१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
राज कार्की
२o८१ बैशाख २० बिहीबार १o:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

परम्परागत टेलरिङ व्यवसायको आधुनिकीकरण जरुरी

टेलरिङ व्यवसाय अहिलेसम्म पुरानै मेसिन र परम्पराका आधारमा चलेको छ, यसलाई आधुनिक प्रविधिको प्रयोगमार्फत व्यवस्थित बनाएर लैजानुपर्छ

Read Time : > 2 मिनेट
राज कार्की
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o२:oo

एक दशकदेखि म टेलरिङ व्यवसायमा आबद्ध छु । आफ्नो अनुभवसहित यस पेसालाई एक स्थापित व्यवसाय बनाउनु मेरो कर्तव्य हो भन्ने सम्झिन्छु । तसर्थ, टेलरिङ व्यवसायलाई सरकारले आधुनिकीकरण गर्नका लागि विभिन्न सुविधा, छुट, सहुलियत दिनुपर्छ । केही मुुलुकमा टेलरिङ व्यवसाय उद्योगका रूपमा स्थापित भएको पाइन्छ । बिडम्बना, हाम्रो देशको सरकारले यस क्षेत्रलाई सामान्य पेसाका रूपमा लिएको छ ।

यो सीपसँग जोडिएको पेसा भएकाले यसमा आबद्ध हुन आउने व्यक्तिको आर्थिक विकास, व्यक्तित्व विकाससँगै सहजै आफ्नो आवश्यकता पूरा गर्न सकिने ठोकुवा गर्न सकिन्छ । विश्वमा जो सीपसँग जोडिएका पेसा छन्, तिनले छलाङ मारेको देखिन्छ । नेपालमा पनि आमसोचाइमा र रोजाइमा परेका विषयमा (डाक्टर, इन्जिनियर, पाइलट) यी र यीसँग सम्बन्धित विषय परेका छन् । तर, सीपमा आधारित टेलरिङ व्यवसाय न कुनै स्कुल, न कलेज, विश्वविद्यालयका कुनै पनि पाठ्यक्रममा समावेश गरिएको छैन । यदि यो विषयलाई सरकारले गम्भीरतापूर्वक नियाल्ने र बुझ्ने हो भने विदेश पलायन हुने युवाको संख्यामा कमी ल्याउन सकिन्थ्यो । यस क्षेत्रमा ठूलो सम्भावना देखेपछि युवाहरूको आकर्षण बढ्न सक्छ । 

एक दशकमा मैले सँगालेको अनुभवका आधारमा के भन्न सक्छु भने यो पेसामा दक्ष जनशक्ति ल्याउनुपर्छ । नेपालमा टेलरिङ व्यवसाय अहिलेसम्म परम्परागत अर्थात् गाउँदेखि सहरसम्म पुरानै मेसिन र परम्पराका आधारमा चलिरहेको छ । यस पेसालाई आधुनिक प्रविधिको प्रयोगले अझ व्यवस्थित बनाएर लैजानु अपरिहार्य बनिसकेको छ । 

यतिवेला देशमा आर्थिक संकट चुलिएको छ । नेपालमा कपडा व्यवसायको क्षेत्रमा भारतबाट ठूलो मात्रामा कामदार ल्याउनुपर्ने बाध्यता छ । नेपालमै दक्ष जनशक्ति उत्पादन भइदिए अन्य देशबाट कामदार झिकाउनुपर्ने बाध्यता आइलाग्दैनथ्यो । र, हाल कामदारलाई तिर्नुपरेको ठूलो रकम पनि बिदेसिने थिएन । देशमै नेपालीले आम्दानी गर्ने बाटो खुल्थ्यो । केही हदसम्म देशको अर्थतन्त्रमा टेवा पुग्थ्यो । 

नेपालमा टेलरिङ क्षेत्रको सम्भावना विशाल छ । तैपनि, अन्य पेसाको तुलनामा यो क्षेत्र अझै पनि राज्यको नजरमा परेको छैन । यस क्षेत्रसँग सम्बन्धित उद्यमीलाई सिटिइभिटीमार्फत सरकारले दिइरहेको तालिम सही उद्यमीलाई दिने हो भने यो क्षेत्रको उन्नति र विकासमा ठूलो परिवर्तन आउनेमा शंका छैन । तर, यस विषयमा सम्बन्धित नभएका उद्यमी तथा अन्य व्यक्तिले पहु“चका आधारमा तालिम लिइरहेको पाइन्छ । यो विडम्बना देख्दा मन चसक्क हुन्छ । 

सरकारले यस पेसामा लाग्न चाहनेलाई सीपमूलक तालिम प्रदान गर्नुका साथै आवश्यक प्राविधिक सहयोग गर्नुपर्छ । त्यसो गर्न सकेमा केही हदसम्म बेरोजगारी समस्या पनि सम्बोधन हुन सक्छ । 

लामो समयदेखि यही पेसासँग जोडिएकाले यसको भविष्यप्रति अवश्य चिन्ता बढ्छ । यस क्षेत्रको उत्थानमा त्यति चासो र चिन्ता नदिएको देख्दा संघीय सरकार र स्थानीय सरकारप्रति वितृष्णा जाग्छ । आफ्नो लगानी र यस पेसामा विरासत भएका आमउद्यमीमा झन्झन् निराशा थपिएको महसुस हुन्छ । यो एउटा विशाल सीपमूलक उद्योग हो भन्ने कुरामा राज्य चिन्तित हुने कि नहुने ? कुनै पेसामा आबद्ध व्यवसायीमा सीपसँगै आर्थिक परिवर्तन सम्भव भएको कुरा हामी विभिन्न विदेशी मुलुकबाट सिक्न सक्छौँ । सीपविनाको शिक्षा, सीपविनाको व्यक्ति र सीपविनाको समाजमा परिवर्तन सम्भव हुँदैन ।

समाजमा डाक्टर, इन्जिनियरजस्ता पेसा महत्वको विषय बने । त्यसको जरो भनेको सीपमूलक पेसा भएर हो । शिक्षा भनेको सीपमूलक हुन जरुरी छ । टेलरिङ विषय पनि ठूलो उद्योगको रूपमा स्थापित हुन सक्छ । अहिले फेसन प्रतिष्ठाको विषय बनेको छ । यसलाई गहिरो अध्ययन, अनुसन्धानको विषय बनाइनुपर्छ । 

टेलरिङ व्यवसायलाई सूचना प्रविधिका माध्यमबाट अझ व्यापक रूपमा लैजान सकिन्छ । डिजिटल मेजरमेन्ट, डेलिभरीलाई अपनाएर उपभोक्ताको आवश्यकतालाई सहज रूपमा पूर्ति गर्न सकिन्छ । विभिन्न खालका औजार किन्दा राज्यले छुट दिनुका साथै छिमेकी मुलुकसँग हामीले सीप आदानप्रदान गर्नु पनि उत्तिकै जरुरी छ । साथै, राज्यले ५० लाखदेखि ६ करोड रुपैयाँसम्म व्यवसाय गर्नेलाई अनुगमन नगरी वार्षिक एकमुष्ठ कर तिर्ने व्यवस्था गरिदिए युवा र यस पेसामा लाग्ने व्यवसायीहरूलाई थप उत्साह मिल्न सक्छ । यो पेसामा लाग्न स्थानीयस्तरमा ल्याब सुरु गर्नुपर्छ भने दक्ष सिलाइ गर्ने जनशक्ति उत्पादनार्थ सरकारले प्रदेशस्तरीय तालिम केन्द्र आधुनिक प्रविधिबाट निर्माण गर्नुपर्छ । यसमा लाग्न चाहनेलाई उत्साहित गर्न विदेशबाट फर्केर आउनेलाई सहुलियत कर्जा उपलब्ध गराउन सके अझै उत्तम हुन्छ ।

युवा भनेका देशका मेरुदण्ड हुन् । देशको अर्थतन्त्र बलियो बनाउन युवाको ठूलो हात रहन्छ । अहिले परदेशमा पसिना बगाउने युवाले पठाएको रेमिट्यान्सका भरमा हाम्रो देशको अर्थतन्त्र चलिरहेको छ । विडम्बना, त्यही वर्ग सबैभन्दा हेलामा छ । घर छोडेदेखि घर फर्किंदासम्म विभिन्न ठाउँमा अपमान र अवहेलना कति सहनुपर्छ, त्यसको लेखाजोखा नै छैन । देशमा ठूला उद्योग, कलकारखाना खुल्ने सम्भावना कमै देखिन्छ । भएकै उद्योग बन्द हुने अवस्थामा छन् । 

यस्तो विषम परिस्थितिमा स्वदेशमै रहेका युवालाई तालिम प्रदान गरेर कसरी आयआर्जनमा लगाउन सकिन्छ ? देशको अर्थतन्त्रलाई कसरी मजबुत बनाउन सकिन्छ ? यतातर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । स्थानीयस्तरमा सरकारले यस पेसामा लाग्न चाहनेलाई तालिम प्रदान गर्नुका साथै आवश्यक प्राविधिक सहयोग गर्नुपर्छ । त्यसो गर्न सकेमा केही हदसम्म बेरोजगारी समस्यालाई सम्बोधन गर्न सकिन्छ । यस पेसाबाट आयआर्जन गरेर जीवनयापन गर्न सकेमा धेरैका लागि यसले सकारात्मक सन्देशसमेत जान्छ । यसैगरी, स्थानीय सरकारले यस पेसामा आबद्ध व्यवसायीहरूबाट निश्चित कर उठाएर राजस्व उठाउन सक्छ । स्थानीयस्तरमा युवाले रोजगारी पाउनुका साथै सरकारले उनीहरूबाटै राजस्व उठाएर आयआर्जन पनि गर्न सक्छ । 

(कार्की नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष हुन् )

ad
ad