१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Friday, 05 July, 2024
२o८o असार ७ बिहीबार १९:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमालेले प्रचार सञ्जाललाई पालिका र वडासम्म विस्तार गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार १९:३६:oo

नेकपा एमालेले प्रचार शैलीलाई आधुनिक र प्रविधिमैत्री बनाउने गरी पालिका हुँदै वडा तहसम्म प्रचार सञ्जाल विस्तार गर्ने भएको छ। 

केन्द्रीय सचिवालय र केन्द्रीय प्रचार विभागसँग प्रत्यक्ष रूपमा जोडिने गरी प्रदेश, जिल्ला, पालिका हुँदै एमालेले वडासम्म प्रचार सञ्जाल बनाउने कार्ययोजना बनाएको हो।

केन्द्रीय प्रचार विभागको बिहीबारको बैठकले नयाँ प्रचार कार्ययोजना कार्यान्वयनमा लैजाने गरी प्रस्ताव बनाएको र केन्द्रीय सचिवालयले पारित गरेपछि कार्यान्वयनमा आउने केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले बताए। 

‘सोसल मिडियाको उपयोग र व्यवस्थापन, मिडियामार्फत पार्टी प्रचार प्रभावकारी बनाउने गरी कार्ययोजना बनाइएको छ,’ विष्टले भने, ‘सचिवालयबाट पास भएपछि त्यसलाई पालिकासम्म प्रचार विभाग र वडामा प्रचार प्रतिनिधि बनाएर कार्यान्वयनमा लगिनेछ।’

विभागको बैठकमा कार्यबाहक महासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल र केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले केन्द्रसँग प्रत्यक्ष जोडिएर अहिलेको नयाँ चुनौती सामना गर्ने गरी प्रचार सञ्जाललाई वडा तहसम्म सञ्जाल बनाएर विस्तार गर्न निर्देशन दिए।

‘अहिले हामीविरुद्ध चौतर्फी हमला छ। प्रोपोगान्डा वार नै हामीविरुद्ध भइरहेको छ,’ कार्यबाहक महासचिव ज्ञवालीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘सामाजिक मुद्दामा सही ढंगले प्रस्तुत भएर जनताको मुद्दा बोकेर हिँड्ने काममा हामीले सबै तहमा भूमिका खेल्नुपर्छ।’ 

उनले पार्टीले प्रचार, जनसंगठन र स्कुलको कामलाई पहिलो प्राथमिकतामा राखेकाले त्यसअनुसार योजनाबद्ध रूपमा अगाडि बढ्नसमेत निर्देशन दिएका थिए। 

त्यस्तै, उपमहासचिव रिमाल र प्रचार विभाग प्रमुख गौतमले बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै न्यू मिडिया र विभिन्न प्रकारको सामाजिक सञ्जालको प्रयोग गरेर हरेक तहबाट पार्टीले गरेका राम्रा कामको प्रचार र विपक्षीको भ्रम चिर्ने तथा प्रतिरक्षाको कामलाई तलसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। 

बैठकमा सातवटै प्रदेशका प्रचार विभाग हेर्ने केन्द्रीय सदस्य र प्रचार विभागका पदाधिकारी र सदस्य सहभागी थिए। 

३० वैशाखमा सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले प्रचार र सूचना प्रवाहको कामका सोसल मिडियाको सदुपयोग गर्ने, सबै प्रकारका सोसल मिडियामा सम्बन्धित तहको पार्टी कमिटी र पार्टीसम्बद्ध जनसंगठनहरूले सञ्जाल निर्माण गर्ने, सोसल मिडियाको लागि एकद्वार प्रणालीको विकास गर्ने, प्रचारको वैकल्पिक योजना तयार पार्नेजस्ता वार्षिक कार्ययोजना पास गरेको थियो। 

त्यही कार्ययोजनालाई एमाले केन्द्रीय प्रचार विभागले कार्यान्वयन गर्ने गरी योजना अगाडि बढाएको हो। एमालेले मिसन ग्रासरुटका क्रममा चुनाव हार्नुका कारणहरूमध्ये प्रचार–प्रसार शैली परम्परागत हुनु र योजनाबद्ध हुन नसक्नु, घरदैलो कार्यक्रम सघन र प्रभावकारी बन्न नसक्नु, मौन अवधिलाई नतिजामूलक रूपमा उपयोग गर्न नसक्नु, विपक्षीका रणनीतिलाई समयमै पत्ता लगाउन र चिर्न नसक्नु तथा सामाजिक सञ्जाललगायत आधुनिक सञ्चारको प्रभावकारी उपयोगमा कमजोरी देखिनुजस्ता कारण औँल्याएको थियो। 

त्यस्तै, पार्टीका जनप्रतिनिधिहरूले गरेका जनमुखी कामको प्रभावकारी प्रचार गर्न नसक्दा त्यसको स्वामित्व अर्कैले ग्रहण गर्न पुग्नु, निर्वाचनपश्चात् आमजनतासँगको सम्पर्क सम्बन्धलाई नियमित गर्न नसक्नु, पार्टीका जनप्रतिनिधिहरूका निर्णय वा पहलमा हुने विकास निर्माणका काममा पार्टी कार्यकर्ताको सहभागिता न्यून हुनु, पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरूको सामाजिक सम्पर्क र सम्बन्ध कमजोर हुँदै जानुजस्ता कमजोरी औँल्याएको थियो । 

यिनै कमजोरीहरूका आधारमा एमालेले वडा तहसम्म केन्द्रीकृत रूपमा प्रचार योजना कार्यान्वयनमा लैजाने तयारी गरेको हो। 

ad
ad
ad
ad