Skip This
अझै भेटिएनन् सुनकोसीमा बेपत्ता सिटिइभिटीका कर्मचारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २३ मंगलबार १६:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अझै भेटिएनन् सुनकोसीमा बेपत्ता सिटिइभिटीका कर्मचारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १६:२२:oo

सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का अधिकारीहरूको अझै खोजी भइरहेको छ। घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेट्टाउन सकिएको छैन। 

सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोसी नदीमा खसेको थियो।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरू सबै बेपत्ता छन्।  चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए। 

खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन। सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेतका चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको छ।

एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरूले चुम्बकसमेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरिरहेका छन्। 

बेपत्ताहरूको खोजी गर्ने काममा जुटेको टोलीले पाँचौँ दिन मंगलबार पनि प्रयास जारी राखेको छ। चर्को घामको प्रवाहसमेत नगरी गोताखोरहरू खोजीमा लागिपरिहेका छन्। 

दुवैतर्फबाट सुनकोसीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने खोजी गोताखोर केशव महतले जानकारी दिए। 

घटनास्थल वरपर नदीको पानी ठाडो बगेकाले करेन्ट बढी हुँदा गहिराइमा पुगेर खोज्न नसकिएको उनको भनाइ थियो। र्‍याफ्टिङ लिएर माथिमाथि, कुनाकन्दरामा खोजी गरे पनि गहिराइमा पुगेर टोलीले खोजी गर्न सकेको छैन। 

‘पानीको वेग बलियो छ। अलिकति तल जानासाथ हुत्याइदिन्छ। घुमाउनेमा फसिने डर भएकाले पानी ‘डाइभर्ट’ नभएसम्म खोजी कार्य  प्रभावकारी हुन सकेको छैन,’ गोताखोरका महतले भने। 

सुनकोसी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जिउमा बाँधेर खोजी सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ।

उनका अनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन। घटना भएको दोस्रो दिनदेखि नै सुनकोसीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको छ। चारवटा स्काभेटर, तीनवटा जेसिबी, डोजर, पाँचवटा टिपर र ट्र्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहे पनि हालसम्म सफल भएको छैन। 

चारवटा एक्साभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेसिनमार्फत काम गरिएको थियो। रातमा बत्ती बालेर लगातार गरेको मेहनत मंगलबार बिहान हेर्दाउस्तै भयो । अहिले सोही कार्य दोहोर्‍याइएको छ। रासस