मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २१ आइतबार o९:४o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार o९:४o:oo

गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब नौ अर्ब ६६ करोड खर्च हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुन्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।

प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेशले बताए । ‘सडकखण्ड पुनर्निर्माणका लागि गरिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ,’ उनले भने । राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो ।

उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग छलफल गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपत् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ । यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ । सचिव शर्माका अनुसार आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ ।

पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ व्यहोर्नुपर्ने प्रमुख योगेशले बताए । उनका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।

बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दीबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ । केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष ०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दीबास १६० किलाेमिटर सडक) निर्माणकार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिलाेमिटर ३५ करोड रुपैयाँ लागत थियो । रासस