समृद्धि फाइनान्स कम्पनी लिमिटेडले सिराहाको धनगढीमाई नगरपालिकाको कसहा बजारमा आफ्नो ११औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र संस्थाका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटनपछि मेयर महतोले नगरपालिकाको विकासशील बजारका रूपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नरहेको अवस्थामा अब बैंकिङ सेवा–सुविधाका लागि गोलबजार र धनगढी बजार जानुपर्ने दुःखबाट मुक्त भएको बताए ।
उक्त ठाउँका जनता अधिकांश कृषक रहेको तथा उनीहरू कतिपयलाई बैंकिङ सेवा लिने सम्बन्धमा जानकारीसमेत नभएकाले कर्मचारीहरूले थप सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो । नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा–सुविधाबारे जानकारी दिएका थिए ।