१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 09 May, 2025
२o८o जेठ २५ बिहीबार १३:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लम्पी स्किन संक्रमणबाट ८० गाईभैँसी मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १३:३९:oo

पशु चौपायामा देखिएको लम्पी स्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन्। लम्पी स्किन फैलिँदै गइरहेको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र चितवनले जनाएको छ।

कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाईभैँसीमा लम्पी स्किनको संक्रमण देखिएको छ। 

संक्रमण भएकामध्ये ८० गाईभैँसी मरेका छन्। सातवटै पालिकामा लम्पी स्किन फैलिएको र राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उनले जानकारी दिए। 

उनका अनुसार राप्ती नगरपालिकामा एक हजार चार सय पाँच, कालिका नगरपालिकामा दुई सय ६५, खैरहनी नगरपालिकामा दुई सय चार गाईभैँसीमा संक्रमण देखिएको छ। 

भरतपुर महानगरपालिकामा दुई सय २५, रत्ननगर नगरपालिकामा एक सय १४, इच्छाकामना गाउँपालिकमा नौ सय ५२, माडी नगरपालिकामा दुई सय ५३ पशुलाई लम्पी स्किनको संक्रमण देखिएको छ।

कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा चार–चार गाईभैँसी लम्पी स्किनको संक्रमणबाट मरेका छन्। 

झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको संक्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुँठी आउने, पशु वस्तुलाई कमजोर बनाउने कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यले जानकारी दिए।  

रोग लागेका गाईभैँसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने गाईवस्तुमा गर्भपतनको समस्या पनि देखिन सक्ने उनको भनाइ छ।

संक्रमण फैलिन नदिन गोठवरिपरि सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन उनले सुझाव दिए। 

यस रोगको रोकथामा र न्यूनीकरणका लागि पशु सेवाविज्ञ केन्द्र चितवनले सातवटै पालिकामा जैविक सुरक्षासम्बन्धी कार्यक्रम, औषधि वितरण, खोप वितरण गरिरहेको छ। रासस