१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका लागि राइनासकोटमा साइकल ट्रेल र पदमार्ग निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४७:oo

लमजुङको राइनास नगरपालिकाले आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा रहेको राइनासकोट होमस्टे पुग्ने गरी साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ। नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्न वडा नम्बर ९ र १० को गौरवको योजनाअन्तर्गत पर्यटक लक्षित साइकल ट्रेल र पदमार्ग निर्माण गरेको हो।

नगरपालिकाले वडा नं ९ को भक्ति थापा पार्कदेखि वडा नं १० को पात्लेपानी ऐतिहासिक दरबार, कोकोगाउँको गोरखनाथ मन्दिर, लामा गाउँको साल्मेकोट जोगी गुफा, क्याभ्रे भञ्ज्याङ हुँदै प्यारजुङ भञ्ज्याङसम्म करिब ६ किलोमिटर साइकल ट्रेल तथा पदमार्ग निर्माण गरेको छ।

उक्त ट्रेल तथा पदमार्ग निर्माणलाई चालू आर्थिक वर्षको गौरवको योजनाको रूपमा लिइएको छ । वडा नम्बर ९ को १० लाख र वडा नम्बर १० को ६ लाख गरी १६ लाख रुपैयाँको लागतमा ट्रेल तथा पदमार्ग निर्माण गरिएको हो। यसमा स्थानीयको १० प्रतिशत जनश्रमदान रहेको छ ।

यस क्षेत्रका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको प्रवर्द्धन तथा संरक्षणका निम्ति ट्रेल र पदमार्ग निर्माण गरिएको राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताए । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका निम्ति आकर्षण थप्दै साइकल ट्रेल निर्माण गरिएको हो ।’

उद्घाटनको क्रममा लमजुङ र अन्य जिल्लाका गरी २१ जनाले साईकल यात्रा गरेका थिए । साइकलयात्रीहरूले राइनासकाेट– १० को प्यारजुंग भञ्ज्याङदेखि जोगिगुफा, साल्मेकोट, लामागाउँ, गोरखनाथ मन्दिर, कोकेगाउँ, घुरसापे, दरबारगढी, पात्लेपानी, राइनासकोट हुँदै सिद्ध गुफा भएर भक्ति थापा पार्क मोहोरियाकोटसम्म साइकल यात्रा गरे।

साइकल ट्रेल र पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुव गुरुङले लमजुङमा पर्यटन प्रवर्द्धनमा नयाँ कामको थालनी भएको भन्दै यसले राइनासको मात्र नभई सिंगो लमजुङको पर्यटन प्रवर्द्धन हुने बताए ।

ad
ad