झापाको दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालले एक महिलाको पेटबाट नाै केजीको ट्युमर र एक केजीको ऐँजेरु निकालिएको छ।
दमक अस्पतालले बुधबार शल्यक्रियामार्फत पाँचथर कुम्मायक-३ की ४८ वर्षीया कमला तामाङको पेटबाट ट्युमर र ऐँजेरु निकालिएको हो।
उनको डिम्बासयमा नाै केजीको ट्युमर र पाठेघरबाट एक केजीको ऐँजेरु निकालिएको दमक अस्पतालले जनाएको छ। दमक अस्पतालले पहिलोपटक यति ठूलो ट्युमरको शल्यक्रिया गरेको अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिइन्।
अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. दीप्ति कुँवर, फिजिसियन डा. योगेश चेम्जोङ, एनेस्थेसियोलोजिस्ट डा. उद्धव अधिकारीलगायतको टोलीले दुई घण्टा लगाएर ट्युमरको सफल शल्यक्रिया गरेको दंगालले जानकारी दिइन्।
उनका अनुसार कमला ६ महिनाअघि दमक अस्पतालमा आएकी थिइन्। ‘६ महिनाअघि देखाएर जानुभयो। डाक्टरले अप्रेसन गर्नुपर्छ भनेपछि उहाँ जानुभएको थियो। कसले हो एक लाख लाग्छ भनेर हल्ला गरेछ। उहाँ पैसाको जोहो गर्न जानुभएको रहेछ,’ उनले भनिन्, ‘तर, सरकारी अस्पतालमा न्यूनतम खर्चमा नै अपरेसन हुन्छ। विपन्नलाई निःशुल्क पनि हुन्छ। उहाँको सबै गर्दा १५ हजार खर्च भयो । फिर्ता गरौँ भनेर सोधेका थियाैँ। तर, यति तिर्न सक्छौँ भन्नुभयो।’
शल्यक्रियामा संलग्न डा. दीप्ति कुँवरका अनुसार अहिले ती महिला खतरामुक्त छिन्। उनी ६ मिनाअघि पेट सुनिएको भन्दै आफूकहाँ आएको उनले बताइन्।
‘सुरुमा लडेर पेट सुनिएको भन्दै आउनुभयो। मलाई अस्वभाविक लाग्यो र सिटिइस्क्यान गराएँ । त्यो क्रममा ट्युमर र ऐँजेरु देखियो,’ उनले भनिन्, ‘उहाँको यो ट्युमर बढ्न करिब ६/७ वर्ष लागेको हुनुपर्छ। एकैपटकमा हुँदैन।’
शल्यक्रियाबाट ट्युमर निकालिएकी महिला अविवाहित हुन्। अविवाहितमा यस्तो समस्या देखिने डा.कुँवर बताउँछिन्। ‘बच्चा नजन्माएका महिलामा ऐँजेरु पलाउने सम्भावना रहन्छ। उहाँको उमेर पनि ४८ वर्ष छ। यस्तै वंशाणुगत पनि हुन्छ । महिनावारी समयमा नहुने महिलामा हर्मोन गडबड हुँदा पनि हुन्छ,’ उनले भनिन्, ‘यस्तै, धेरै गर्भनिरोधक औषधी प्रयोग गर्ने र जाँडरक्सी सेवन गर्नेहरूमा पनि यस्तो समस्या देखिन्छ।’