मन्थली नगरपालिकामा लम्पी स्किन रोग संक्रमणबाट पशुचौपाया मर्न थालेपछि किसान चिन्तित भएका छन्। नगरपालिकाको १४ वटा वडामा एकैपटक लम्पी स्किन रोग फैलिएको छ।
नगरपालिकाको वडा नम्बर १, ३ र ५ मा एक–एकवटा र वडा नम्बर ६ भलुजोरमा चार गरी सातवटा पशु मरिसकेका मन्थली नगरपालिका पशुसेवा उपशाखाका सहायक पशु विकास अधिकृत मुकुन्द खड्काले जानकारी दिए। उनले भने, ‘हाल भलुवाजोरमा संक्रमण दर व्यापक रूपमा फैलिएको छ। यस रोगबाट पशुचौपायालाई जोगाउन नगरपालिकाले एक हजार दुई सय डोज भ्याक्सिन खोप लगाउन सुरु गरेको छ।’ किसानबाट भ्याक्सिनको धेरै माग आए पनि भ्याक्सिन अभावमा भनेजति खरिद गर्न नसकेको खड्काले बताए।
यो रोगको रोकथामको उपाय भनेको खोप नै हो। नगरपालिकाले पहिलो चरणमा धेरै संक्रमण भएको स्थानको पहिचान गरी वडा नम्बर १, ४, ५, ६ र १३ मा भ्याक्सिन लगाउन सुरु गरेको छ। नगरले १२ हजार डोज खोप खरिद गरी बढी संक्रमण फैलिएका यी क्षेत्रका गाई, गोरु र भैँसीमा खोप लगाइसकेको छ।
लम्पी स्किन रोग लागेका पशुमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायतका लक्षण देखापर्छ। यो रोगको प्रभावकारी उपचार पनि नभएकाले रोगी पशुहरूलाई बथानबाट अलग्गै राख्ने, किर्ना लामखुट्टेजस्ता परजीवी निराकरण गर्ने, जैविक सुरक्षाको विधि कडाइका साथ पालना गर्नुपर्ने पशु प्राविधिकहरू बताउँछन्।
यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने गर्दछ। यो रोग लागेको पशु चौपायामा २५ दिनदेखि एक महिनासम्म संक्रमण देखिने गर्दछ । पशुमा खोपले काम गर्न पनि करिब तीन हप्ता लाग्ने र फेरि रोग देखापरे खोपले पनि काम गर्दैन । मन्थली नगरपालिकामा किसानले १५ हजारको हाराहारीमा गाईगोरु पालन गर्दै आएका पशुसेवा उपशाखाको अनुमानित तथ्यांक छ।