एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअघि ग्लोबल छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई दुई विकेटले हराएको छ । जिम्बावेको हरारे मैदानमा पहिलो ब्याटिङ गरेको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले ४४.५ ओभरमा आठ विकेटको क्षतिमा २७४ रन जोड्यो । आइसिसीले विश्वकप ग्लोबल छनोटअघि अभ्यास खेलको प्रबन्ध गरेको थियो । अघिल्लो खेलमा नेपाल युएईसँग पराजित भएको थियो ।
ओपन कुशलको शतकीय इनिङ्स
दक्षिण अफ्रिका भ्रमणमा रहँदा नेपालको ब्याटिङ र बलिङ कमजोर रह्यो । युएईसँगको अभ्यास खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्यो । दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाली ब्याट्सम्यान लयमा देखिए । ओपनर कुशल भुर्तेलले नेपालको जितमा सानदार शतकीय इनिङ्स खेलेका थिए । रिटायर्ड हट हुनुअघि कुशलले ९४ बलमा १०१ रन बनाए । उनले १३ चौका र दुई छक्का प्रहार गरेका थिए । कुशल ३२.३ ओभरमा रिटायर्ड हट भएका थिए । उनले क्रिजमा एक सय १७ मिनेट बिताए ।
कुशलले दोस्रा ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । आसिफले २४ बलमा चार चौकाको सहयोगमा २३ रन बनाए । त्यसपछि कुशलले भीम सार्कीसँग दोस्रो विकेटका लागि ११५ रनको बलियो साझेदारी गर्दै नेपाललाई ३०.६ ओभरमा १८६–२ को बलियो स्थितिमा राखे । भीमले ५६ रनको योगदान दिए । उनले ७४ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । शतकीय इनिङ्स खेलेपछि उनले क्रिज छाडे ।
मध्य र पुछारका कमजोर
शीर्ष चार ब्याट्सम्यानले बलियो सुरुवात र साझेदारी गरेको पिचमा नेपालका मध्यक्रम ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । पुछारका चार ब्याट्सम्यानले समग्रमा ८ रन जोडे । दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । दीपेन्द्र इनिङ्सको ३७.५ ओभरमा आउट हुनुअघि २२ बलमा २६ रन बटुले । उनले आफ्नो इनिङ्समा तीन चौका प्रहार गरे । कप्तान रोहितले २८ बलमा दुई चौका प्रहार गरी ३१ रन जोडे । कुशल मल्लले १९ बल खेल्दै १७ रन बनाए । बलिङका क्रममा ओमानका बलाल खानले ४५ रनमा दुई विकेट लिए । आयान खानले ६६ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे ।
कप्तान मक्सुदका शतक
ओमानको ब्याटिङमा दुई ब्याट्सम्यान मात्र चम्केका थिए । नेपाली बलरले सुरुवात दमदार गरेका थिए । इनिङ्सको ६.२ ओभरमा ओमानले चार विकेट गुमाउँदा स्कोर बोर्डमा सात रन मात्र जोडेको थियो । कप्तान जेसन मक्सुदले १०९ रनको शतकीय इनिङ्स खेल्दा ओमानले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दियो । मक्सुदले १०६ बलमा १५ चौका र एक छक्का प्रहार गरे । यसैगरी सोएब खानले ६९ बलमा ३८ रन बनाए । आयन खानले ४६ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ५६ रनको योगदान दिए । नेपालका बलरले २५ अतिरिक्त रन दिए । नेपालका लागि सोमपाल कामीले ९.२ ओभरमा ५७ रन खर्चेर पाँच विकेट हात पारे ।