१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शान्ति मिसनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थानमा

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१४:oo

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै महिला पठाउने मुलुकमध्ये नेपाल पहिलो स्थानमा उक्लिएको छ । यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ । शान्ति मिसनमा १२१ देशले सुरक्षाकर्मी पठाउने गरेका छन्, समग्रमा भने नेपाल दोस्रो स्थानमा छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट हाल विभिन्न देशमा ६५१ जना महिला शान्ति स्थापनार्थ खटिएका छन् । नेपाली सेनाबाट ६०१, नेपाल प्रहरीबाट १४ तथा सशस्त्र प्रहरीबाट ३६ जना शान्ति मिसनमा खटिएका छन् । दुई साताअघि मात्र नेपालले शान्ति मिसनमा सबैभन्दा धेरै महिला सहभागी गराउने उपलब्धि हासिल गरेको हो । राष्ट्रसंघले शान्ति मिसनमा महिलाको संख्या बढाउने नीतिका कारण पनि यसरी संख्या बढेको अधिकारीहरू बताउँछन् । 

यो उपलब्धि देशकै लागि पनि प्रतिष्ठाको विषय भएको र राष्ट्रसंघले समेत नेपालको प्रशंसा गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । गत साता काठमाडौंमा सम्पन्न ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संगोष्ठी’ कार्यक्रममा राष्ट्रसंघका उपमहासचिव अतुल खारेले नेपालको प्रशंसा गरेका हुन् । महिला शान्ति सैनिकलाई दुर्गम ठाउँमा पुगेर काम गर्न चुनौतीपूर्ण हुने भएकाले त्यसलाई थप सहज बनाउन राष्ट्रसंघले छलफल थालेको उनको भनाइ थियो । 

हाल राष्ट्रसंघले द्वन्द्वग्रस्त देशमा १२ वटा शान्ति मिसन सञ्चालन गरिरहेको छ । जहाँ एक सय २१ देशका ७५ हजार चार सुरक्षाकर्मी कार्यरत रहेको राष्ट्रसंघको शान्तिसेना विभागको तथ्यांक छ । त्यसमध्ये शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउने देशमा नेपाल दोस्रो स्थानमा छ । एक सय २१ देशमध्ये महिलाको संख्यामा नेपाल पहिलो हुँदा एकातर्फ यसले देशको प्रतिष्ठा बढेको र अर्काेतर्फ राष्ट्रसंघले समेत नेपाललाई भावी दिनमा शान्ति मिसनमा थप प्राथमिकता दिने सैनिक अधिकारीहरू बताउँछन् । 

कुन देशमा कति छन् ?
हाल राष्ट्रसंघले द्वन्द्वग्रस्त देशमा १२ वटा शान्ति मिसन सञ्चालन गरिरहेको छ । जहाँ १२१ देशका ७५ हजार चार सुरक्षाकर्मी कार्यरत रहेको राष्ट्रसंघको शान्तिसेना विभागको तथ्यांक छ ।

नेपाली सेनाबाट हाल ५६८ जना कन्टिन्जेन्ट मिसनमा तथा बाँकी ३३ जना महिला सैनिक पर्यवेक्षक तथा स्टाफ अफिसरका रूपमा कार्यरत छन् । दक्षिण सुडानमा मात्र नेपाली सेनाबाट एक सय ७२ जना महिला शान्ति स्थापनार्थ खटिएका छन् ।

त्यस्तै, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा एक सय १०, कंगोमा ९५, लेबनानमा ८४, सिरियामा ५१, लिबियामा २४ र मालीमा १७ जना छन् । सुडान र दक्षिण सुडानबीचको विवादास्पद भूमि अबेयमा १० तथा इराक र वेस्टर्न सहारामा एक–एक महिला सैनिक कार्यरत छन् । अन्य ३६ जनालाई तयारी ड्युटीमा राखिएको सेनाको तथ्यांक छ । सामान्य सेवातर्फ नेपाली सेनामा ०६२ देखि मात्र महिलालाई लिन थालिएको हो । नेपाली सेनामा महिलाले ढिलो अवसर पाए पनि छोटो अवधिमै उनीहरूले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेका छन् । 

सशस्त्र प्रहरीको एफपियू मिसनमा ३२ तथा अन्य चारजना अनपोल मिसनमा कार्यरत रहेका छन् । नयाँ मिसन मालीमा जाने प्रक्रियामा रहेको र त्यससँगै महिलाको संख्या थप बढ्ने सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्का बताउँछन् ।

त्यस्तै, नेपाल प्रहरीबाट भने अनपोल मिसन मात्र भएकाले १४ जना नै प्रहरी अनपोल मिसनमा छन् । हवल्दारदेखि एसएसपीसम्मका महिला प्रहरी हाल शान्ति मिसनमा कार्यरत रहेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । नेपाल प्रहरीबाट जम्मा ५० जना मात्र मिसनमा कार्यरत छन् । प्रहरीको सबै एफपियू मिसन बन्द भएकाले संख्या न्यून भएको हो । 

राष्ट्रसंघका उपमहासचिव खारेद्वारा नेपालको प्रशंसा
गत साता काठमाडौंमा सम्पन्न ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संगोष्ठी’ कार्यक्रममा महिला सुरक्षाकर्मी पठाउने देशमा पहिलो भएको भन्दै राष्ट्रसंघका उपमहासचिव अतुल खारेले नेपालको प्रशंसा गरेका हुन् । महिला शान्ति सैनिकलाई दुर्गम ठाउँमा पुगेर काम गर्न चुनौतीपूर्ण हुने भएकाले त्यसलाई थप सहज बनाउन राष्ट्रसंघले छलफल थालेको उनको भनाइ थियो । 

ad
ad