प्रायः सबै मुलुकमा गणित विषय हाउगुजी बनेकै हुन्छ । यदि यस विषयमा पोख्त हुनुहुन्छ भने तपाईं स्मार्ट कहलिनुहुन्छ । दोस्रो नम्बरमा फिजिक्स (भौतिक शास्त्र) पर्छ । यी दुईलाई एक ठाउँमा ल्याउने हो भने खगोलशास्त्र बन्छ । यसबाहेकका विषय विधा रकेट साइन्स होइनन्, अर्थात् यिनमा अन्तरिक्षयान प्रक्षेपण गर्नजत्तिको ज्ञानको आवश्यकता पर्दैन ।
यसपछि आउँछ, प्रविधि र कोडिङ । कोडिङ गर्न जान्नुभयो भने तपाईं ज्ञानीहरूको समूहमा अट्ने उच्च नश्लका व्यक्ति बन्नुहुन्छ । हलिउड चलचित्र र नेटफ्लिक्सका ‘क्राइम सो’मा यी कोडिङ गर्ने उच्च नश्लका विज्ञहरू कम्प्युटरमा तीव्र गतिमा अजिबोगरिब टाइपिङ गर्छन् र तुरन्तै खलपात्रको ठेगाना पत्ता लगाइदिन्छन् ।
उल्लिखित विषयले विज्ञानको वैश्विक जात व्यवस्थामा उच्च स्थान ओगट्छन् । त्यसपछि थोरै कम आकर्षक विषयमा केमेस्ट्री (रसायन शास्त्र) र बायोलोजी (जीवशास्त्र) पर्छन् । यी विषयका ज्ञाता गणितज्ञ, भौतिक शास्त्री र प्रविधि विज्ञसामु हरूवा नै ठहरिन्छन् । मुसाको डाइसेक्सन (चिरफार) गर्दा होइन, टिसर्टमा स्रोडिंगरको बिरालोको चित्र हुँदा पो कुल भइन्छ ।
प्राज्ञिक व्यवस्थामा उल्लिखित विषयपछि आउँछन्, बहिष्कृत मानविकी विषय । यदि तपाईंले कलेजमा समाज शास्त्र, इतिहास, राजनीति शास्त्र, दर्शन शास्त्र र हुँदाहुँदा साहित्य विधाको अध्ययन गर्नुभयो भने सारा विश्वले तपाईंलाई काम न काजको ठान्छ । र, तपाईंले यी विषय कलेजमा पढिरहँदा अभिभावकले शुल्क तिरिरहेका छन् र विद्यालयस्तरमा उत्कृष्ट नतिजा हासिल गरेर यी विषय अध्ययन गर्नुभएको हो भने त कुरै नगरौँ ।
तपाईंका परिवार बिरादरीकाले यो पढेर के गर्छस्, कति कमाउँछस् भन्ने प्रश्न गरेर हैरान बनाउँछन् । समस्याको चुरो यहीँ छ । प्राकृतिक विज्ञानले हामीलाई मानवीय शरीरलगायत भौतिक वस्तुको निर्माण र पुनर्निर्माण कसरी गर्ने भन्ने सिकाउँछ । मानविकीले हामीलाई कसरी असल, थप परिपूर्ण र सुखी समाज निर्माण गर्ने भन्ने सिकाउँछ । समाजमा प्रकोप बनेको हिंसा, घृणा, लगाव, अवसाद आदिलाई मानव समाजले कसरी काम गर्छ भन्ने बुझेपछि मात्रै सम्बोधन गर्न सकिन्छ । सबै भौतिक आवश्यकता पूरा भएका राष्ट्रमा पनि मानविकीको अवमूल्यन गर्दा त्यहाँका समाजमा समस्या निम्तिएका छन् ।
भौतिक आवश्यकतालाई प्राकृतिक विज्ञानसँग सम्बन्धित विधा स्टेमको प्रविधिले पूर्ति गर्छ । यी आवश्यकताको व्यापारसमेत हुन सक्छ । मानविकीको छातामुनि आउने विधाले सामाजिक कल्याणको सिर्जना गर्छ, जसको कुनै मोल छैन र विनिमय सम्भव छैन । यसमा अर्थशास्त्र मात्रै एक अपवाद हो, जसले विनिमयको प्रक्रियालाई हेर्छ । यसकारण अर्थशास्त्रबाहेकका मानविकी विषय पढेकाले राम्रो तलब भएको रोजगारी पाउँदैनन् ।
यदि मानविकी विधा लोककल्याणसँग सम्बन्धित हो भने यी विधामा काम गर्नेलाई उचित पारिश्रमिक उपलब्ध गराउने जिम्मा राज्यको हो
हाम्रो उपभोक्तावादी समाजमा स्वभावतः कमाइ सिर्जना हुने विषयमा उच्च प्रतिभा आकर्षित हुने गर्छन् । यदि मानविकी विधा लोककल्याणसँग सम्बन्धित हो भने यी विधामा काम गर्नेलाई उचित पारिश्रमिक उपलब्ध गराउने जिम्मा राज्यको हो । विश्वविद्यालयमा मानविकी संकायमा विद्यार्थीलाई आकर्षित गर्ने यो एक महत्वपूर्ण सर्त हो । तर, यसका लागि सरकारी नीति तय गर्नेले नै लोककल्याणको कदर गर्नुपर्छ ।
खुला बजारमा आधारित समाजले सुख, सामाजिक सम्बन्ध र मानव कल्याणको मूल्यमा उपभोक्तावाद र भौतिक उत्पादनलाई विशेषाधिकार दिन्छन् । तसर्थ, यस्ता समाज अर्थात् विश्वका प्रायः सबै समाजमा हामीलाई वास्तविक रूपमा मानिस बनाउने विषयले खासै महत्व पाएको छैन । बजार मात्रात्मक छ, यसले वस्तुलाई मुद्रासँग विनिमय गर्छ । बजारले सबै विषयवस्तुलाई मात्रामा परिवर्तन गर्छ, ताकि तिनमा मूल्य तोक्न सकियोस् । बजारको यो मान्यता विज्ञान विधाअनुकूल हुन पुग्छ, किनभने विज्ञान मात्रा र तथ्यांकीय सम्भाव्यतामा आधारित हुने गर्छ ।
उच्च सामाजिक सिद्धान्त प्राकृतिक विज्ञानजत्तिकै जटिल छन् । यी सिद्धान्तलाई ग्रहण गर्न विश्लेषणात्मक दिमाग आवश्यक हुन्छ, अर्थात् त्यस्तो दिमाग, जसले जटिल सम्बन्ध र अस्वाभाविक अवधारणागत संरचनालाई ग्रहण गर्छ । मानविकीको मेरुदण्ड रहेको उन्नत सामाजिक सिद्धान्तका लागि स्वाभाविकतालाई अस्वीकार गर्न सक्नुपर्छ र अनुभव गर्न नसकिने विषयलाई उजागर गर्नुपर्छ । तर, अहिले मानविकीले पनि मात्रात्मकताको मूल्यलाई गणना गर्न थालेको छ । गुणात्मक अध्ययन र सिद्धान्तलाई सर्वेक्षण र हिसाबले प्रतिस्थापन गरेको छ । मानविकी विधाको मात्राकरणले समाज विज्ञानको मर्मलाई नै मारिरहेको छ । यही मात्राकरणका कारण मानविकी विषय सजिलो बन्न पुग्छ र विज्ञान विषयमा संज्ञानात्मक क्षमता बढी हुने भाष्य बन्छ ।
विज्ञान विषयप्रतिको यो अनुरागले महिलाले विज्ञान अध्ययन गर्न सक्दैनन् भन्ने भाष्य पनि बनेको छ । केही जीववैज्ञानिकले महिलामा ‘समानुभूतियुक्त’ दिमाग हुने र पुरुषमा ‘व्यवस्थित’ दिमाग हुने तर्क गरेका छन् । यही तर्कका आधारमा हामीलाई महिलाले विज्ञान सम्बन्धित विषयमा राम्रो गर्दैनन् भन्ने पारेको छ । यो तथाकथित ‘वैज्ञानिक’ परिकल्पनालाई प्रमाणित गर्न एक ठूलो अध्ययनलाई प्रायः उद्धृत गरिन्छ । यो अध्ययनले लैंगिक समानता भएका स्केन्डिनेभियन मुलुकमा पनि कलेजमा थोरै महिलाले मात्रै स्टेमको अध्ययन गर्छन् भन्ने देखाएको छ । यो अवस्थालाई नारीवादी चिन्ताको विषयका रूपमा लिन्छन् भने नारीवादको विरोध गर्ने पुरुषलाई महिला र पुरुषबीचको आधारभूत दिमागी भिन्नताका रूपमा पेस गर्छन् ।
तर यो अध्ययन उद्धृत गरिँदा त्यही स्केन्डिनेभियन मुलुकका विद्यालयस्तरमा बालिकाले स्टेममा बालकभन्दा राम्रो प्रदर्शन गर्छन् । र, यिनै बालिकाले स्टेमको तुलनामा समाज विज्ञानमा थप राम्रो प्रदर्शन पनि गर्छन् । यस अवस्थामा हामी यदि यो रकेट–साइन्स होइन भन्छौँ भने हामीले रकेट साइन्सभन्दा थप जटिल र अप्ठ्यारो विषयलाई इंगित गरेका हौँ भन्ने अर्थ लाग्छ ।
(आउटलुक इन्डियाका लागि नयनताराको आलेख)