१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o८:१९:oo
Read Time : > 5 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हरिका ती १३ अन्तर्राष्ट्रिय गोल 

Read Time : > 5 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:१९:oo

हरि खड्का नेपाली फुटबलकै सफल स्ट्राइकर हुन् । सन् १९९० ताका पश्चिम जर्मनीमा फुटबलको ज्ञान लिएपछि उनी घरेलु तथा अन्तर्राष्ट्रिय क्षेत्रमा एकैनासको प्रदर्शन गर्न सफल भए । सिनियर टोलीमा हरि र नीराजन रायमाझीले राखेको कीर्तिमान अहिलेसम्म यथावत् छ । उनीहरूले नेपाली राष्ट्रिय टोलीबाट समान १३–१३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अहिले यो कीर्तिमाननजिक अञ्जन विष्ट पुगेका छन् । उनले १२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९५ देखि २००७ सम्म १२ वर्ष हरि राष्ट्रिय टोलीमा रहे । उनले घरेलु फुटबलमा धेरैजसो फ्रिकिक गोल गरे । तर, राष्ट्रिय टोलीबाट उनले एकपटक पनि फ्रिकिक गोल गर्न सकेनन् । सन् २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपमा भुटानविरुद्ध उनले ४९औँ अन्तर्राष्ट्रिय खेल खेले । भुटानविरुद्ध उनको अन्तिम अन्तर्राष्ट्रिय खेल रह्यो । आफूले गरेका १३ अन्तर्राष्ट्रिय गोलसम्बन्धी रोचक विवरण हरिले नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाए :

१. पाकिस्तान
सन् १९९५ मा श्रीलंकामा भएको सार्क विस्टोल गोल्डकपमा डेब्यु गरेको थिएँ । समूह ‘ए’बाट सेमिफाइनल स्थान बनाउन नेपालले पाकिस्तानविरुद्ध २–० ले जित्नुपर्ने थियो । बंगलादेशविरुद्ध खेल्न पाइनँ । तर, पाकिस्तानविरुद्धको मैले डेब्युको अवसर पाएँ । मिडफिल्डर बालगोपाल महर्जनले गोल गरे । बालगोपाललाई मैले गोलका लागि पास दिएको थिएँ । मध्यान्तरपछि मैले डेब्यु खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल ठोकेँ । उमेश प्रधान, बालगोपाल र देवनारायण चौधरीका कारण त्यो गोल सम्भव भयो । सुरुमा उमेशले बालगोपाललाई पास दिए । बालगोपालले डिबक्सअगाडि देवनारायणसम्म बल पुर्‍याए । 

देवनारायणले बायाँ डिबक्स साइडमा मलाई पास उपलब्ध गराए । मैले दायाँ खुट्टाले वान टचमै पहिलो बारमा गोल गरेँ । गोल ‘अनएक्सपेड’ थियो । मुभ यति चाँडै भयो कि गोलरक्षकले समेत बल छेक्ने अवसर पाएनन् । पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा फरक किसिमले रेलिब्रेसन गरेको थिएँ । मेरै गोलले नेपाल सेमिफाइनलमा छनोट भयो । त्यसपछि मलाई सिनियर दाइहरूले बधाई दिए । 

२. माल्दिभ्स
सातौँ दक्षिण एसियाली साफ च्याम्पियनसिप मद्रासमा भएको थियो । नेपालको समूह चरणमा माल्दिभ्सविरुद्ध खेल थियो । खेलमा पराजित हुँदा नेपाल अगाडि जान सक्ने अवस्था थिएन । माल्दिभ्सविरुद्धको खेलमा गर या मरको अवस्थामा हामीले खेल्यौँ । अर्कोतिर माल्दिभ्स नेपालकै जस्तो अवस्थामा थियो । यसले दुवै पराजित हुन चाहँदैनथे । माल्दिभ्सले नेपालविरुद्ध बलियो रक्षापंक्ति अपनाएको थियो । नेपालले काउन्टर एट्याक्टमा मुभ बनाइरहेको थियो । अन्तिममा एक अवसर मिल्यो । जुन मौकामा मैले नै गोल गरेँ । डिबक्सबाहिरबाट स्ट्राइकर दीपक अमात्यले ‘फ्लिक’ गर्दै मलाई पास दिए । माल्दिभ्सका गोलरक्षक बल क्लियर गर्न अगाडि आए । मैले गोलरक्षक अगाडि आएको मौकामा दायाँ खुट्टाले भली गोल गरेँ । त्यो मेरो दास्रो अन्तर्राष्ट्रिय गोल थियो । यसपटक पनि मेरो गोलको सहयोगमा नेपाल अर्को चरणमा समेत प्रवेश गर्‍यो । 

३. ओमान
ओमानको मस्कटमा नेपालले एसियन कप छनोटअन्तर्गत समूह पाँचमा प्रतिस्पर्धा गरेको थियो । नेपालले पहिलो लेग ओमानलाई २–१ को नतिजा सुम्पिएको थियो । तर, त्यस खेलमा मैले ओमानविरुद्ध एक गोल गरेको थिएँ । त्यो मेरो तेस्रो अन्तर्राष्ट्रिय गोल थियो । स्ट्राइकर नरेन्द्र श्रेष्ठले पोस्टको दायाँ साइडमा ओमानका डिफेन्डरलाई छक्याएर मलाई पास दिए । मैले वान टर्चमै सीधै बललाई पहिलो बारमा गोल गरेको थिएँ । 

४. मकाउ
सन् १९९८ मा फ्रान्समा हुने विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले जापान र ओमानसँग भिडेको थियो । नेपालको पहिलो खेल मकाउसँग थियो । ओमानको सुल्तान रंगशालामा मकाउले १–० को अग्रता लियो । मकाउको निकै राम्रो फुटबल टोली थियो । यद्यपि, नेपाल बराबरी गोल फर्काउने प्रयासमा थियो । हामीले एक–आपसबीच तालमेल मिलाउँदै मकाउलाई १–१ को बराबरीमा ल्यायौँ । संयोगवश मकाउविरुद्धको बराबरी गोल मैले नै गरेको थिएँ । स्ट्राइकर नरेन्द्र श्रेष्ठले दुई डिफेन्डरलाई झुक्याएर डिबक्सभित्र पुगेका थिए । उनले कुनै गल्ती नगरी मलाई थ्रो मात्र पास दिए । मैले वान टचमै प्लेसिङ गर्दै दोसो बारको कुना च्यापेर बराबरी गोल फर्र्काएँ । 

५. माल्दिभ्स
भारतको नेहरू रंगशालामा दक्षिण एसियन गोल्डकपमा मैले माल्दिभ्सविरुद्ध दुई गोल गरेको थिएँ । सो खेलमा नेपाल माल्दिभ्ससँग ३–२ ले पराजित भयो । समूह ‘बी’को पहिलो खेलमै माल्दिभ्सले नेपालविरुद्ध पहिलो मिनेटमै गोल गरेको थियो । हामीले पहिलो हाफमा बराबरी गोल फर्काउन सकेनौँ । मध्यान्तरपछि नेपालले आफ्नो पकड जमायो । खेलाडीबीच तालमेल सही थियो । हामीले बिस्तारै माल्दिभ्सको पोस्टमा पकड र मुभ बनाइराखेका थियौँ । खेलको ६५औँ मिनेटमा नरेश जोशीको पासमा मैले बराबरी गोल गरेँ । त्यो गोल दायाँ खुट्टाले दोस्रो बारको कुना च्यापेर गरेको थिएँ । 

६. माल्दिभ्स 
सोही खेलमा मादिल्भ्सविरुद्ध १–१ को बराबरी गोल फर्काएपछि हाम्रो आत्मविश्वास बढयो । हामीले खेल नियन्त्रणमा लिइसकेका थियौँ । माल्दिभ्सले गोल खाएपछि खेल बिगार्दै गएको थियो । माल्दिभ्स त्यसवेला सार्क क्षेत्रकै उत्कृष्ट टोली थियो । माल्दिभ्सले ८५ मिनेटभित्र थप दुई गोल गर्दै ३–१ को अग्रता बनायो । नेपालले अन्तिम समयसम्म हार मानेन् । खेल सकिन एक मिनेटअघि मैले नेपाललाई ३–२ को गोल अन्तरमा झारेँ । डिबक्सभित्र मैले राम्रो फिनिसिङ गर्दै छैटौँ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएँ । 

७. भुटान
सन् १९९९ मा नेपालले आठौँ साफ खेलकुद प्रतियोगिता आयोजना गर्‍यो । नेपाल फुटबलमा स्वर्ण पदकको दाबेदार थियो । घरेलु मैदान र समर्थकका कारण नेपाल मनपर्ने टोली थियो । नेपालले आफ्नो समूहमा भुटानलाई ७–० को फराकिलो अन्तरले हरायो । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा निकालेको ठूलो अन्तरको जित नै त्यही थियो । नेपाली फुटबलले इतिहास रचेको दिन मैले दुई गोल गरेको थिएँ । सम्भवत त्यति वेला म जीवनकै उत्कृष्ट लयमा थिएँ । दरशथ रंगशालामा भुटानले डिफेन्स लाइन निकै कमजोर बनाएको थियो । खेलको दोस्रो मिनेटमै मैले गोल गरेँ । जुन मेरो सातौँ अन्तर्राष्ट्रिय गोल थियो । मलाई याद भएसम्म भुटानका तीनजना डिफेन्डरलाई डिबक्सभित्रै छक्याएको थिएँ । अन्तिममा भुटानी गोलरक्षक मात्र थिए । गोलरक्षक अगाडि बढेको मौकामा बललाई हल्का चिप प्रहार गरेँ । रमाइलो पक्ष भने बल स्विङ हुँदै गोल भएको थियो । 

८. भुटान
सोही खेलमै मैले आफ्नो आठौँ अन्तर्राष्ट्रिय गोलसमेत भुटानविरुद्ध पूरा गरेँ । अहिले सम्झना भएसम्म पहिलो गोल गरेको तीन मिनेटको अन्तरमै दोस्रो व्यक्तिगत गोल गर्न सकेँ । खेलको पाँचौँ मिनेटमा नेपालले पेनाल्टी प्राप्त गर्‍यो । डिबक्सभित्र बल अगाडि लैजाँदा भुटानी डिफेन्डरले मलाई पछाडिबाट ट्याकल गरे । रेफ्रीले नेपालको हकमा पेनाल्टी दिए । नेपालले पेनाल्टी प्रहार गर्ने अवस्थामा प्रशिक्षक कस्न्टाइनले मलाई नै हान्ने जिम्मेवारी दिएका थिए । प्रशिक्षणमा मलाई प्रशिक्षकले धेरै पेनाल्टी हान्न लगाउँथे । यसमा अन्य साथीहरूको पनि सहमति थियो । मैले  भुटानविरुद्ध सहजै पेनाल्टी गोल गरेँ । भुटानी गोलरक्षकलाई विपरीत दिशामा डाइभ गराउँदै मैले दायाँ साइडमा पेनाल्टी गोल गरेँ । 

९.पाकिस्तान
आठौँ साफ खेलकुदमा नेपालको समूहमा पाकिस्तान थियो । यस समूहमा पाकिस्तान पनि बलियो प्रतिद्वन्द्वीकै रूपमा थियो । यस खेलमा हामीले ३–१ को सानदार जित निकाल्यौँ । उत्कृष्ट फर्ममा रहेका वेला मैले पाकिस्तानविरुद्ध पनि एक गोल गरेको थिएँ । खेलको कति मिनेटमा गोल गरेको भन्ने ठयाक्कै याद छैन । तर, नेपालले पाकिस्तानसँग २–१ को अग्रता लिँदा मेरो गोलको योगदान थियो । डिबक्सभित्र मैले सहजै दायाँ खुट्टाले गोल गरेको थिएँ । 

१०. माल्दिभ्स
वास्तवमा सन् १९९९ को साफमा नेपालको प्रदर्शन माथिल्लो दर्जामा थियो । नेपालले घरेलु समर्थकलाई खुसी पार्दै सेमिफाइनल स्थान पक्का गरेको थियो । सेमिफाइनलमा नेपालको भेट माल्दिभ्ससँग भयो । दशरथ रंगशालामा लगभग २२ हजार दर्शकसामु नेपालले प्रतिस्पर्धा गरिरहँदा हामीमाथि चर्को दबाब थियो । अर्कोतिर माल्दिभ्सलाई कुनै दबाब थिएन । खेलको ११औँ मिनेटमै स्ट्राइकर नरेश जोशीले नेपाललाई १–० को अग्रता दिलाए । खेलको १५औँ मिनेटमा मैले नेपाललाई २–० को अग्रता दिलाएँ । डिबक्सअगाडि मिलन, दिल्लीराम श्रेष्ठ र मबीच वान टु पास भइरहेको थियो । हामी मिडफिल्डदेखि नै वान टु पास खेल्दै माल्दिभ्सको डिबक्सभित्रसम्म प्रवेशको योजना बनायौँ । डिबक्सभित्र म पुगेको देखेपछि दिल्लीरामले पास दिए । मैले दायाँ खुट्टाले वान टचमै दोस्रो बारको कुना च्यापेँ । बल हावामा स्विङ हुँदै दोस्रो बारमा गोल भयो । नेपालले माल्दिभ्सलाई २–१ ले हराएर फाइनल स्थान पक्का गर्‍यो । 

११. मकाउ
सन् २००२ को विश्वकपअन्र्तगत एसियन छनोटमा नेपाल समूह ६ मा रह्यो । समूहमा इराक, मकाउ, काजकास्तान थिए । नेपालले मकाउसँगको खेलमा मैले दसौँ अन्तर्राष्ट्रिय गोल पूरा गरेँ । नीराजन रायमाझी र मबीचको जोडी निकै उत्कृष्ट थियो । नीराजनकै सुन्दर पासमा त्यो गोल सम्भव भयो । मध्यान्तरपछि हामी वान टु पास खेल्दै मकाउको डिबक्ससम्म पुग्यौँ । नीराजनले डिबक्सको दायाँ साइडको कठिन कोणबाट मलाई पास दिए । मैले आउटसाइड फुटबाटै बल प्रहार गरेँ । मैले प्रहार गरेको बल क्रप हुँदै दोस्रो बारतिर गएको थियो । गोलरक्षकले छेक्ने मौका नै पाएनन् । 
 
१२. इराक 
सन् २००२ को विश्वकप छनोटअन्तर्गत एसियन छनोटको दुवै लेगमा नेपालले इराकसँग भिडेको थियो । नेपाल इराकसँग नराम्रोसँग पराजित भयो । मैले एसियाकै शक्तिशाली राष्ट्र इराकविरुद्ध एक गोल गर्न सफल भएँ । इराकविरुद्धको त्यो गोल मेरो १२औँ अन्तर्राष्ट्रिय गोल थियो । मेरो यस गोलमा मिडफिल्डर कुमार थापा तथा स्ट्राइकर नीराजन रायमाझीको योगदान धेरै थियो । कुमारले नीराजनलाई चलाखीपूर्ण तरिकाले ब्याक दिए । त्यसपछि नीराजन र मबीच वान टु पास भयो । मैले इराकका तीन डिफेन्डर बिट गर्दै सानो डिबक्ससम्म बल पुर्‍याएँ । त्यसपछि इराकका गोलरक्षक अगाडि बढेको अवस्थामा मैले बललाई हल्का चिप गर्दै गोल गरेँ । गोलरक्षकसमेत बिट हुँदा बल हावामा स्विङ भएको थियो ।  

१३. अफगानिस्तान
सन् २००२ मा एएफसीले एसियन कप प्रिलिमिनरी आयोजना गरेको थियो । नेपालले समूह सीमा अफगानिस्तानविरुद्ध खेलेको थियो । दशरथ रंगशालामै भएको प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय फुटबलको खासै अनुभव नभएको अफगानिस्तानमाथि हामीले ४–० को सानदार जित रच्यौँ । शरीरिक तथा प्रावधिक रूपमा अफगानी  बलिया थिए । नीराजन रायमाझीले खेलको ३७औँ र ८७औँ मिनेटमा गोल गरेका थिए । नेपाललाई सुरुवाती अग्रता दीपक लामाले दिलाए । खेलको ३९औँ मिनेटमा मैले एक गोल गरेको थिएँ । प्रतिस्पर्धामा मैले पेनाल्टी मिस पनि नगरेको होइन । खेलको ३९औँ मिनेटमा मैदानको मध्यभागबाट एक्लैले ड्रिब्लिङ गर्दै बल अगाडि बढाएँ । यस क्रममा मैले तीनजना अफगानी खेलाडीलाई कटाएँ । डिबक्समा भित्र कुल भएर सहजै गोल गरेँ । त्यो मेरो १३औँ अन्तर्राष्ट्रिय गोल थियो ।

ad
ad