१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Monday, 01 July, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८o असार १५ शुक्रबार o६:२८:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सीमावर्ती बजारमा नेपाली रुपैयाँ बलियो

Read Time : > 3 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार o६:२८:oo

नेपाली रुपैयाँ र भारुको विनियम दर कानुनी रूपमा सधैँ स्थिर सय रुपैयाँ भारुबराबर नेपाली एक सय ६० रहेको छ । तर, दुई देशको सीमावर्ती बजारमा दुवै देशका मुद्रा गैरकानुनी तरिकाले फरक–फरक दरमा साटासाट हुने गर्छन् । केही समय पहिलासम्म सीमा क्षेत्रमा एक सय भारतीय रुपैयाँका लागि एक सय ६५ नेपाली रुपैयाँ तिर्नुपर्ने थियो । तर, पछिल्लो केही महिनादेखि भारतीय बजारमा समेत नेपाली रुपैयाँ बलियो देखिएको छ । 

अघिल्लो वर्षको चैतसम्म भारतीय व्यापारीहरूले नेपाली ग्राहकसँग भारतीय रुपैयाँमा कारोबार गर्थे । तर, अहिले उनीहरूले नेपाली रुपैयाँमै कारोबार गर्ने भएकाले भारतीय बजारमा नेपाली रुपैयाँ बलियो हुन पुगेको हो । ‘कानुनी रूपमा विनिमय दरमा कुनै परिवर्तन नभए पनि अवैध बजारमा भारतीय मुद्रा खस्कने अवस्थामा छ,’ भारतको मधवापुरका व्यापारी सञ्जय गुप्ताले भने, ‘गत चैत महिनासम्म महँगो रहे पनि भारतीय रुपैयाँको अवस्था खस्किएकाले नेपाली ग्राहकसँग नेपालीमै कारोबार गर्ने गरेको छु ।’ अहिले भारतीय बजारका व्यवसायीहरू नेपाली रुपैयाँमै कारोबार गर्न चाहन्छन् । 

भारतीय रुपैयाँ आफूसँग पर्याप्त भए पनि नेपालमा ठूला नोट नचल्ने कारण नेपाली रुपैयाँमा कारोबार गर्न थालेको अर्का व्यापारी सुबोध गुप्ताले बताए । राष्ट्र बैंकले विनिमय दरमा एक सय भारुबराबर नेपाली एक सय ६० रुपैयाँ तोकेको छ । तर, नेपाली बजारमा व्यापारीहरूले आफू खुसी १५० मात्रै मूल्यांकन गर्ने गरेको भारतीय व्यापारीहरूको भनाइ छ । सीमावर्ती नेपाली बजारमा २५ हजारभन्दा बढी रकम साथमा पाइए प्रहरीले पक्राउ गर्ने भएकाले पनि व्यापारीहरूले भारतीय रुपैयाँ लिन आनाकानी गर्ने स्थानीय व्यवसायीहरू बताउँछन् । यस्तै, कारणले नेपाली बजारमा भारतीय रुपैयाँको अवमूल्यन भइरहेको उनीहरूको भनाइ छ  ।

भारत सरकारले दुई हजारको भारतीय नोट नचलाउने निर्णय गरेसँगै नेपाली व्यापारीहरू भारतीय पैसातर्फ सशंकित भएका छन् । यसअघि पनि भारतले भारु पाँच सय र हजारको  नोटमा प्रतिबन्ध लगाएपछि नेपालका व्यापारीहरू समस्यामा परेका थिए । नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रबन्ध निर्देशक अशोक घिमिरेले नेपालमा भारतीय रुपैयाँको नोट पर्याप्त मात्रामा देखिएकाले नेपाली बजारमा भारतीय नोटको अवमूल्यन भएको हुन सक्ने बताए । 

 भारतीय नोटको अवमूल्यनले पर्यटन व्यवसाय प्रभावित
भारतीय रुपैयाँ कमजोर भएपछि सीमा क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । जनकपुरधाम, वीरगन्ज, राजविराजसहितका सीमावर्ती सहरमा कुनै अवरोध सहज रूपमा व्यापारीहरूले भारतीय मुद्रा प्रयोग गर्दा भारतीय पर्यटक आकर्षित हुन्थे । तर, पछिल्लो समय भारतीय रुपैयाँ लिन स्थानीय व्यापारीहरूले अनाकानी गर्न थालेपछि पर्यटन व्यवसायसमेत प्रभावित भएको छ ।

जनकपुरधाममा आउने भारतीय पर्यटकहरूले भारतीय रुपैयाँमा कारोबार गर्न खोज्दा व्यवसायीहरूले आनाकानी गर्न थालेपछि उनीहरूले भारतमा नै नेपाली रुपैयाँ साटेर आउन थाले । यसले पनि भारतीय बजारमा नेपाली रुपैयाँ बलियो हुन थालेको गुड च्वाइस ट्राभल्स एन्ड टुर्समा सञ्चालक वीरेन्द्र साहले बताए । उनले भने, ‘नेपालमा भारतीय रुपैयाँ साट्ने समस्या हुने, साटिए पनि कम भाउ हुनेजस्ता समस्याले अहिले व्यापारीहरूले नेपाली रुपैयाँ कारोबार गर्ने गरेको छ ।’

‘नेपालमा भारतीय पाँच सयका नोट नेपालका बैंकहरूले स्वीकार गर्दैनन्,’ जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने, ‘नेपालमा संकलित भारतीय रुपैयाँ साट्न भारतीय बजारमा चोरबाटो भएर जानुपर्ने जोखिम भएकाले नेपालीहरू भारतीय रुपैयाँमा कारोबार गर्न मान्दैनन् । भारतीयहरूले मात्रै जनकपुरधाममा दैनिक १५ लाख भारुसम्म खर्च गर्ने उनको भनाइ छ ।  

 नेपालगन्जमा चल्न छाड्यो भारु 
नेपालगन्ज उपमहानगरपालिका १२, कोरियनपुरका सुनील रेग्मीले रिक्सा चढेबापत दुई सय रुपैयाँ भाडा दिनुपर्नेमा एक हजार रुपैयाँ दिए । रिक्सावालाले भारतीय पाँच सय रुपैयाँ फिर्ता दियो । उनले भारतीय पाँच सयको आठ सय रुपैयाँ सम्झिएर सहजै स्वीकार गरे । सो भारु पाँच सय खर्चन उनी नेपालगन्जका धेरै पसल गए, तर व्यापारीले उक्त नोट लिन मानेनन् । पेट्रोलपम्पले पनि भारतीय रुपैयाँ लिन मानेनन् ।

कुनै सीप नचलेपछि उनी सीमावर्ती भारतीय बजार रुपइडिहा गए । ‘भारती रुपैयाँ दिएपछि खुसी मान्ने नेपालगन्जका व्यापारीहरू अहिले लिन मान्दैनन् । लिए पनि एकदमै कम मूल्य दिन्छन्,’ उनले भने, ‘भारतीय रुपैयाँ नेपालगन्जमा चल्न छाडेको छ ।’ यसअघि एक सय भारतीय रुपैयाँबापत एक सय ६८ रुपैयाँसम्म दिन नेपालका व्यापारी तयार हुन्थे, तर अहिले एक सय भारतीय रुपैयाँको एक सय ५० समेत दिन मान्दैनन् । अहिले भारतीय रुपैयाँ चलाउन मुस्किल पर्ने गरेको नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रकाश डाँगीले बताए । ‘पछिल्लो समय भारतीय रुपैयाँ नेपालमा कमजोर भएको देखिन्छ,’ उनले भने ।

सीमावर्ती बजार रुपइडिहामा सामान किनमेल गर्न जाँदा पनि भारतीय रुपैयाँ कममा लिने गरेको सर्वसाधारण बताउँछन् । पाँच सय भारतीय रुपैयाँलाई रुपइडिहाका व्यापारीले नेपाली रुपैयाँ सात सय ७५ मा लिने गरेको जमुनाह बजारका जावेद हुसैनले बताए । भारतीय व्यापारीले आफ्नो देशको रुपैयाँसमेत कम मूल्यमा चलाउने गरेको जानकारी दिए ।   

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले पछिल्लो समय नेपाली रुपैयाँ बलियो भएको बताए । उनले नेपालगन्जमा भारतीय रुपैयाँले कम मूल्य पाएको स्पष्ट पारे । ‘पहिले एक सय भारतीय रुपैयाँको एक सय ६८ रुपैयाँसम्म दिन्थे, अहिले एक सय ५० सम्म दिन्छन्,’ उनले भने, ‘यो भनेको भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ बलियो भएको मान्न सकिन्छ ।’

व्यवसायी भन्छन्– १५५ मा पनि भारु बिक्न गाह्रो 
नेपाल–भारत सीमावर्ती नेपाली बजारमा भारतीय मुद्रामा कारोबार गर्न व्यवसायीहरू अनिच्छुक देखिएका छन् । सीमावर्ती नेपाली बजार भैरहवा, लुम्बिनी, धकधईलगायतका क्षेत्रहरूमा सहज रूपमा भारतीय मुद्राको कारोबार नभएको व्यवसायीहरूले बताएका छन् । बजारमा सामान खरिदमा पनि व्यवसायीहरूले भारतीय मुद्रा लिन मानेका छैन्न्, मनी चेन्जरमा पनि कारोबार छैन, लुम्बिनी मनी चेन्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेयले भने । ‘बजारमा एक सय ५५ पनि भारु बिकेन भन्छन्, कारोबार शून्य छ,’ उनले भने ।

अहिले नेपाली बजारमा पेट्रोलपम्प, किनारापसललगायतका स्थानमा जाँदा एक सय ५० देखि एक सय ५५ सम्म मूल्य राखेर भारतीय मुद्राको कारोबार गरेको पाइएको छ उद्योग–व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले भने । भारतीय बजारमा नेपाली ग्राहक खरिदका लागि जाँदा पनि नेपाली पैसा माग्ने र भारतीय मुद्रा दिएमा आफ्नै मुलुकमा पनि भारुलाई नेपाली एक सय ५५ मूल्य मानेर नेपाली ग्राहकसँग भारु लिने गरेको पाइएको ज्ञवालीले बताए । ‘कसरी भारतीय मुद्रा यो अवस्थामा छ भन्ने कुराको हामीले बुझ्नै सकेका छैनौँ,’ अध्यक्ष ज्ञवालीले भने ।

ad
ad
ad
ad