१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Saturday, 07 September, 2024
मुना कुँवर काठमाडाैं
२o८o असार २५ सोमबार o७:o३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भिसा किनबेचको व्यापार रोक्न युएईको व्यक्तिगत श्रम प्रमाणीकरणमा कडाइ

युएईमा रहेका नेपाली श्रमिक वा स्वरोजगारका परिवारका सदस्यले मात्रै व्यक्तिगत भिसा पाउन सक्ने

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २५ सोमबार o७:o३:oo

संयुक्त अरब इमिरेट्स (युएई)मा डमी कम्पनी खडा गरी नेपाली श्रमिकको भिसा किनबेच हुन थालेपछि सरकारले व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ गरेको छ । व्यक्तिगत श्रमिक भिसाको व्यापारलाई रोक्न आबुधाबीस्थित नेपाली दूतावासले नाता प्रमाणित भएको अवस्थामा मात्रै व्यक्तिगत श्रमिक भिसा प्रमाणीकरण गरिने नयाँ व्यवस्था गरेको छ । 

दूतावासले तोकेको नयाँ मापदण्डअनुसार अब एकाघरका परिवारको सदस्यको मात्रै व्यक्तिलाई श्रमिक भिसा प्रमाणीकरण हुने भएको छ । नयाँ व्यवस्थाअनुसार युएईमा रहेका नेपाली श्रमिक वा स्वरोजगारले आफ्ना एकाघरका परिवारले मात्रै व्यक्तिगत भिसा पाउन सक्नेछन् । एकाघरको परिवार प्रमाणित गर्न स्थानीय निकायबाट नाता प्रमाणित गरेको कागज कन्सुलर सेवा विभाग पेस गर्नुपर्नेछ । सोही आधारमा मात्रै दूतावासले भिसा प्रमाणीकरण गर्नेछ । यसका अतिरिक्त युएईमा आई काम गरेको पूर्वश्रमिकका लागि मात्रै व्यक्तिगत भिसा प्रमाणीकरण गरिनेछ । 

वैदेशिक रोजगार ऐनअनुसार नेपाली श्रमिक संस्थागत भिसामार्फत पनि वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था छ । ऐनमा गरिएको यो व्यवस्थाअनुसार युएईस्थित रोजगारदातासँग सीधै सम्पर्क गरी नेपालबाट वैदेशिक रोजगारीमा जान सकिन्छ । यही सुविधाको प्रयोग गरेर युएईमा रहेका नेपालीले रोजगारदातासँग समन्वय गरी आफ्ना आफन्तलाई व्यक्तिगत भिसा पठाउँदै आएका छन् । यस्तो भिसा पाएका श्रमिकले म्यानपावरको जस्तो प्रक्रिया पूरा गर्नुपर्दैन । श्रम स्वीकृति, मेडिकल, बिमालगायतका प्रक्रिया आफैँ पूरा गरी रोजगारीका लागि युएई जान सक्छन् । 

तर, पछिल्लो समयमा युएईमा रहेका नेपालीले नै डमी कम्पनी खडा गर्ने र प्राप्त श्रमिक कोटालाई व्यक्तिगत भिसामार्फत रोजगारी दिने भन्दै ठूलो रकम लिने प्रवृत्ति बढेको आबुधाबीस्थित नेपाली दूतावासका श्रम काउन्सलर दीनबन्धु सुवेदीले बताए । उनले भने, ‘भिसा किनबेच गर्नु अवैधानिक हो । यस्तो प्रक्रियाले नेपाली श्रमिक जोखिममा पर्न थालेपछि एकाघरको परिवारका लागि मात्रै व्यक्तिगत भिसा पठाउन सकिने व्यवस्था गरिएको हो ।’  

 नक्कली कम्पनी खडा गरी भिसाको किनबेच 
झापाका गम्भीरप्रसाद यादव (नाम परिवर्तन) गत वर्ष कार्यालय सहायक भिसामा युएई पुगे । युएईमा जान उनले नेपाली एजेन्टलाई तीन लाख रुपैयाँ बुझाएका थिए । तर, युएई पुगेपछि नेपालमा भएको सम्झौताअनुसार उनले काम पाएनन् । चार महिना उनी कामविहीन भए । अहिले साथीको सहयोगले उनले क्लिनरको जागिर पाएका छन् । ‘दलालले काम राम्रो छ भन्थ्यो । तर, कम्पनीले सीधै मलाई लिएको होइन रहेछ । त्यसैले भिसामा भएको कम्पनीमा मैले काम पाइनँ,’ उनले भने । पहिला निकै गाह्रो भयो । अहिले काम पाएपछि खान–बस्न केही सजिलो भएको छ ।’ 

खोटाडका रमेश बास्कोटा (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि युएई आएको ६ महिना भयो । एजेन्टले दुबईमा सहजै काम पाइने बताएपछि उनी युएई जान उत्साहित भएका थिए । एजेन्टलाई दुई लाख २० हजार रुपैयाँ बुझाएर दुबई पुगेपछि दलालसँगको उनको सम्पर्क हुन सकेन । कम्पनीले पनि उनलाई लिन आएन । ‘दुबई आएको दिनभरि एयरपोर्टमा नै बसेँ । कोही लिन आएनन् । पछि मैले साथीभाइलाई फोन गरेँ,’ उनले भने । अहिले उनी आबुधाबीमा क्लिनिङको काम गर्छन् । ‘पैसा खर्च भइहाल्यो । त्यो ऋण नतिरेसम्म त कसरी नेपाल फर्कनु,’ उनले भने । 

बास्कोटा र यादवजस्तै युएईमा अलपत्र पर्नेको संख्या बढ्दो छ । नक्कली कम्पनी खडा गरी भिसा किनबेच गरेर नेपाली युवाहरू ठगी भइरहेको उनीहरूले बताएका छन् । नेपाली, पाकिस्तानी, भारतीय नागरिक यस्तो गतिविधिमा सक्रिय हुने गरेको पाइएको छ । युएईमा कम्पनी स्थापना गर्न सजिलो छ । व्यवसाय गर्न चाहने कुनै पनि मुलुकका नागरिकका लागि युएई सरकारको नियम खुुकुलो छ । कम्पनीको पुँजी र प्रकृतिअनुसार कम्पनी स्थापना हुनेबित्तिकै युएई सरकारले आप्रवासी श्रमिक भित्र्याउने अनुमति दिन्छ । युएईले यस्ता कम्पनीलाई आप्रवासी श्रमिक भर्ना गर्नका लागि मुलुकअनुसार कोटा पनि तोकिदिने गरेको छ । 

युएई सरकारको नियमअनुसार कम्पनी सञ्चालकले म्यानपावर व्यवसायी वा व्यक्तिगत रूपमा पनि आप्रवासी श्रमिक भिœयाउन सक्छन् । नेपालको वैदेशिक रोजगार ऐनबमोजिम पनि कम्पनी सञ्चालकले म्यानपावर कम्पनी वा संस्थागत रूपमा नेपाली श्रमिक भर्ना गर्न पाउँछन् । दुवै मुलुकको ऐनबमोजिम जुन कम्पनी सञ्चालकले आप्रवासी श्रमिक भर्ना गर्ने अनुमति पाएको हो, सोही कम्पनीले तोकिएकै काममा लगाउने गरी आप्रवासी कामदार भर्ना गर्नुपर्ने हुन्छ । तर, ठगी गर्ने कम्पनीले युएई सरकारबाट प्राप्त श्रमिकको भिसा अन्य तेस्रो व्यक्तिलाई बिक्री गरिदिन्छन् ।

अधिकांश दलालहरूले यस्तो भिसा खरिद गरी नेपाली युवाबाट ठूलो रकम लिने गरेका छन् । नेपाली युवाहरूले एक लाखदेखि तीन लाख रुपैयाँसम्म भुक्तानी गरी यस्तो भिसा प्राप्त गर्ने गरेको आबुधाबीस्थित नेपाली दूतावासका श्रम सहचारी अविद अन्सारीले बताए । तर, कम्पनी नै नक्कली भएपछि त्यस्तो भिसामा युएई आउने श्रमिक आफैँले काम खोज्नुपर्ने बाध्यता छ । उनका अनुसार यस्तो भिसामा युएई आउने अधिकांश महिला तथा पुरुष घरेलु कामदारका रूपमा काम गर्न बाध्य भएका छन् ।  

 व्यक्तिगत भिसामा आउने युवा अधिक जोखिममा
अवैध रूपमा भिसा किनबेच गरी युएई भित्रिएका नेपाली श्रमिक उच्च जोखिममा परेको दूतावासको भनाइ छ । व्यक्तिगत भिसामा आएका कामदारको हकमा कुनै समस्या परेमा जिम्मेवारी लिने व्यक्ति नहुने आबुधाबीस्थित नेपाली दूतावासका श्रम काउन्सलर दीनबन्धु सुवेदी बताउँछन् । ‘सबैजनाले आफ्ना दाजु, भाइ, दिदी, बहिनी भन्दै भिसा प्रमाणीकरण गर्न आउँछन् । तर, दलालले अन्जान व्यक्तिलाई पनि भिसा बिक्री गरेको हुन्छ । जसका कारण श्रमिक समस्यामा पर्दा उसलाई जिम्मेवार बनाउन सकिँदैन,’ उनले भने । 

संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत आउने श्रमिकको हकमा कुनै पनि समस्या परेमा म्यानपावर उतरदायी हुन्छ । ‘म्यानपावरबाट आउने श्रमिकलाई कुनै समस्या परे कम्पनीलाई खोज्न सकिन्छ । श्रमिकलाई न्यान दिलाउन कम्पनीलाई कारबाही गर्न सकिन्छ,’ उनले भने । तर, व्यक्तिलाई भने जिम्मेवार बनाउन नसकिने हुँदा यसरी आउने अधिकांश नेपाली श्रमिक जोखिममा परेको उनले बताए । एकाघरको परिवारको हकमा भने आफ्नै परिवारलाई जोखिममा पार्ने सम्भावना ज्यादै न्यून हुने भएकाले एकाघरको परिवार हुनुपर्ने व्यवस्था गरिएको उनले बताए । 

दूतावासले गरेको नयाँ व्यवस्थाले अवैध रूपमा भिसा किनबेच गर्ने गिरोहको व्यापार बन्द भएको आबुधाबीस्थित नेपाली दूतावासमा सेवा लिन आएका रोशन सापकोटाले बताए । ‘तर, वास्तविक रूपमा नै कम्पनी सुरु गरी नेपाली कामदार भर्ना गर्न चाहने स्वरोजगार नेपालीलाई भने अप्ठ्यारो परेको छ,’ उनले भने । तर, भिसा किनबेच हुने विकृतिलाई नियन्त्रण गर्न दूतावासले गरेको निर्णय उचित भएको उनले बताए ।

 छोटो समयमा उच्च प्रतिफल लिन चाहने व्यक्तिले कागजी प्रक्रिया पूरा गरी कम्पनी खडा गर्छन् । आप्रवासी श्रमिक भर्ना गरी पारिश्रमिक र सेवा–सुविधा प्रदान गरेको देखाउनका लागि श्रमिकको नाममा बैंकमा पैसा डिपोजिट गरी फेरि आफैँले निकाल्ने गरेको पाइएको दूतावासले जनाएको छ । कागज प्रक्रिया पूरा गरेकाले युएई सरकारले पनि यसको भेउ नपाउने गरेको उनले बताए ।

 भिसा किनबेच गर्नु अवैध हो
दीनबन्धु सुवेदी, श्रम काउन्सलर, नेपाली दूतावास, आबुधाबी

एउटा कम्पनीले आप्रवासी श्रमिकका लागि पाएको भिसा वा कोटा अर्को व्यक्तिलाई बिक्री गर्नु गैरकानुनी हो । जुन कम्पनीको भिसा प्राप्त भएको हो, सोही कम्पनीले तोकिएकै काममा लगाउनुपर्छ । कम्पनीले तोकिएको सेवा–सुविधा दिनुपर्छ । तर, नेपाली दलालले तीन लाख रुपैयाँसम्ममा यस्तो भिसा किनबेच गरेको पाइएको छ ।