१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
अनिल यादव काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

रास्वपा गठनको एक वर्ष : सभापति रवि लामिछानेले भने– जनता परिवर्तनका लागि तयार भएको संकेत गरेको छ

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:४१:oo

संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको पहिलो वर्षगाँठ मनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा वार्षिकोत्सवका अवसरमा चियापान कार्यक्रम आयोजना गरियो । चियापानमा प्रमुख दलका शीर्ष नेता सहभागी भएका थिए ।

रास्वपाले नयाँ खुलेको ६ तलाको पार्टी कार्यालयमै चियापान आयोजना गरेको थियो । चियापानमा प्रधानमन्त्रीदेखि सबै राजनीतिक दलका नेता, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिलाई बोलाइएको थियो । चियापानमा नेतादेखि कलाकारसम्मको उत्साहजनक सहभागिता थियो । कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले शुभकामना दिन आएकाजति सबै शीर्ष नेतालाई कार्यालयको ढोकासँगै रहेको घन्टी बजाउन आग्रह गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरेलगायत नेताले लामिछानेको आग्रहपछि घन्टी बजाएका थिए ।

चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, राप्रपा नेपालका अध्यक्ष कमल थापा, लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी भएका थिए । त्यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ लामिछाने, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत शुभकामना दिन पुगेका थिए । कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले सचिव योगेश भट्टराई र गोकर्ण विष्ट, नेता ठाकुर गैरे, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत पनि पुगेका थिए । कलाकारहरूको उल्लेख्य उपस्थिति थियो । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दीपकराज गिरी र दीपाश्री निरौलाले रास्वपालाई सफलताको शुभकामना दिए । लामिछानेले गत वर्ष ७ असारमा राष्ट्रिय सभागृहबाट रास्वपाको घोषणा गरेका थिए । निर्वाचन आयोगमा भने १७ असारमा मात्रै दल दर्ता भएको थियो । 

चियापानअघि आयोजित पत्रकार सम्मेलनमा रास्वपा सभापति लामिछानेले यसपटक नेपाली जनताले मतपत्रमार्फत परिवर्तनको मत जाहेर गरेको बताएका थिए । रास्वपालाई मत दिएर नेपाली जनताले परिवर्तनका लागि तयार भएको संकेत गरेको उनको भनाइ थियो । ‘यो एक वर्ष नेपाली जनताले आशा र भरोसाका रूपमा हेरेको यात्राका रूपमा पाएको छु,’ उनले भने, ‘सुरुवात गर्दा विश्वास त थियो, तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यति हेक्का थिएन । समाजले परिवर्तन खोजेको जानकारी त थियो, तर साँच्चै परिवर्तनका लागि तयार नै रहेछन् भन्नेचाहिँ मतपत्रबाट जाहेर भयो । अब घन्टी बजिसकेको छ ।’ यद्यपि, पार्टीलाई आमनागरिकसम्म पु¥याउनु र बुझाउनु रास्वपाको अहिलेको चुनौती रहेको उनले बताए । ‘हामी आमनागरिकसम्म पुग्नुपर्नेछ,’ उनले भने, ‘हाम्रो विचार र नीति आमनागरिकलाई बुझाउनुपर्नेछ । प्रतिबद्ध समूह राजनीतिक दलका रूपमा आयो भन्ने त थाहा भयो । तर, संगठनलाई ठूलो बनाएर परिणामुखी बनाउनुपर्ने चुनौती छ । यद्यपि, कठिन भए पनि हामी गन्तव्यमा पुग्छौँ भन्ने लागेको छ ।’

काठमाडौं महानगरका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङको पार्टी प्रवेशको सम्भावनाबारे सोधिएको जिज्ञासामा लामिछानेले त्यो आफूहरूको चाहना भएको र सफल हुन सकेमा खुसी हुने बताए । ‘हाम्रो चाहना त छँदै छ,’ उनले भने, ‘त्यो चाहनाअनुरूप उहाँहरूले पनि सोचिदिनुभयो भने हामी सय प्रतिशत सकारात्मक छौँ । सम्बन्धका हिसाबमा पनि सौहार्दपूर्ण नै छ । उहाँहरूको कामका हिसाबले पनि निरन्तर रूपमा प्रशंसा गरेकै छु । चुनावदेखि नै राम्रा कामको खुलेर समर्थन गर्दै आएको छु ।’ स्थापना दिवसकै दिन पूर्वबैंकर अनिलकेशरी शाहलगायत केही व्यक्ति पार्टी प्रवेश गरेका थिए । शाहलाई रास्वपा प्रवेशलगत्तै प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । 

बाबुरामले भने– ०८४ मा नयाँ दलको सरकार बन्छ
रास्वपाको चियापानमा पुगेका शीर्षस्थ नेताहरूले मिडियासँग खासै खुलेर बोलेनन् । तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने रास्वपाको उदयले आफू खुसी भएको बताए । रास्वपाको नाम नलिए पनि उनले खुलेरै ०८४ को निर्वाचनमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताए । ‘रास्वपा अगाडि आएकोमा अत्यन्त खुसी छु । बहुदलीय लोकतन्त्रमा विचारहरू फरक हुन सक्छन्, प्रतिस्पर्धा हुन्छन्, फेरि पनि नेपालले चाहेको नयाँ नै हो, अग्रगमन नै हो,’ उनले भने, ‘त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासन समृद्धिको दिशातिर लिएर जान यो पार्टीले सफलता प्राप्त गर्न सकोस्, मेरो पूर्ण सद्भाव र शुभकामना छ । ०८४ को चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ भन्दिनँ । नयाँ दलको सरकार बन्छ । कांग्रेस, एमाले, माओवादीबाहेकको दलको सरकार बन्छ ।’

ad
ad