मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Thursday, 19 December, 2024
नवीन अर्याल काठमाडाैं
२o८o असार १७ आइतबार o७:५१:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

यसरी भन्सारमै थन्किए साढे ३१ सय गाडी [तस्बिरसहित]

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार o७:५१:oo

अर्बौँ मूल्यका गाडी यार्डमा थन्किँदा राजस्वमा असर, कोभिडअगाडिदेखिका गाडी जाँचपास हुन सकेनन्

चर्को ब्याजदर, कर्जा प्रवाहमा कडाइ एवं आर्थिक मन्दीका कारण अटोमोबाइल व्यवसाय संकटमा परेको छ । बजारमा खरिदकर्ता नभेटिँदा बिक्रीका लागि ल्याइएका साढे ३१ सय गाडी वीरगन्ज र भैरहवा भन्सारपरिसरमा असरल्ल राखिएका छन् । यार्डहरूमा कोभिडअघिदेखि ल्याइएका अर्बौँ मूल्यका साना–ठूला गाडीहरू अलपत्र अवस्थामा रहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

वीरगन्ज आइसिपीमा साना–ठूला १७ सय २८ र वीरगन्जकै सुक्खा बन्दरगाहमा ३५ गाडी थन्किएका छन् । रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सारमा १३ सय ७७ गाडी पार्किङ गरेर राखिएका छन् । गाडी आयातकर्ता कम्पनीले भन्सार जाँचपास गर्न नसकेर यार्डमा असरल्ल राखेको हो।

मन्दीका कारण दुईपांग्रे मोटरसाइकल, चारपांग्रे प्यासेन्जर कारदेखि ठूला कमर्सियल गाडीसम्मको बिक्री स्वात्तै घटेको व्यवसायीको गुनासो छ । डेढ वर्षयता कमर्सियल गाडीको बिक्री करिब ८० प्रतिशतले गिरावट आएको नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए ।  

वीरगन्ज आइसिपीको गेटबाटै नयाँ गाडीहरूको लस्कर सुरु हुन्छ । पार्किङ गरिएका कमर्सियल गाडी र यिनका च्यासिसहरू हेर्दै अगाडि बढ्दा प्यासेन्जर कारहरू राखिएका ठाउँमा ३० लाख रेन्जको हुन्डाई ग्रान्ड आइटेनदेखि साढे तीन करोडसम्म पर्ने टायोटा ल्यान्डक्रुजसम्म देखिन्छन् । खासगरी, यार्डमा कमर्सियल गाडी, ट्रक, टिपर, पिकअप र यिनका चेसिसको लस्कर छ।

‘अटो कर्जाको जोखिमभार बढाएर १५० प्रतिशत पुर्‍याइएको छ, जसले गर्दा बैंकले अटोमोबाइलमा कर्जा प्रवाह गरेका छैनन् र बिक्री पनि ठप्प छ,’ नाडा अध्यक्ष थापाले भने, ‘आगामी मौद्रिक नीतिमार्फत कर्जाको जोखिमभार कम्तीमा १०० प्रतिशतमा झारिनुपर्छ ।’ 

कोभिडअगाडिदेखिका गाडीहरू जाँचपास हुन नसकेको वीरगन्ज आइसिपी सञ्चालक कम्पनी टिआरएस हिमालयन लोजीपार्कका प्रशासकीय अधिकृत तर्कराज जोशीले बताए । वैशाख र १५ जेठसम्म विभिन्न नाकाबाट करिब १४ सय इलेक्ट्रिक कार भन्सार जाँचपास भई भित्रिएका थिए।

बजेटमा महँगा विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क घटेपछि टेस्ला, आयोनिक फाइभजस्ता महँगो मूल्यका केही थान विद्युतीय कारहरू भन्सार जाँचपास भएर भित्रिए । तर, अर्थतन्त्रमा देखिएको मन्दीका कारण ठूलो संख्यामा गाडीहरू यार्डमै थन्किँदा राजस्व संकलनमा ठूलो असर परेको छ । गाडीको बिक्री ठप्प भएपछि भन्सारमै पार्किङ गरेर राख्नुपरेको टाटा मोटर्सको नेपाली विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका सिइओ राजनबाबु श्रेष्ठले बताए ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगन्ज आइसिपीमा सवारीसाधन जाँचपासबाट १० अर्ब ४७ करोड राजस्व उठेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा करिब २५ अर्बले कम हो । गत आवको जेठ मसान्तसम्म ३५ अर्ब ४१ करोड राजस्व संकलन भइसकेको थियो । नेपालमा सबैभन्दा बढी राजस्व सवारीसाधन र पेट्रोलियम पदार्थमा उठ्ने गर्छ । तर, मन्दीका कारण गाडी र पेट्रोलियम पदार्थको आयात नै घट्दा राजस्व संकलनको लक्ष्य भेट्टाउन नसकेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए । ‘आइसिपीमा रहेका गाडीहरू जाँचपास भए राजस्व पनि बढ्ने थियो, तर अहिलेकै अवस्थामा आयातकर्ताले गाडीहरू जाँचपास गरेर लैजाने सम्भावना कम देखिन्छ,’ उनले भने, ‘नयाँ सवारीसाधनले यार्ड पूरै भरिभराउ छ, अब आयात हुने सवारीसाधन राख्ने ठाउँ छैन ।’ 

भन्सारपरिसरको पार्किङमा ट्रक, टिपर, टेलर र यिनका चेसिस सबैभन्दा धेरै देखिन्छन् । वीरगन्ज र भैरहवा दुवै ठाउँमा सबैभन्दा धेरै कमर्सियल भेहिकल रोकिएका छन्, जसमध्ये अधिकांश टाटा कम्पनीका हुन् । टाटाका टिपर, टेलर, ट्रक, ट्यांकर, पिकअप गाडी र यिनका चेसिस भन्सारपरिसरमा जताततै देखिन्छन्।

‘२०२१ डिसेम्बरयता गाडी बिक्री ठप्प छ, एकातिर कर्जा प्रवाहमा कडाइ गरिएको छ, अर्कोतिर सरकारले विकास बजेट खर्च गर्न सकेको छैन,’ सिप्रदीका सिइओ श्रेष्ठले भने, ‘टिपर र ट्रकको प्रयोग निर्माण र खानी क्षेत्रमा बढी हुने हो, तर पछिल्लो समय निर्माण क्षेत्र सुस्त छ, सिमेन्ट र डन्डी बिक्री हुनै छाडिसक्यो, यस्तो अवस्थामा गाडी बिक्री हुने कुरै भएन ।’  

भन्सारसम्म आइपुगेका गाडी जाँचपास गरेर ल्याउन आयातकर्ता कम्पनीले भन्सार महसुल तिर्नुपर्ने हुन्छ । तर, अहिले बिक्री ठप्प हुँदा भन्सार तिरेर गाडी ल्याउने अवस्था नरहेको व्यवसायीहरू बताउँछन् । गाडी खरिद गर्ने ग्राहक पाइनै छाडेपछि आयातकर्ताले सवारीसाधन जाँचपास नगरी यार्डमै थन्क्याएका हुन् । यार्डमा पार्किङ गरिएका गाडीहरूले नै बजार मागमा मन्दीले पारेको असर देखाउने वीरगन्जका प्रमुख भन्सार प्रशासक पन्थीले बताए । गाडीको भन्सार जाँचपास नहुँदा राजस्व संकलनमा पनि चरम दबाब परिरहेको उनको भनाइ छ । पछिल्लो समय बैंकको चर्को ब्याज र महँगीले आर्थिक गतिविधि सुस्ताएका छन्, जसले गर्दा बजारमा कमी आएको छ ।

भन्सारमा इलेक्ट्रिक गाडीहरू त्यति देखिँदैनन् । वीरगन्ज आइसिपीमा हुन्डाईको इलेक्ट्रोनिक गाडी ‘आयोनिक फाइभ’ केही संख्यामा देखिन्छन् । पछिल्लो समय इलेक्ट्रिक गाडीको माग बढ्दो ट्रेन्डमा रहेकाले भन्सारमा आइपुग्ने गाडीहरू जाँचपास भइरहेका छन् । इलेक्ट्रिक गाडीमा बैंक तथा वित्तीय संस्थाहरूले पनि सहज लगानी गर्न थालेका छन् । 

चालू आवको जेठ मसान्तसम्म पेट्रोल र डिजेलबाट चल्ने मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान, पिकअप, ट्रक, टिपर, ट्यांकर, बस तथा यिनका चेसिसहरूको आयात र राजस्व संकलन घट्दा इलेक्ट्रिक कार, जिप र भ्यानको जाँचपास भने बढेको वीरगन्ज आइसिपीको तथ्यांकले देखाउँछ । ११ महिनाको अवधिमा आइसिपीले इलेक्ट्रिक गाडीबाट ३० करोड ८९ लाखभन्दा बढी राजस्व उठाएको छ । तर, एउटै गाडीमा करोडभन्दा बढी राजस्व उठ्ने पेट्रोल, डिजेलबाट चल्ने गाडीहरू भने यार्डमै थन्किएका छन् ।

वीरगन्ज यार्डमा बिएमडब्लूका एक्स थ्री र आइएक्स थ्री मोडेल पार्किङमा देखिन्छन् । नेपाली बजारमा एक्स थ्रीको मूल्य साढे दुई करोडभन्दा बढी छ । यस्तै, महँगो मूल्य पर्ने टोयोटाको ल्यान्डक्रुजर, फर्चुनर र हाइलक्स (पिकअप) पनि ठूलो संख्यामा छन् । यस्तै, हाइब्रिड कोरला क्रस पनि पार्किङमै छ । यो कारको मूल्य एक करोड ६५ लाख रहेको छ । वीरगन्ज आइसिपीमा सबैभन्दा बढी प्यासेन्जर कार टोयोटाका देखिन्छन् । 

हुन्डाईको क्रेटा, नयाँ भेन्यु, ग्रान्ड आइटेन निओस, आयोनिक फाइभ, टुसान पनि वीरगन्ज भन्सारमा प्रशस्तै देखिन्छन् । फोर्सको एसयुभी र सिट्रोन कार पनि जाँचपास नभई पार्किङमा छन् । यस्तै, सीमापारि भारतीय भूमिमा पनि नेपालमा ल्याउन लागिएका गाडी ठूलो संख्यामा लाममा रहेको व्यवसायीको भनाइ छ । 

वीरगन्जबाट अशोक ले ल्यान्ड, महिन्द्रा र टाटा, टायोटा, हुन्डाई, फोर्स, बिएमडब्लू, किया, सिट्रोन, इसुजु पिकअपलगायतका गाडीहरू आयात हुँदै आइरहेका छन् । अहिले व्यवसायीहरू भन्सारमा थुप्रिएका गाडीहरूको बैंकमा चर्को ब्याज तिर्दा–तिर्दा आजित भइसकेका छन् । अब बिक्री गर्न ग्राहक नै नभएपछि थप रकम भन्सार तिरेर गाडी जाँचपास गराउन तयार छैनन् । यार्डमा पनि पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । अहिले यार्डमा भरिभराउ हुँदा थप गाडी राख्नका लागि ठाउँको अभाव रहेको इन्टरमोडल यातायातले जनाएको छ । पछिल्लो समय केही गाडीहरू छुटिरहे पनि नयाँ गाडी थपिने क्रम जारी रहँदा यार्डमा गाडी घटेका छैनन् । 

कुन ठाउँमा कति थन्किए ?

वीरगन्ज र भैरहवामा करिब नौ सय प्यासेन्जर कार–जिप थन्किएका छन् । दुई ठाउँमा बस १३० र बसको चेसिस १७६ जाँचपास नभई थन्किएका छन् । देशभर विकास निर्माण र ढुवानी सेवामा शिथिलता आउँदा ट्रक, टिपर, पिकअप सबैभन्दा धेरै थुप्रिएको व्यवसायीको गुनासो छ । ‘आइसिपीपरिसरमा थुप्रिएका ट्रक–टिपरले नै देशमा विकास निर्माण र निर्माण सामग्री उत्पादक उद्योग सुस्ताएको देखाउँछ,’ वीरगन्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल भन्छन्, ‘आयातकर्ताले निर्माण सामग्री ढुंगा, माटो, गिट्टी बोक्ने ट्रक र टिपर भान्सार जाँचपास गर्न नसक्नु नै यो क्षेत्र शिथिल बनेको संकेत हो ।’ 

वीरगन्ज आइसिपीमा मात्रै कार र जिप सात सय ६८, एम्बुलेन्स ४२, बस एक सय ३०, बसका चेसिस १७५, टिपर ३७, चेसिस (ट्रक, टेलर, टिपर, पिकअप) ५७६ रहेको इन्टरमोडल यातायातले जनाएको छ । यस्तै, रुपन्देहीको बेलहियामा पनि ठूलो संख्यामा गाडी पार्किङ गरेर राखिएको छ । त्यहाँ बस ३५, बसको चेसिस १, कार–जिप एक सय ६, पिकअप ११ सय १३ र ट्रक एक सय २२ वटा भन्सार जाँचपास हुन बाँकी रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । वीरगन्ज सुक्खा बन्दरगाहमा विभिन्न कम्पनीका ३५ गाडी जाँचपास नभई थन्किएका छन् । 

तस्बिर : नवीन अर्याल/ नयाँ पत्रिका