चार महिनाभित्र जडान सुरु, ४० प्रतिशत लगानी प्राधिकरणको
काठमाडौं महानगरका विभिन्न स्थानमा एक वर्षभित्रै स्मार्ट सडकबत्ती जडान हुने भएको छ । यसका लागि महानगर र विद्युत् प्राधिकरणबीच सम्झौता भई बत्ती जडानका लागि सर्भे सुरु भएको छ । महानगरपालिकाले ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत लागत हुने गरी सडकबत्ती राख्न लागेको हो ।
ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागअन्तर्गत राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाका अनुसार तीनदेखि चार महिनाभित्र बत्ती जडान सुरु हुनेछ । ‘बत्ती जडानका लागि टेन्डर प्रक्रिया पूरा गरे सम्झौता गरिसकेका छौँ,’ आयोजना प्रमुख प्रमोद रिजालले भने, ‘बत्ती जडान सुरु गर्नुअघि प्रि–कन्स्ट्रक्सन सर्भेको गर्नुपर्ने हुन्छ । निर्माण कम्पनीले फिल्डमा सोही काम गरिरहेको छ ।’ उनका अनुसार सर्भे सकिएछि कतिवटा सडकबत्ती किन्ने भन्ने निक्र्योल हुनेछ । त्यसपछि मात्रै सडकबत्ती जडान सुरु हुन्छ । यो योजना एक वर्षमा सम्पन्न हुनेछ । सडकबत्ती राख्न महानगर र विद्युत् प्राधिकरणबीच २४ माघमा सम्झौता भएको थियो । सडकबत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लाग्नेछ ।
कहाँ–कहाँ राखिँदै छ सडकबत्ती ?
महानगर र प्राधिकरणबीच भएको सम्झौताअनुसार लैनचौर–महाराजगन्ज, माइतीघर मण्डला–बागबजार, बागबजार–शीतलनिवास, सिनामंगल–अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला–कमलपोखरीसम्म, चाबहिल–जोरपाटीसम्म महानगरको लगानीमा बत्ती जडान हुनेछ । यस्तै, सिनामंगल विमानस्थल–तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वर–लैनचौरसम्म र टुँडिखेलवरिपरि प्राधिकरणको लगानीमा बत्ती जडान हुनेछ ।
सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरलाई
बत्ती जडानपछि यसको सञ्चालन र व्यवस्थापनका लागि महानगरलाई हस्तान्तरण गरिनेछ । २५ मंसिर ०७७ मा पनि काठमाडौं महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणबीच सडकबत्ती राख्ने सम्झौता भएको थियो । त्यसवेला तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सम्झौता गरेका थिए । तर, काम भने भएका थिए ।महानगरले राख्ने स्मार्ट सडकबत्ती बाल्न र निभाउन मानिसको आवश्यकता पर्दैन ।
सडकको चहलपहलअनुसार बत्ती बल्ने–निभ्ने हुन्छ । सडकबत्तीलाई केन्द्रबाट कन्ट्रोलसमेत गर्न सकिनेछ । स्मार्ट बत्तीले सवारीसाधनको इम्बोस्ड नम्बर पनि सफा देखिन्छ । सडकबत्ती जडानपछि महानगर क्षेमा हुने सवारी दुर्घटनामा कमी आउने महानगरको अपेक्षा छ । यसअघि, ललितपुरले पनि यस्तै स्मार्ट सडकबत्ती जडान सुरु गरेको थियो । पहिलो चरणमा ६ सय र दोस्रो चरणअन्र्तगत १४ सय स्मार्ट सडकबत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ ।