
मनसुनको समयमा प्रायः पर्यटकीय गतिविधि सेलाउने गर्छ । तर, केही त्यस्ता ठाउँ छन्, जहाँ बाह्रै महिना पर्यटकको चहलपहल हुन्छ । ढोरपाटन त्यस्तै एक गन्तव्य हो ।
कसरी पुग्ने ?
काठमाडौंदेखि ढोरपाटन पुग्न झन्डै ३ सय ८० किलोमिटर सडकयात्रा गर्नुपर्छ । काठमाडौंबाट पहिलो दिन पोखरा पुगेर भोलिपल्ट बागलुङको गलकोट, बुर्तीबाङ हुँदै ढोरपान पुग्न सकिन्छ । ढोरपाटन क्षेत्रमा बस्नका लागि पर्याप्त होटेल तथा घरहरू छन् ।
प्राकृतिक रूपमा सम्पन्न
ढोरपाटन नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र हो । यतिवेला यहाँ हरियो समथर पाटन नियाल्दै प्रकृतिको मज्जा लिन पाइन्छ । त्यसैले त्यहाँ पुगेपछि सहरको कोलाहल र प्रदूषणबाट मुक्त भएको आभास हुन्छ । हरियो घाँसे मैदान, हरियो, रातो, पहेँलोलगायत विभिन्न रंगीबिरंगी फूलहरू देख्न पाइन्छ ।
यहाँ, उत्तरगंगा मन्दिर पनि अवलोकन गर्न पाइन्छ । गर्मी छल्नलाई पनि यो उपयुक्त स्थान हो । प्राकृतिक सुन्दरता अवलोकन गर्न जाने हो । यहाँको रहनसहन र स्थानीयको आतिथ्य सत्कारले पनि पर्यटकलाई लोभ्याउँछ ।
जलजला ट्रेक पनि महत्वपूर्ण गन्तव्य हो । ढोरपाटनबाट करिब तीन घन्टाको ट्रेक गरेर त्यहाँ पुग्न सकिन्छ । जलजलाबाट म्याग्दी र बागलुङको दृश्यावलोकन गर्न सकिन्छ ।
ढोरपाटनबाट झन्डै एक घन्टा माथितिर ट्रेकिङ गर्यो भने रुद्रताल पुग्न सकिन्छ । ट्रेकका दौरान रेडपान्डा, नाउर, घोरललगायतका वन्यजन्तु पनि देख्न पाइन्छ । ढोरपाटन क्षेत्रमा जनैपूर्णिमामा ठूलो मेला लाग्छ ।