१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Saturday, 21 September, 2024
बिआरटी सब चलाउन प्रस्ताव गरिएको सूर्यविनायक–रत्नपार्क सडकको कोटेश्वर–सूर्यविनायक खण्ड । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८o असार १४ बिहीबार १o:o७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा बिआरटी बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार १o:o७:oo

पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म चलाइने, कार्ययोजना बनाउँदै यातायात व्यवस्था विभाग

भनेको वेला सार्वजनिक यातायात नपाउने पाए पनि अत्यधिक जाम र भिडका कारण भक्तपुर–काठमाडौं यात्रा गर्ने सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आइरहेका छन् । निर्धारित भाडा तिर्दा पनि गुणस्तरीय सेवा नपाउँदा यस क्षेत्रका यात्रुले समयको बर्बादी र स्वास्थ्यमा समेत असर परिरहेको गुनासो गरिरहेका थिए । अब यस रुटका यात्रुहरूलाई राहत मिल्ने गरी सरकारले सुधारिएको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १३ किलोमिटर दूरीमा सुधारिएको बस (बस र्‍यापिड ट्रान्जिट) सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयले स्वीकृति दिएको छ । बिआरटी बस सञ्चालनपछि ३५ मिनेटमै यो गन्तव्य पार हुन्छ, हाल यो दूरी पार गर्न डेढ–दुई घन्टासम्म समय लाग्ने गर्छ । 

उपत्यकामा पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको बस सेवा (बस र्‍यापिड ट्रान्जिट) सञ्चालन गर्न सकिने अध्ययनले देखाएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बनेको काठमाडौं उपत्यकामा डेडिकेटेड लेनमा ठूला बस सञ्चालन गर्नेसम्बन्धी अध्ययन कार्यदलले गरेको अध्ययनमा यस्तो देखिएको हो । सरकारले सुधारिएको बस सेवा सञ्चालनका लागि गत ११ वैशाखमा कार्यदल गठन गरेपछि २१ जेठदेखि ५ असारसम्म अध्ययन गरेको थियो ।

अध्ययनमा उपत्यकाको बढी यात्रुको चाप हुने क्षेत्रमा सुधारिएको बस सेवा सञ्चालन गर्न सकिने देखिएको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए । उनका अनुसार ६ असारमा अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा पेस गरिएको थियो । बैठकले उक्त बस सेवा सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको हो । ‘अध्ययन सकेपछि प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन पेस गरिसकेका थियौँ,’ महानिर्देशक भट्टराईले भने, ‘कार्यालयबाट स्वीकृति पाएपछि विभागले थप गृहकार्य गरिरहेको छ ।’ उनका अनुसार स्वीकृतिसहित विभागलाई गृहकार्य गर्न निर्देशन आएको छ । पत्रमा सुरुको चरणमा सूर्यविनायक–रत्नपार्क खण्डमा बस सञ्चालन गर्न अनुरोध गरेको छ । 

उक्त बस सेवा सञ्चालनपछि यात्रुहरू ट्राफिक जाममा नपर्ने, गन्तव्यमा छिटो पुग्ने र सार्वजनिक यातायातप्रति सर्वसाधारणको आकर्षण बढ्ने विश्वास छ । नेपालमा यस्तो सुविधासहितको बस सञ्चालन पहिलो हुनेछ । यसअघि सन् २०१८ मा पनि दु्रत बस सेवा सञ्चालनबारे लगानी बोर्डको टोलीले अध्ययन गरेको थियो  । उक्त अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय, तत्कालीन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतमा बुझाएको थियो  । अध्ययनले द्रुत बस सञ्चालनको सम्भावना देखाए पनि सरकारले बेवास्ता गर्दै आएको थियो । तर, पछिल्लो समय यसबारे प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले प्राथमिकतामा राखेपछि बस सेवा सञ्चालनको सम्भावना बढेको हो । 

के हो बिआरटी ?
सुधारिएको बस सेवा (बिआरटी) अन्तर्गतका बस चल्ने छुट्टै लेन, नियम, टाइमकार्ड, रुट हुन्छ । सरकारले बस र्‍यापिड ट्रान्जिटको नियम लागू गरेपछि यातायात व्यवस्था विभागबाट अनुमति लिएर निजी बस कम्पनीले सञ्चालन गर्न सक्नेछन् । यस नियमअनुसार ‘प्रायोरिटी सिग्नलिङ सिस्टम’मा बस सञ्चालन गरिन्छ । यस्ता बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् । उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६०–९० सेकेन्ड तोकिनेछ  । यदि नियम उल्लंघन गरे कारबाही हुनेछ  । यी बसको निगरानी भने ट्राफिक प्रहरीले गर्न सक्छन्  ।

सर्भिस लेनमा बिआरटी बस चलाउन सकिने
यो प्रणालीअन्तर्गत बस सञ्चालनका लागि अध्ययन कार्यदलले हालकै सर्भिस लेन प्रयोग गर्न सकिने सुझाव दिएको छ । प्रधानमन्त्री कार्यालयले अनुमति दिएपछि विभागले विज्ञसहितको टोलीलाई भाडा निर्धारण, बस संख्या र रुटको निर्क्योल, लेन मार्किङ, बसको मापदण्ड बनाउन जिम्मेवारी दिएको छ ।

यातायातविज्ञ आशिष गजुरेलले नेपालमा बिआरटी बस सेवा सञ्चालन हाउगुजी मात्रै नबनोस् भनेर कामना गरे । ‘डेडिकेटेड लेनबाट चलाइने यस्तो बस सेवा सहरी क्षेत्रका लागि अपरिहार्य छ,’ उनले भने, ‘अन्य देशमा यस्तो अभ्यास छ र यसलाई नेपालमा पनि सञ्चालन गर्न सकिन्छ । त्यहीअनुसारको ट्राफिक नियम डिजाइन गर्न सकिन्छ ।’ सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्न ३५ मिनेट लाग्ने कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार सुरुमा ५–१० वटा बस यो नियममा सञ्चालन गर्ने तयारी छ । यसको माग, प्रभावकारिता र सहजता देखिए बस थप गरिनेछ । 

भइरहेकै बसलाई मापदण्ड बनाएर सञ्चालन गरिने 
यो सेवाका लागि सरकारले तत्काल नयाँ बस नकिन्ने र हाल सञ्चालनमै रहेका बसलाई यो नियमअनुसार चलाउने योजना अघि सारेको छ । विभागले पनि उपत्यकामा गुड्ने, सुविधायुक्त बस व्यवसायीहरूसँग छलफल गरिरहेको छ । साझा, महानगर, मयूरजस्ता बसलाई यो नियमअनुसार सञ्चालन गर्न सजिलो हुने विभागको अनुमान छ । ठूला बसहरूलाई यो नियममा हिँड्न प्रोत्साहन गरिनेछ । सडकमा फरक नियमसहित गुड्न पाउने भएकाले बस कम्पनीहरू यसमा आकर्षित हुने विभागको भनाइ छ । यस किसिमको बस सेवा सञ्चालनका लागि सडक तथा यातायात पूर्वाधार पनि फरक चाहिन्छ  । बस पनि ठूला र दुवैतर्फ ढोका भएका आवश्यक हुन्छन् । तर, पहिलो चरणमा भइरहेकै सडकको लेन मार्किङ गरेर र भइरहेकै बसलाई प्रयोग गरेर यस्तो बस सेवा सञ्चालन गरिनेछ ।