नेतृत्वमा रूपान्तरणको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संगठन चलायमान बनाउने रणनीतिसहित सक्रियता बढाएका छन् । नियुक्तिमा सक्रियता देखाएका देउवाले सिंगापुरबाट फर्केलगत्तै थाती रहेका काम सक्ने योजना बनाएको निकट नेताहरू बताउँछन् ।
विदेशबाट फर्केपछि देउवाले नीति अधिवेशनको घोषणादेखि नक्कली शरणार्थी प्रकरणमा जोडिएका बालकृष्ण खाणलाई केन्द्रीय सदस्यबाट निलम्बनसम्मको तयारी गरेका छन् । साथै, केन्द्रीय समिति बैठकअघि भ्रातृ संस्थाका तदर्थ समिति, विभाग गठन र बाँकी नियुक्तिको टुंगो लगाउने देउवाको तयारी छ ।
एक पदाधिकारीका अनुसार देउवा दबाब कम गर्न र इतरको असन्तुष्टि साम्य बनाउने मनस्थितिमा छन् । ‘अदालतको आदेश पर्खनुभएको थियो, अब केन्द्रीय समिति बैठकबाट बालकृष्ण खाणलाई निलम्बन गर्ने मनस्थितिमा हुनुहुन्छ,’ ती पदाधिकारीले नयाँ पत्रिकासँग भने । खाणलाई निलम्बनका लागि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित इतर समूहका नेताले दबाब दिँदै आएका छन् ।
पूर्णबहादुर खड्का, उपसभापति, कांग्रेस
असार मसान्तभित्र केन्द्रीय समिति बैठक सम्पन्न गर्नेछौँ, जहाँबाट नीति अधिवेशनको मिति तय गर्नेछौँ । यसका लागि आवश्यक गृहकार्य भइरहेको छ ।
उपसभापति पूर्णबहादुर खड्काले असार मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक सक्ने गरी तयारी भएको बताइसकेका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशन उद्घाटनमा खड्काले बैठकबाट नीति अधिवेशनको टुंगो लगाउन लागिएको बताएका थिए । ‘असार मसान्तभित्र केन्द्रीय समिति बैठक सम्पन्न गर्नेछौँ, जहाँबाट नीति अधिवेशनको मिति तय गर्नेछौँ,’ खड्काको भनाइ थियो, ‘यसका लागि आवश्यक गृहकार्य भइरहेको छ ।’
३० जेठमा पेटसम्बन्धी समस्याको नियमित फलोअफका लागि सिंगापुर गएका छन् । स्वदेश फर्किएसँगै नेविसंघ, तरुण दलसहितका भ्रातृ संस्थाको तदर्थ समितिलाई पूर्णता दिने र विभाग गठनलगायत काम गर्ने र र केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको निकट नेता बताउँछन् ।
स्रोतका अनुसार पछिल्लो समय सभापति देउवाले इतर समूहलाई समेत व्यवस्थापन गर्ने गरी काम गरिरहेको नेताहरू बताउँछन् । पछिल्ला केही नियुक्तिमा कांग्रेसमा असन्तुष्टि छैन ।
कांग्रेसलाई सुस्त बनाएको र एकलौटी कार्यशैली अपनाएको आलोचनापछि सभापति देउवाले पछिल्लो समय विधानले दिएको भूमिका पूरा गर्न थालेका छन् । उनले अहिले लामो समय थाती रहेका काम र नियुक्तिमा जोड दिएका छन् ।
२२ वैशाखमा डा. मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरे । इतर समूहका रिजाल देउवाको आलोचकका रूपमा चिनिन्थे । १४औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीमा रिजाल पराजित भएका थिए । उनले पराजयपछि रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता रिजाल पार्टीमा भूमिकाविहीन थिए ।
उनलाई केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने आवाज इतर समूहबाट उठ्दै आएको थियो । तर, रिजाल निरन्तर देउवाको बेवास्तामा पर्दै आएका थिए । उनलाई गत निर्वाचनमा देउवाले सांसदको टिकटसमेत दिन मानेका थिएनन् । इतर समूहलाई साम्य बनाउन देउवाले रिजाललाई नियुक्त गरेका थिए ।
१२ जेठमा उनले पनि देउवाले महाधिवेशनको डेढ वर्षपछि विभागको काम थालेका थिए । महाधिवेशनपछि पहिलोपटक २८ विभागमध्ये सूचना, सञ्चार तथा प्रचार विभागमा मीन विश्वकर्मालाई संयोजक बनाए । विधानमा महाधिवेशनको ६ महिनाभित्र केन्द्रीय विभाग गठन गर्नुपर्ने व्यवस्था रहेको थियो । २७ विभागमा भने संयोजक तोकिएका छैनन् ।
त्यस्तै, ३० जेठमा भ्रातृ संस्थामा तदर्थ समितिको संयोजक मात्रै तोकिएको नेपाल महिला संघमा ५२ जनालाई नियुक्त गरे । प्रचार विभागमा देउवाले बिहीबार ३९ सदस्य मनोनीत गरेका छन् । यसबाहेकका भ्रातृ संस्थाका तदर्थ समितिलाई पनि पूर्णता दिने तयारीमा देउवा छन् ।