होस्टेलमा विद्यार्थी मृत फेला परेपछि पाँच दिनदेखि विद्यालय बन्द

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

काठमाडौंको सोह्रखुट्टेस्थित एक छात्रावासमा पाँच दिनअघि विद्यार्थी मृत अवस्थामा फेला परेयता उनी अध्ययनरत विद्यालय बन्द रहेको छ । इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)मा कक्षा पाँचमा अध्ययनरत १२ वर्षीय बालक मृत फेला परेयता आफन्तहरूले विद्यालय बन्द गराएका हुन् ।

विद्यालयको होस्टेलमा बस्दै आएका धादिङ नेत्रावती डबजोङ गाउँपालिकाका अभिषेक तामाङको शव १६ जेठमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उक्त दिनदेखि नै आफन्तहरूले छानबिन र कारबाहीको माग राख्दै विद्यालय बन्द गराएका हुन् । बालकको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले विद्यालय प्रशासनमाथि कारबाहीको माग राख्दै नाराजुलस र धर्ना दिँदै आएका छन् । उनीहरूको अवरोधका कारण विद्यालय बन्द भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आफन्तले बालकको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आइरहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए । उनका अनुसार आक्रोशित बनेका आफन्तहरूले विद्यालय तोडफोडसमेत गरेका छन् । उनीहरूले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, होस्टेलका प्रमुखलगायत विरुद्ध गत शुक्रबार सोह्रखुट्टै वृत्तमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । 

विद्यालय र मृतकका आफन्तबीच विवाद बढेपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, होस्टेलका प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बालककी आफन्त पूर्णिमा तामाङले शवमा निलडामसमेत रहेकाले आत्महत्या नभई हत्या भएको दाबी गरिन् । उनले विद्यालयकै भर परेर बालकलाई छाडिएकाले यसको सम्पूर्ण जिम्मेवारी विद्यालय र होस्टेलले लिनुपर्ने बताइन् । अभिषेक डेढ वर्षदेखि यस विद्यालयमा पढ्न थालेका थिए । 

सुझावित समाचार