मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Wednesday, 18 December, 2024
प्रा.डा. प्रेम शर्मा
२o८o असार १५ शुक्रबार १o:२५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कृषि र पर्यटनका सम्भावना

जिडिपीमा ११ प्रतिशत योगदान गरेको पर्यटन क्षेत्र र ३६ प्रतिशत योगदान गर्ने कृषि व्यवसायलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ

Read Time : > 3 मिनेट
प्रा.डा. प्रेम शर्मा
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार १o:२५:oo

कृषि र पर्यटन नेपाल र नेपालीको जीवनयापनको प्रमुख आधारभूत आर्थिक गतिविधि हुन् । जनसंख्याको करिब ८० ग्रामीण बसाइ, दुईतिहाइभन्दा बढी (६६ प्रतशित) कृषि पेसामा संलग्न तथा गार्हस्थ्य उत्पादन (जिडिपी)मा ३६ प्रतिशत योगदान रहेको परिस्थितिमा कृषि क्षेत्रको व्यवसायलाई मेरुदण्डको रूपमा विकास गर्नु कटु यथार्थ हो ।

यसैगरी, पर्यटनको अपार सम्भावना बोकेको नेपालको भूसंरचना, विविध खाले मानव एवं प्राकृतिक विविधतालाई विश्वसामु बजारीकारण गर्न कमजोर रहे तापनि आर्थिक क्षेत्रमा उदाउँदा विश्वका ठूला हाम्रा छिमेकी मुलुक भारत र चीनलाई मात्र आकषित गराउन सकियो भने नेपाल एउटा समृद्ध राष्ट्र र नेपाली सुख नरहने कुरै छैन । यहाँ अन्तर्राष्ट्रिय गन्तव्यको सगरमाथा, लुम्बिनी र हिन्दू आस्था एवं सम्पदाको मुलुकभित्र अथाह अन्तर्राष्ट्रिय पर्यटनको गतिविधि सञ्चालन गर्ने प्रचुर सम्भावना छ । सीप, प्रविधि र बजारीकरण गर्ने चुनौतीलाई राम्ररी व्यवस्थापन गर्न सकिने हो भने नेपाल र नेपालीको भविष्य उज्यालो छ ।

किन र कसरी ? :  राष्ट्रिय गार्हस्थ्य उत्पादनको क्षेत्रमा करिब ११ प्रतिशत योगदान गरेको पर्यटन क्षेत्र र ३६ प्रतिशत जिडिपीमा योगदान गर्ने कृषि व्यवसायलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक छ । किनभने, सानो पुँजी, सीप र अनुभवका आधारमा विकसित हुँदै आएको पर्यटन क्षेत्र र दुईतिहाइ नेपालीको आयआर्जनको क्षेत्रलाई नेपाल सरकारले नजरअन्दाज गर्न सक्दैन । जुन कुरा प्रथम पञ्चवर्षीय योजना (२०१३ साल) देखि हाल पन्ध्रौँ योजनासम्म प्राथमिकता दिँदै आएको छ । यो क्षेत्रलाई राम्ररी पहिचान गर्न नसक्दा झन्डै एक करोड युवाशक्ति वैदेशिक रोजगारीमा गएका छन् । तर, रोजगारीमा जानुपर्ने अवस्थालाई धेरै हदसम्म कृषि व्यवसायमार्फत कम गर्न सकिन्छ । 

असार १५ लाई राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव गर्ने नेपाल सरकार र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को एउटै उद्देश्य हुनु, कृषि क्षेत्रमा जनचेतना फैलाउने र राष्ट्रिय उत्पादनलाई बढाउन, कृषिलाई निर्वाहमुखी पेसाबाट व्यावसायिक बनाउने, कृषि पर्यटनका माध्यमबाट अन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउने कार्य राम्रो हो । 

विगत समयमा भिटोफ नेपाल गण्डकी प्रदेशको संयोजकत्वमा प्रदेशका ११ वटै जिल्लामा होमस्टे प्रवद्र्धनका लागि झन्डै ३० करोड बजेट पूर्वाधार विकास र क्षमता अभिवृद्धि गर्नेलगायत कामका लागि खर्च गर्‍यो । सन् २०१९ र २०२० मा त्यसैमा सक्रिय रह्यो । नेपाल भ्रमण वर्ष २०२० को तयारीमा आन्तरिक पर्यटन प्रवद्र्धन वर्ष २०१९ मा पाँच प्रदेश गण्डकी, लुम्बिनी, मधेस, बागमती र कोसीमा प्रचार प्रसारमा सक्रिय भूमिका निर्वाह गर्‍यो । यस संस्थाको दुई दशकको संलग्नता र सहभागिताका कारण देशमा हाल झन्डै १२,००० होमस्टे विधिवत् र स्वतस्फूर्त सञ्चालनमा आएका छन् । यसका लागि नेपाल सरकारको प्रोत्साहन उल्लेखनीय छ, तर यसमा केही होमस्टेभित्रका समस्या पनि चुनौतीका रूपमा देखा पर्न थालेका छन् ।

सरोकार निकाय, समुदाय, व्यक्ति, व्यवसाय वा उद्यमकर्ता र स्वयं कृषकले आफ्नो सीप, अनुभव र क्षमता प्रदर्शन गरेमा राष्ट्रिय धान बाली दिवस एवं रोपाइँ महोत्सव मात्रै नभई अन्य खाद्य उत्पादनलाई अधिकतम उपयोगमा ल्याई लाभ उठाउन सकिन्छ 
 

प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा भिटोफ नेपालले कृषि उपजलाई पर्यटनसँग जोड्न वेलामौकामा पर्यटन मार्टहरू आयोजना गर्दै आएको छ । उक्त मार्टमा धेरै जिल्लाभित्र सञ्चालनमा रहेका होमस्टेले आफ्नो जातजातिविशेष, घर आवासमा पाहुना (पर्यटक)लाई खुवाउने अर्गानिक परिकारलगायत थरीथरी खाद्य एवं पेय पदार्थमार्फत आतिथ्य गराउने सीप र तालिम, अभिमुखीकरण गराउँदै आएको छ । 

काठमाडौं र पोखरास्थित विभिन्न पर्यटन व्यवसायसँग आबद्ध पेसागत संघ–संस्थाको सक्रियता र परिचालनमा सहरकेन्द्रित पर्यटन व्यवसायलाई ग्रामीण क्षेत्रउन्मुख गराउने प्रयास भइरहेका छन् । लमजुङ, कास्की, इलाम, बागलुङ, म्याग्दी, मुगु, हुम्ला, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, नवलपुर, पाल्पालगायत धेरै जिल्ला र गाउँपालिकाभित्र सञ्चालित होमस्टेहरूमा बाह्य पर्यटक आकर्षित भई वास बस्ने र आतिथ्य कला र गलामा रमाउने गर्न थालिसकेका छन् । त्यस्ता काम र व्यावसायीहरूको काममा भिटोफ नेपालमार्फत दुई दर्जनभन्दा बढी जिल्ला र ५ दर्जनभन्दा बढी पालिकामा क्षमता विकासका तालिम, गोष्ठी, अन्तरक्रिया, अनुभव साटासाट, मितेरी लगाउने, अन्य गैसससँग सहकार्य गरी लाभ पु¥याउने काम भएका छन् ।

राष्ट्रिय धान दिवस असार १५ र भिटोफ नेपाल रोपाइँ महोत्सवलाई सार्थकता दिन यी दुई अभियन्ताबीच एउटा समन्वयकारी एवं अटुट औपचारिक सम्बन्धको आवश्यकता छ । कृषि र पर्यटन व्यावसाय सेवा क्षेत्र नभएर व्यक्ति, निजी क्षेत्र र सामुदायिक लाभको क्षेत्र हो । यसलाई सरकारको भूमिका प्रोत्साहन, सहजीकरण र आवश्यक भौतिक एवं मानव पुँजी विकास र तयार गरी दिने त्यसमा निजी व्यक्ति, निजी क्षेत्र र समुदायले व्यक्तिगत लाभ उठाउन लगानी र सीप, अनुभव, प्रविधियुक्त ज्ञानले अगाडि बढाउनुपर्छ ।

कृषिलाई कृषि पर्यटनसँग जोड्न समय–समयमा कृषि पर्यटन मार्टको आयोजना, कृषि उत्पादनका परम्परागत खानपानलाई विभेदीकरण (रूपान्तरण) गरी नयाँ परिकार तयार गरी हिजोको भात, आँटो, ढिँडो, रोटी, आदिलाई जस्तै एक केजी आलुबाट साधारण तरकारीलाई परौठा, फेन्चफ्राई, चिप्स आदि बनाएर ढाई सय रुपैयाँभन्दा बढी मूल्यमा बिक्ने परिकारमा रूपान्तरण गर्न सिकाउन सकिन्छ । 

कैलाली टीकापुरको कालु हमालको ४२ थरीका केराका परिकार, नम्बरी भान्सामा राँगोको मासुबाट ४ दर्जनभन्दा बढी नेवारी परिकार, साँगा काभ्रेका किसानको लप्सीका थरीथरी पाउँ परिकारझैँ कृषि उपजलाई रूपान्तरण गरी कृषि पर्यटनको विकास सहजै गर्ने सीप, प्रविधि एवं आतिथ्य कलामा जोड दिनुपर्छ । हाम्रो सामाजमा परम्परागत रूपमा चलनचल्तीमा धेरै परिकार छन्, तर ज्ञान, चेतना, बजारीकरणको अभावले प्रचार प्रसारमा आउन सकेका छैनन् । राष्ट्रिय बाली तथा कृषि अनुसन्धान केन्द्रलगायतले यस क्षेत्रमा अध्ययन अनुसन्धान गरी नीति निर्माण तहमा र सीधै कृषक एवं ग्रामीण पर्यटन व्यवसायीहरूमा लाभप्रद हुने योजना, रणनीति, कार्यक्रम आउनु आवश्यक हुन्छ । 

उत्पादनलाई बजारसँग जोड्नु, स्रोतलाई उद्यम व्यवसायमा पहुँच बढाउनु, आफ्नै घरगाउँ क्षेत्रमा अलपत्र पहिचानविहीन (बेवारिसे) अवस्थामा यत्रतत्र छरिएर रहेका स्रोत साधनलाई पहिचान गरी सानो असंगठित पुँजीलाई सहकारीका माध्यम अर्थात् सामुदायिक संगठनहरूलाई परिचालन गरी उत्पादक र उपभोक्ताबीच मूल्यको समुचित लाभ उठाउने संयन्त्र विकास गर्नु आवश्यक छ ।

सम्भवतः माथि उल्लेखित सरोकार निकाय, समुदाय, व्यक्ति, व्यवसाय वा उद्यमकर्ता र स्वयं कृषकले आफूसँग रहेको सीप, अनुभव र क्षमता प्रदर्शन गरेमा राष्ट्रिय धान बाली दिवस एवं रोपाइँ महोत्सव मात्रै होइन, अन्य खाद्य उत्पादन अर्थात् उपजलाई अधिकतम उपयोगमा ल्याई लाभ उठाउन सकिन्छ ।
(शर्मा ग्रामीण पर्यटन अभियन्ता हुन्)