन । कक्षा १० सम्म पनि पढाउनुपर्नेछ ।
सूर्यविनायकमा यो शैली ६ वर्षदेखि कार्यान्वयनमा
भक्तपुरको सूर्यविनायक नगरपालिकाले विद्यालयको गुणस्तर कायम गर्न कार्यविधि बनाएर ०७४ पुसदेखि प्रतिस्पर्धाबाट प्रअ छनोट गरिरहेको छ । नगरपालिकाभित्र रहेका ३० वटा विद्यालयमा १७ जना नयाँ प्रअ छनोट भएका थिए भने अन्यमा पुरानैले नाम निकालेका थिए । एउटै स्कुलमा पढाउने तीनजना शिक्षकसम्मले प्रअमा नाम निकालेका थिए । नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार यस्तो अभ्यास गरेपछि विद्यालय व्यवस्थापन र शिक्षा सुधारमा प्रभावकारिता देखिएको छ । ‘हामीले पुस ०७४ को दोस्रो नगरसभामा सूर्यविनायक नगरपालिका शिक्षा कार्यविधि ०७४ तयार पारेका थियौँ, सोहीअनुरूप प्रअ छनोट गर्यौँ,’ उनले भने, ‘कार्यविधि बनाउँदा विज्ञहरूलाई राखेका थियौँ ।’